खाडी देशहरू ‘हर्मुज स्ट्रेट’ को विकल्प खोज्न बाध्य: इरान युद्धपछि नयाँ पाइपलाइन र भण्डारण रणनीति तीव्र
काठमाडौं । ६ महिना पहिलेसम्म खाडी मुलुकहरूका लागि कच्चा तेल बिक्री गर्न निकै सहज थियो। सबैभन्दा कम लागतमा तेल निकाल्ने, ‘हर्मुज स्ट्रेट’ को जलमार्ग हुँदै विश्वभर पुर्याउने र सबैभन्दा बढी मूल्य दिने देशहरूलाई बेच्ने। तर, इरानसँगको युद्धपछि यो परम्परागत व्यापारिक मोडल पूर्ण रूपमा बदलिएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि होर्मुज स्ट्रेटबाट हुने तेल ढुवानी निरन्तर प्रभावित हुँदै आएको छ। समुद्री बारुदी सुरुङ, मिसाइल तथा ड्रोन आक्रमणको खतरा, अमेरिका र इरानको जल-नाकाबन्दी एवम् भारी बीमा शुल्कका कारण यस जलमार्गबाट दैनिक ओसारपसार हुने कच्चा तेल २ करोड ब्यारेलबाट ह्वात्तै घटेर ३७ लाख ब्यारेलमा सीमित भएको छ।
यसै कारण साउदी अरब, युएई (संयुक्त अरब इमिरेट्स) र कुवेतसहितका धेरै खाडी मुलुकहरू अब होर्मुज जलमार्गमाथिको आफ्नो निर्भरता घटाउन तीव्र रूपमा जुटिरहेका छन्। नयाँ पाइपलाइनहरू बिछ्याइँदै छन्, पुराना लाइनहरूको क्षमता बढाइँदै छ र एसियाली देशहरूमा ठुला ‘अयल स्टोरेज’ (तेल भण्डारण) निर्माण गरिँदै छन्।
यस बदलावको सबैभन्दा ठूलो उदाहरण युएई बनेको छ। युएईको अर्थतन्त्र र व्यापार ठूलो मात्रामा समुद्री मार्गमा निर्भर छ। त्यसैले होर्मुज सङ्कटको सबैभन्दा बढी असर पनि उसैमाथि पर्यो। अहिले युएई यस्ता नयाँ मार्गहरू तयार गर्दै छ, जसबाट व्यापार र तेल निर्यात होर्मुज स्ट्रेटमा निर्भर रहनु नपरोस्।
यसका लागि ओमानको खाडी किनारमा रहेको फुजैराहमा दोस्रो तेल पाइपलाइनको काम तीव्र गतिमा अघि बढाइएको छ। यो पाइपलाइनले अबुधाबीका तेल क्षेत्रहरूलाई सोझै फुजैराहसँग जोड्नेछ, जसका कारण तेल ट्याङ्करहरूलाई होर्मुज जलमार्ग भएर आवतजावत गरिरहनुपर्ने छैन।
आयोजना पूरा भएपछि युएईको होर्मुज स्ट्रेटलाई बाईपास गरी तेल निर्यात गर्ने क्षमता बढेर दैनिक ३६ लाख ब्यारेल पुग्नेछ। अर्थात्, अबुधाबीको लगभग पूरा ‘अनसोर’ तेललाई होर्मुज स्ट्रेटमा प्रवेश नगराई सोझै अन्तर्राष्ट्रिय बजारसम्म पठाउन सकिनेछ। ‘अनसोर’ तेल भन्नाले जमिनमा रहेका तेल क्षेत्रहरूबाट निकालिने कच्चा तेललाई बुझाउँछ। यसको विपरीत समुद्रभित्र बनाइएका कुवाहरूबाट निकालिने तेललाई ‘अफसोर’ भनिन्छ।
युएई तेल मात्र नभई ग्याँस व्यापारलाई पनि सुरक्षित बनाउन लागिपरेको छ। उसको सरकारी कम्पनी एडीएनओसीले प्राकृतिक ग्याँस आयोजनाहरूमा ८.२ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। साथै, पूर्वी तटीय क्षेत्रमा नयाँ एलएनजी निर्यात टर्मिनल बनाउने योजना छ, ताकि भविष्यमा ग्याँस निर्यात पनि होर्मुज जलमार्गमा कम निर्भर रहोस्।
होर्मुज स्ट्रेटमा बढ्दो खतरापछि साउदी अरबले आफ्नो १,२०१ किलोमिटर लामो ‘ईस्ट-वेस्ट पाइपलाइन’ को प्रयोग तीव्र रूपमा बढाएको छ। सन् १९८० को दशकमा इरान-इराक युद्धका बेला बनेको यो पाइपलाइनले देशको पूर्वी तेल क्षेत्रहरूलाई ‘रेड सी’ (लाल सागर) को यान्बु बन्दरगाहसँग जोड्छ।
अहिले साउदी अरबले यही पाइपलाइनमार्फत दैनिक ७० लाख ब्यारेल कच्चा तेल रेड सीको बाटो हुँदै विश्व बजारमा पठाइरहेको छ। सरकारले यसको क्षमतामा दैनिक १० देखि २० लाख ब्यारेल थप बढाउने तयारी गरिरहेको छ। साथै रिफाइन्ड पेट्रोलियम उत्पादनहरूका लागि समानान्तर नयाँ पाइपलाइन निर्माणको कामसमेत भइरहेको छ।
उता कुवेतले पनि साउदी अरब र अन्य अरब देशहरूसँग आफ्ना तेल क्षेत्रहरूलाई रेड सी वा ओमानका बन्दरगाहहरूसँग जोड्न सक्ने पाइपलाइनबारे छलफल गरिरहेको छ।
त्यसैगरी, इराक र जोर्डनले धेरै वर्षदेखि रोकिएको पाइपलाइन आयोजना पुनः सुरु गरेका छन्। यसबाट दैनिक १० लाख ब्यारेलसम्म तेल रेड सीको अकाबा बन्दरगाहसम्म पठाउन सकिनेछ। इराकले किरकुकदेखि सिरियाको भूमध्यसागरीय तटसम्म जाने क्षतिग्रस्त पाइपलाइनको मर्मत कार्य पनि तीव्र पारेको छ।
खाडी देशहरूको रणनीति नयाँ पाइपलाइन निर्माणमा मात्र सीमित छैन। उनीहरू भारत, जापान र दक्षिण कोरियाजस्ता ठुला आयातकर्ता देशहरूमा अतिरिक्त तेल भण्डारण गृहहरू पनि तयार गरिरहेका छन्। ताकि भविष्यमा यदि होर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द नै भए पनि तेल पहिले नै जलमार्गबाहिर उपलब्ध होस् र विश्वव्यापी आपूर्ति ठप्प नहोस्।
यद्यपि, हर्मुजका यी नयाँ विकल्पहरू पनि पूर्ण रूपमा सुरक्षित भने छैनन्। साउदीको धेरैजसो तेल अब ‘रेड सी’ र ‘बाब अल-मन्देब’ स्ट्रेटबाट गुज्रिरहेको छ, जहाँ येमेनका हुती विद्रोहीहरूले लगातार जहाजहरूमाथि आक्रमण गरिरहेका छन्। यसै साता रेड सीमा एउटा जहाजमाथि भएको आक्रमणमा ६ जनाको मृत्यु भएको थियो।
विशेषज्ञहरूका अनुसार खाडी देशहरूले होर्मुजमाथिको निर्भरता अवश्य घटाउनेछन्, तर यसलाई पूर्ण रूपमा त्याग्न भने सक्ने छैनन्। ‘क्रिस्टोल एनर्जी’ की प्रमुख क्यारोल नखले भन्छिन्, “होर्मुज स्ट्रेटका फाइदाहरू यति धेरै छन् कि यसलाई पूर्ण रूपमा विस्थापित गर्न सकिँदैन। तर अब केवल यसैको भरमा मात्र परेर बस्नु पनि सम्भव छैन।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment