ट्रम्पको कार्यकाल सकिँदासम्म युद्ध लम्ब्याउने इरानको रणनीति
काठमाडौं । इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आइआरजीसी) का वरिष्ठ सल्लाहकार मोहम्मद रजा नकदीले अमेरिकासँग जारी युद्धलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल नसकिउन्जेलसम्म लम्ब्याउने रणनीतिको सङ्केत दिएका छन्।
युद्ध लम्ब्याएर शत्रुलाई थकित बनाउने र भविष्यमा हुन सक्ने सम्भावित आक्रमणहरूलाई रोक्ने इरानको मुख्य उद्देश्य रहेको उनको भनाइ छ। आइआरजीसी कमाण्डर-इन-चिफका वरिष्ठ सल्लाहकार मोहम्मद रजा नकदीले मङ्गलवार ‘पीबीएस न्युजअवर’ सँगको कुराकानीमा भने, “एउटा उपाय के हो भने यो युद्धलाई आगामी राष्ट्रपतीय कार्यकालसम्म लम्ब्याउने र शत्रुलाई क्षति पुर्याउने हो, ताकि भविष्यमा कसैले इरानमाथि आक्रमण गर्न चाहेमा त्यसको भारी मूल्य चुकाउनुपर्छ भन्ने कुरा उसलाई थाहा होस्।”
इरानले हाल यो युद्ध आफूले जितिरहेको विश्वास गरे पनि आफ्नो अन्तिम लक्ष्य भने अझै हासिल भइनसकेको उनले दाबी गरे। मोहम्मद रजा नकदीले इरानको प्राथमिक उद्देश्य एउटा यस्तो मजबुत क्षमता स्थापित गर्नु रहेको स्पष्ट पारे, जसका कारण शत्रुले इरानमाथि आक्रमण गर्ने हिम्मत कहिल्यै नगरोस्। युद्धलाई लामो समयसम्म खिचेर शत्रुलाई आर्थिक र सैन्य क्षति पुर्याउनु यसकै एउटा हिस्सा भएको उनको भनाइ छ।
यस सङ्घर्षबाट इरानले ठूलो पाठ सिकेको उल्लेख गर्दै उनले भने, “हामीले पायौँ कि अमेरिकी सेना पहिले सोचिएभन्दा धेरै कमजोर छ। इरान हाल यस युद्धमा जिततर्फ अघि बढिरहेको छ।”
इरानको मिसाइल भण्डारबारे बोल्दै उनले देशमा दैनिक प्रयोग वा प्रहार गरिने भन्दा बढी सङ्ख्यामा मिसाइलहरू निर्माण भइरहेको दाबी गरे। इरानको विशाल भूभाग भएकाले देशका फरक-फरक गोप्य स्थानहरूमा मिसाइल उत्पादन भइरहेको र युद्ध कैयौँ वर्षसम्म चले पनि निरन्तर रकेट प्रहार गर्न सकिने उनले बताए।
नकदीले एउटा गम्भीर चेतावनी दिँदै भने, “यदि कुनै दिन इरानको मिसाइल भण्डार पूर्ण रूपमा सकियो भने पनि इरान अमेरिकाका लागि अझ बढी खतरनाक साबित हुनेछ।”
जब उनलाई मिसाइलबिना इरान कसरी अझ बढी खतरनाक हुन सक्छ भनी सोधियो, उनले जवाफ दिए, “किनकि विश्वभर अमेरिकाका हजारौँ आर्थिक हित र संरचनाहरू छन्, जसलाई सजिलैसँग नष्ट गर्न सकिन्छ।” यद्यपि, उनले कस्ता प्रकारका आर्थिक लक्ष्यहरूको कुरा गरिरहेका छन् वा इरानले त्यसमा कसरी आक्रमण गर्न सक्छ भन्ने कुरा भने स्पष्ट पारेनन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment