२२४ यात्रु बोकेको इन्डिगो विमानको आकाशमै इन्जिन फेल, चेन्नई विमानस्थलमा ‘पूर्ण आपतकाल’ घोषणा
काठमाडौं । भारतको कोलकाताबाट चेन्नईका लागि उडेको ‘इन्डिगो’ एयरलाइन्सको विमानमा इन्जिन खराबी देखिएपछि मङ्गलवार अबेर राति चेन्नई विमानस्थलमा पूर्ण आपतकाल घोषणा गरिएको छ। विमानको बायाँ इन्जिनमा खराबी आएपछि अवतरणभन्दा केही समयअघि आपतकाल घोषणा गरिएको हो।
भारतीय विमानस्थल प्राधिकरणका अधिकारीहरूका अनुसार २२४ जना यात्रु तथा चालक दलका सदस्य सवार इन्डिगोको उडान सङ्ख्या ६इ-७२३ ले अगस्ट ११ को राति ११:२९ बजे आपतकालीन स्थितिबारे जानकारी गराएको थियो।
उक्त विमान राति ११:३० बजे अवतरण गर्ने तालिका थियो। तर, अवतरणको तयारी गर्दै गर्दा पाइलटले विमानको बायाँ इन्जिनले काम गर्न छाडेको पत्ता लगाएका थिए। उनले तुरुन्तै हवाई यातायात नियन्त्रण (एटीसी) लाई खबर गरेलगत्तै विमानस्थल अधिकारीहरूले विमानको सुरक्षित अवतरणका लागि आपतकालीन उद्धार तथा सुरक्षा संयन्त्रहरू सक्रिय बनाएका थिए।
विमान राति ११:३७ बजे चेन्नई विमानस्थलको धावनमार्ग मा २२४ जनासहित सुरक्षित रूपमा अवतरण भएको थियो।
विमानको सुरक्षित अवतरणपछि राति ११:४७ बजे आपतलीन अवस्था फिर्ता लिइएको थियो। घटनापछि विमानस्थलका सबै उडान तथा सेवाहरू सामान्य रूपमा सञ्चालन भइरहेको विमानस्थल अधिकारीहरूले जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment