शहबाज सरिफको भारतलाई धम्की: ‘हाम्रो भागको पानी रोक्न खोजे कडा जवाफ दिनेछौँ’
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सिन्धु जल सम्झौतालाई लिएर भारतलाई पुनः कडा धम्की दिएका छन्। उनले पाकिस्तानको भागमा पर्ने पानीको विषयमा कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट पारेका छन्। यदि यसलाई रोक्ने वा घटाउने प्रयास गरिएमा त्यसको कडा जवाफ दिइने उनको चेतावनी छ।
प्रधानमन्त्री शहबाजले बिहीबार इस्लामाबादमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कश्मीरका विषयमा पाकिस्तानको अडान कहिल्यै नबद्लिने बताए। आफ्नो सम्बोधनका क्रममा शहबाजले सेना प्रमुख फिल्ड मार्सल असिम मुनिरको पुनः प्रशंसा गर्दै उनकै नेतृत्वमा पाकिस्तानले भारतलाई पराजित गरेको दाबीसमेत गरे।
शहबाजले आफ्नो भाषणमा चीन र पाकिस्तानको मित्रतालाई हिमालभन्दा पनि उच्च रहेको टिप्पणी गरे। चीन पाकिस्तानको महान् मित्र भएको र हरेक अप्ठ्यारो परिस्थितिमा चट्टानझैँ पाकिस्तानको साथमा उभिएको उनले बताए।
शहबाज सरिफले सन् २०२५ को मे महिनामा भारत र पाकिस्तानबिचको सैन्य सङ्घर्ष रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्त्वपूर्ण भूमिका रहेको दाबी पुनः दोहोर्याए। ट्रम्पको प्रशंसा गर्दै उनले उनकै पहलका कारण समयमै युद्धविराम सम्भव भएको बताए।
यद्यपि, भारतले भने युद्धविराम दुवै देशका सैन्य अधिकारीहरूबिचको प्रत्यक्ष कुराकानीबाट सम्भव भएको र यसमा कुनै तेस्रो देशको मध्यस्थता नरहेको निरन्तर स्पष्ट पार्दै आएको छ।
आफ्नो सम्बोधनमा सरिफले कश्मीरमाथिको पाकिस्तानको अडान यथावत रहने र कश्मीरीहरूको बलिदान व्यर्थ जान नदिइने बताए। उनले पाकिस्तानले प्यालेस्टिनी जनताको अधिकारको समर्थन जारी राख्ने प्रतिबद्धता जनाए।
अफगानिस्तानको अन्तरिम सरकारलाई आफ्नो भूभाग आतङ्ककारी गतिविधिको लागि प्रयोग हुन नदिन आग्रह गर्दै उनले पाकिस्तानले अमेरिका र इरानबिच मध्यस्थकर्ताको भूमिकासमेत निभाएको दाबी गरे।
सिन्धु जल सम्झौता भारत र पाकिस्तानबिच नदीको पानी बाँडफाँड गर्ने एउटा ऐतिहासिक सम्झौता हो। सन् १९६० सेप्टेम्बर १९ मा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू र पाकिस्तानका राष्ट्रपति अयुब खानले यसमा हस्ताक्षर गरेका थिए।
यस सम्झौतामार्फत सिन्धु नदी प्रणालीका पूर्वी ३ नदीहरूको पानी भारतलाई र पश्चिमी ३ नदीहरूको पानी पाकिस्तानलाई प्रयोग गर्न दिने तय गरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment