सहकारीलाई बचत फिर्ता र कर्जा असुलीमा मात्र सीमित नगरी प्रवर्द्धन गर्नुपर्छ: अध्यक्ष ढकाल

डिसी नेपाल
१९ भदौ २०८३ १२:४७

काठमाडौं। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रलाई केवल बचत फिर्ता र कर्जा असुलीमा मात्र सीमित नराखी प्रवर्द्धनको एजेन्डालाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पछिल्लो समय सरकारको मुख्य ध्यान बचत फिर्ता र कर्जा असुलीमा मात्र केन्द्रित हुँदा सहकारी क्षेत्रको समग्र प्रवर्द्धन ओझेलमा परेको बताए।

संविधानले सहकारीलाई अर्थतन्त्रको तेस्रो पिल्लरका रूपमा स्वीकार गरे पनि व्यवहारमा यसको भूमिका बिस्तारै साँघुरिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे।

सरकारले फेडेरेसन तथा केन्द्रीय सहकारी संघहरूप्रति लिएको दृष्टिकोणप्रति असन्तुष्टि जनाउँदै उनले पछिल्ला तीन वर्षमा भएका सहकारी ऐन संशोधनहरू बचत संकलन र असुलीसँग मात्र जोडिएको बताए।

साथै, नेफ्स्कूनका शाखा तथा सेवा कार्यालयहरू घटाइएको विषयप्रति आपत्ति जनाउँदै ३९ वटा शाखाबाट सेवा दिइरहेको संस्था १८ वटा कार्यालय र १० वटा सेवा कार्यालयमा सीमित हुँदा तल्लो स्तरका सदस्यहरूले पाउने सेवा प्रभावित हुने उनको भनाइ थियो।

सुधारका नाममा राम्रा र खराब संस्थालाई एउटै डालोमा राख्न नहुने स्पष्ट पार्दै उनले खराबलाई कारबाही र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्नुपर्ने बताए। सहकारी अभियानको शुद्धीकरणका लागि पत्रकारहरूले पनि विस्थापनभन्दा सुधार र संस्थागत विकासमा केन्द्रित भएर कलम चलाउनुपर्नेमा उनले जोड दिए।

यसैबीच, रसुवा र भोटेकोशी क्षेत्रमा भएको विपद्का बेला सहकारी क्षेत्रले राहत कोषहरूमार्फत देखाएको सहयोग र ऐक्यबद्धताको समेत उनले प्रशंसा गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *