भारत र चीनका राजदूतसँग प्रधानमन्त्री शाहको छुट्टाछुट्टै भेट, के भयो संवाद?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। प्रधानमन्त्री पदबहालीपछि यसअघि कूटनीतिक नियोगका प्रमुखहरूसँग संयुक्त रूपमा भेटघाट गर्ने अभ्यास गर्दै आएका प्रधानमन्त्री शाहले यसपटक भने विदेशी कूटनीतिज्ञहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ताको सुरुआत गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र प्रधानमन्त्री शाहबीच करिब ४५ मिनेट शिष्टाचार भेटवार्ता भयो। उच्च अधिकारीहरूको समेत सहभागिता रहेको सो भेटमा नेपाल-भारतबीचको ऐतिहासिक मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा द्विपक्षीय सहकार्यका विविध आयामबारे गम्भीर विचार-विमर्श भएको छ।
भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए। सो अवसरमा प्रधानमन्त्री शाहले भारतसँगको मित्रवत् सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।
यसैबीच, सोमबार दिउँसो प्रधानमन्त्री शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले पनि सिंहदरबारमै शिष्टाचार भेटवार्ता गरेका छन्।
उक्त भेटवार्ताका क्रममा नेपाल-चीन सम्बन्धलाई थप उचाइमा पुर्याउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने एवम् विकास साझेदारीलाई अझ अभिवृद्धि गर्ने लगायतका विषयमा महत्त्वपूर्ण छलफल भयो। भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए। चिनियाँ राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना दिँदै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे।
दुवै छिमेकी मुलुकका राजदूतहरूसँग भएका यी छुट्टाछुट्टै भेटघाटहरूले द्विपक्षीय हित, कूटनीतिक सहकार्य र विकास परियोजनाहरूलाई अगाडि बढाउन नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment