ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटद्वारा राजीनामाको घोषणा, पारिवारिक कारणले पद छाड्दै
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यसै महिनाको अन्त्यमा आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
ट्रम्पले लेभिटलाई आफ्ना ‘सबैभन्दा भरपर्दा सहयोगीहरूमध्ये एक’ भन्दै उनी आफ्ना साना बालबच्चा र परिवारसँग धेरै समय बिताउन चाहेकाले यो निर्णयमा पुगेको बताएका छन्। ट्रम्पले उनको यो निर्णयलाई आफूले पूर्ण रूपमा बुझेको र सम्मान गर्नेसमेत स्पष्ट पारेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै लेभिट अब आफ्ना प्रमुख बाह्य सल्लाहकारहरूमध्ये एक रहने र रिपब्लिकन पार्टीमा पनि उनको प्रभावकारी भूमिका कायम रहने बताएका छन्।
२८ वर्षीया लेभिट गत वर्ष ह्वाइट हाउसकी प्रेस सचिव बनेकी थिइन्। यो शक्तिशाली पदमा पुग्ने उनी हालसम्मकै सबैभन्दा कान्छी व्यक्ति हुन्। यद्यपि, उनको स्थानमा अब नयाँ प्रेस सचिव को हुनेछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।
लेभिटले गत मे महिनामा छोरीलाई जन्म दिएकी थिइन्। उनका दुई वर्षका एक छोरा पनि छन्। उनी गत महिना मात्रै सुत्केरी बिदा (मातृत्व अवकाश) पछि काममा फर्किएकी थिइन्। उनका श्रीमान्को नाम निकोलस रिकियो हो।
ट्रम्पको घोषणापछि लेभिटले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा लेख्दै ह्वाइट हाउसको प्रेस सचिवका रूपमा काम गर्न पाउनु ‘आफ्नो जीवनकै सबैभन्दा ठूलो सम्मान र रोमाञ्च’ रहेको बताएकी छन्।
आमा बन्नु, दोस्रो सन्तानलाई स्वागत गर्नु र संसारकै सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारीहरूमध्ये एकलाई सँगसँगै निभाउनु आफ्ना लागि जीवनको सबैभन्दा सुखद तर उत्तिकै गाह्रो अनुभव रहेको उनले उल्लेख गरेकी छन्।
छोरीको जन्मपछि ह्वाइट हाउस फर्कंदा आफूले दुई साना बालबच्चाको राम्रो आमा बन्नुका साथै प्रेस सचिवको पदका लागि आवश्यक निरन्तरको समय, ऊर्जा र ध्यान दिन नसकेको महसुस निरन्तर भइरहेको उनले बताइन्।
यही कारणले गर्दा आफूले ह्वाइट हाउस छाड्ने र जीवनको नयाँ अध्यायको सुरुवात गर्ने निर्णय लिएको लेभिटको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment