भरतपुर-काठमाडौं उडानमा उच्च चाप: दैनिक ११ उडानसम्म विस्तार

डिसी नेपाल
२२ भदौ २०८३ ९:५८

चितवन। पृथ्वी राजमार्गको कृष्णभिरलगायतका स्थानमा सडक भासिएर यातायात अवरुद्ध भएपछि भरतपुर-काठमाडौं हवाई मार्गमा यात्रुको चाप अत्यधिक बढेको छ।

सडक यातायात असहज बनेसँगै एयरलाइन्सले उडान सङ्ख्या दोब्बरभन्दा बढीले थपेका छन्।

उक्त रुटमा सेवा दिँदै आएको बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक ५ उडान हुने गरेकोमा अहिले आवश्यकताअनुसार ९ देखि ११ वटासम्म पुर्‍याइएको छ।

भरतपुर-काठमाडौं उडानमा ७२ सिट क्षमताको ‘एटीआर-७२’  जहाज प्रयोग हुँदै आएको छ। तर भरतपुर विमानस्थलको धावनमार्ग छोटो भएका कारण क्षमताअनुसार यात्रु राख्न सकिँदैन। जहाजले काठमाडौँबाट आउँदा ६५ देखि ७० जना र भरतपुरबाट फर्किँदा ५० जनासम्म यात्रु बोक्ने गरेको छ।

पहिरो र वर्षात्का कारण चितवन, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरका यात्रुहरू सडकभन्दा हवाई यात्रातर्फ आकर्षित भएका छन्।

सडक अवरुद्ध हुँदा मकवानपुरतर्फको वैकल्पिक सडक चालु रहे पनि वर्षायामको जोखिमका कारण यात्रुहरूले हवाई मार्ग रोजेका हुन्। एयरलाइन्सले उडान थपेर यात्रुलाई यात्रामा सहजता मिलाएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *