सुतिरहेको ध्रुवीय भालुलाई ‘फोगहर्न’ बजाएर ब्युँझाउने व्यक्तिलाई ८ लाख रुपैयाँ जरिवाना
काठमाडौं । नर्वेको स्वालबार्ड द्वीपसमूहमा सुतिरहेको ध्रुवीय भालुलाई ब्युँझाउन पानीजहाजको ‘फोगहर्न’ (बाक्लो हुस्सुमा बजाइने ठूलो आवाज आउने हर्न) बजाएको अभियोगमा एक व्यक्तिलाई जरिवाना गरिएको छ।
उत्तरी ध्रुवबाट करिब १,००० किलोमिटर (६२० माइल) टाढा रहेको उत्तर-पश्चिमी स्वालबार्डको एउटा ‘फियोर्ड’ (फराकिलो समुद्री च्यानल) मा तैरिरहेको जहाजबाट कसैले ठूलो आवाजमा हर्न बजाएपछि यो घटना भएको हो।
प्रान्तका गभर्नरले बिहीबार दिएको जानकारीअनुसार ती नाम नखुलाइएका व्यक्तिलाई यस घटनाबापत ५०,००० नर्वेजियन क्रोनर (करिब ८ लाख नेपाली रुपैयाँ) जरिवाना गराइएको छ।
उक्त क्षेत्रको स्थानीय नियमअनुसार “अनावश्यक रूपमा ध्रुवीय भालुलाई बाधा पुर्याउन, आकर्षित गर्न वा पिछा गर्न सख्त मनाही छ।” स्वालबार्डमा सन् १९७२ मै ध्रुवीय भालुलाई संरक्षित प्रजाति घोषणा गरिएको थियो।
सन् २०१५ मा गरिएको पछिल्लो वैज्ञानिक गणनाअनुसार यस द्वीपसमूहमा करिब २५० वटा ध्रुवीय भालुहरू रहेका थिए।
गभर्नर लार्स फाउसेले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “जहाज जनावरको अगाडिबाट गुज्रिरहेका बेला त्यसमा सवार मानिसहरूले किनारमा एउटा ध्रुवीय भालु सुतिरहेको देखेका थिए। त्यसपछि जहाजमा रहेका एक व्यक्तिले फोगहर्न बजाएर जनावरलाई ब्युँझाए, जसका कारण भालु तर्सिएर अर्कै ठाउँमा गयो।”
जरिवाना तोकिएका व्यक्तिले उक्त रकम तिर्न सहमति जनाइसकेका छन्।
स्वालबार्ड क्षेत्रमा वन्यजन्तुलाई बाधा पुर्याएको भन्दै मानिसहरूलाई जरिवाना गरिएको यो पहिलो घटना भने होइन।
यसअघि सन् २०२४ मा पनि एउटा ‘वालरस’ (एक प्रकारको समुद्री जीव) को धेरै नजिक गएको अभियोगमा एक पर्यटकलाई ११,५०० क्रोनर जरिवाना गरिएको थियो।
स्वालबार्ड वातावरण ऐनले द्वीपसमूहमा हुने सबै प्रकारका गतिविधि वा आउजाउ स्थानीय वन्यजन्तुहरूलाई कुनै पनि अनावश्यक बाधा नपुग्ने गरी गरिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। यहाँ ध्रुवीय भालु, सिल, ह्वेल, रेन्डियर र आर्क्टिक स्यालजस्ता संरक्षित वन्यजन्तुहरू पाइन्छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment