अमेरिका र युरोपमा एआईविरुद्ध आन्दोलन तीव्र, ओपनएआईको कार्यालयमा प्रदर्शनकारी प्रवेश

डिसी नेपाल
२७ साउन २०८३ १४:५२

काठमाडौं । अमेरिका र युरोपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को तीव्र विकास र प्रयोगविरुद्ध विरोध प्रदर्शनहरू चर्कँदै गएका छन्। पछिल्लो पटक अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ‘ओपनएआई’ को कार्यालयमा प्रदर्शनकारीहरूले प्रवेश गरी एआईको बढ्दो प्रयोगविरुद्ध विरोध जनाएका छन्।

‘फ्युचरिजम’ को प्रतिवेदनअनुसार वासिङ्टन डीसीस्थित ओपनएआईको लबिङ कार्यालयमा करिब दुई घण्टासम्म प्रदर्शन भएको थियो। प्रहरीले उक्त प्रदर्शनमा संलग्न १३ जना विद्यार्थीहरूलाई गिरफ्तार गरेको छ।

यो कुनै एउटा कम्पनीको कार्यालयबाहिर भएको सामान्य प्रदर्शन मात्र होइन। अमेरिका र युरोपमा विगत केही समयदेखि एआईलाई लिएर विभिन्न मुद्दाहरूमा सर्वसाधारणको आक्रोश सतहमा आइरहेको छ।

एकातिर मानिसहरूलाई आफ्नो रोजगारी गुम्ने डर छ भने अर्कातिर कलाकारहरू आफ्ना सिर्जनाको अनधिकृत प्रयोगलाई लिएर चिन्तित छन्। यसबाहेक एआईका लागि निर्माण भइरहेका ठूला ‘डेटा सेन्टर’ हरूले गर्ने अत्यधिक बिजुली र पानीको खपतलाई लिएर पनि स्थानीय स्तरमा विरोध भइरहेको छ।

सन् २०२६ को मार्चमा सान फ्रान्सिस्कोमा प्रदर्शनकारीहरूले ओपनएआईको मुख्यालयदेखि एलन मस्कको ‘एक्सएआइ’ सम्म मार्चपास गरेका थिए। रोयटर्सका अनुसार प्रदर्शनकारीहरूले एआईको तीव्र विकासलाई तत्काल रोक्न माग गरिरहेका थिए।

वासिङ्टन डीसीमा भएको प्रदर्शन एआईको तीव्र प्रभाव र यसका सम्भावित खतराहरूलाई लक्षित गरी गरिएको थियो। एआई कम्पनीहरूले जसरी तीव्र गतिमा नयाँ प्रविधि निर्माण गरिरहेका छन्, त्यसको तुलनामा सरकारहरूका तर्फबाट नियमन र सुरक्षाका उपायहरू उति छिटो बन्न नसकेको प्रदर्शनकारीहरूको भनाइ छ। यही कारणले गर्दा अमेरिकामा एआईको विरोध गर्ने विभिन्न समूहहरू अहिले कम्पनीका कार्यालय, सरकारी निकाय र डेटा सेन्टर आयोजनाहरूबिरुद्ध संगठित रूपमा आवाज उठाउन थालेका छन्।

यसअघि मार्चमा सान फ्रान्सिस्कोस्थित ओपनएआई, एन्थ्रोपिक र गुगल डीपमाइन्डसँग सम्बद्ध स्थानहरूमा पनि प्रदर्शन भएको थियो। गत जुलाईमा सान फ्रान्सिस्कोमा ‘स्टपएआई’ सँग जोडिएका मानिसहरूले यी कम्पनीहरूबिरुद्ध र्‍याली निकाल्दै एआईको विकासको गतिमाथि प्रश्न उठाएका थिए।

एआईप्रति मानिसहरूको आक्रोशको सबैभन्दा ठूलो कारण रोजगारी हो। बेलायतको किङ्स कलेज लन्डनले सन् २०२६ मा गरेको एउटा अध्ययनअनुसार करिब १० मध्ये ७ जना मानिसहरू एआईका कारण रोजगारी गुम्दा पर्ने आर्थिक प्रभावलाई लिएर चिन्तित छन्।

५७ प्रतिशत मानिसहरूलाई एआईले ठूलो मात्रामा बेरोजगारी निम्त्याउन सक्छ भन्ने लाग्छ। यस्तै, करिब २२ प्रतिशत मानिसहरू एआईका कारण यति तीव्र गतिमा रोजगारी समाप्त हुन सक्छ कि यसले सामाजिक अशान्ति नै पैदा गर्न सक्ने विश्वास गर्छन्।

युवा र भर्खरै करिअर सुरु गर्नेहरूका लागि यो डर झनै बढी छ। अध्ययनमा करिब १० मध्ये ६ जनाले एआईका कारण प्रारम्भिक तहका (एन्ट्री-लेभल) सेतोपोश (व्हाइट-कलर) रोजगारीमा ठूलो धक्का लाग्न सक्ने स्वीकार गरेका छन्। यो डर अब कर्मचारीहरूमा मात्र सीमित छैन। युरोपमा सरकारहरू पनि एआईको युगमा मानिसहरूको रोजगारी कसरी जोगाउने र कर्मचारीहरूलाई कसरी नयाँ सीप (री-स्किलिङ) दिने भन्ने विषयमा गम्भीर छलफल गरिरहेका छन्।

एआईविरुद्ध दोस्रो ठूलो मोर्चा कलाकार र सिर्जनाकर्ता (क्रिएटर्स) हरूले खोलेका छन्। एआई मोडलहरूलाई तालिम (ट्रेन) दिन ठूलो मात्रामा डेटाको आवश्यकता पर्छ। यसमा इन्टरनेटमा उपलब्ध पुस्तक, तस्बिर, सङ्गीत, लेख र अन्य प्रकारका सामग्रीहरू समावेश हुन्छन्। कलाकार र लेखकहरूको प्रश्न छ— “यदि उनीहरूको कडा मेहनतबाट तयार भएका सिर्जनाको प्रयोग एआई मोडल तालिम दिन भइरहेको छ भने यसका लागि उनीहरूको अनुमति र क्षतिपूर्ति (भुक्तानी) किन दिइँदैन?”

युरोपमा यो मुद्दा यति ठूलो भइसकेको छ कि युरोपेली संसद्ले एआई र प्रतिलिपि अधिकारबारे नयाँ नियमहरूको आवश्यकतामा जोड दिएको छ। संसद्को प्रतिवेदनमा एआई ट्रेनिङमा कपिराइटयुक्त सामग्रीको प्रयोगबारे हाल विद्यमान नियमहरू पर्याप्त नरहेको उल्लेख छ। यसमा एआई कम्पनीहरूबाट थप पारदर्शिता र सिर्जनाकर्ताहरूको अधिकारको राम्रो सुरक्षाको माग गरिएको छ।

गत मार्चमा बेलायतमा करिब १० हजार लेखकहरूले एआईविरुद्ध एउटा अनोठो विरोध प्रदर्शन गरेका थिए। उनीहरूले एउटा यस्तो पुस्तक प्रकाशित गरे, जसमा लेखकहरूको नाम त थियो तर भित्री पृष्ठहरू भने पूर्ण रूपमा खाली थिए। यसको उद्देश्य यदि एआई कम्पनीहरूलाई मानिसले लेखेका सामग्रीहरू अनुमतिविना प्रयोग गर्न दिइयो भने भविष्यमा असल लेखक र उनीहरूका सिर्जनाको ठाउँमा के बाँकी रहला भन्ने देखाउनु थियो।

सङ्गीतको दुनियाँमा पनि यस्तै विरोध देखिएको छ। एक हजारभन्दा बढी कलाकारहरूले एआईविरुद्ध एउटा यस्तो म्युजिक एल्बम जारी गरेका थिए, जसमा गायन वा सङ्गीतको सट्टा खाली स्टुडियोको आवाज (भ्वाइस) मात्र रेकर्ड गरिएको थियो। यो विरोध एआई मोडलको ट्रेनिङमा कलाकारहरूका सिर्जना अनधिकृत रूपमा प्रयोग गरिएको विषयलाई लिएर थियो।

अमेरिकामा एआईविरुद्ध नयाँ मोर्चा ‘डेटा सेन्टर’ हरूलाई लिएर खुलेको छ। एआई मोडलहरू सञ्चालन गर्न अत्यधिक कम्प्युटिङ क्षमता चाहिन्छ। यसका लागि विशाल डेटा सेन्टरहरू निर्माण भइरहेका छन्। यी सेन्टरहरू चलाउन ठूलो मात्रामा बिजुली र पानीको आवश्यकता पर्छ, जसले स्थानीय बासिन्दालाई चिन्तित बनाएको छ। कतै मानिसहरू डेटा सेन्टरको ध्वनि प्रदूषण (शोर) बाट हैरान छन् त कतै यसको वातावरणीय असरबाट।

अमेरिकाका कैयौँ क्षेत्रमा मानिसहरूले आफ्ना सहर र गाउँहरूले एआई कम्पनीका डेटा सेन्टरका लागि बिजुली, पानी, जग्गा र अन्य सुविधाहरूको बोझ किन उठाउने भनी प्रश्न गरिरहेका छन्। ठुला डेटा सेन्टरले वातावरणमा नकारात्मक असर पार्ने, बिजुलीको मूल्य बढाउन सक्ने र स्थानीय मानिसहरूले पाउने भनिएको रोजगारीको अवसर पनि दीर्घकालीन नहुने डर उनीहरूमा छ।

हालैका महिनाहरूमा अमेरिकामा डेटा सेन्टर आयोजनाहरूबिरुद्धको विरोध व्यापक बनेको छ। फ्लोरिडामा एआई डेटा सेन्टरको विरोधमा विभिन्न विचार राख्ने मानिसहरू पनि एकत्र भएका छन्। त्यहाँका बासिन्दाहरूको मुख्य चिन्ता पानीको बचत, वातावरण संरक्षण, बिजुलीको खपत र स्थानीय समुदायको भूमिकालाई लिएर रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *