उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल नियुक्त, को हुन् उनी?

डिसी नेपाल
३० भदौ २०८३ ८:४१

काठमाडौं । युवा अभियन्ता तथा ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्त भएका छन् । पार्टीको आइतबार बसेको सचिवालयको पूर्ण बैठकले अर्याललाई महासचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष कुलमान घिसिङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्याललाई औपचारिक रूपमा पार्टीमा प्रवेश गराएका छन् । अर्यालसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याल पनि केन्द्रीय सदस्यका रूपमा पार्टीमा प्रवेश गरेका छन् ।

नवनियुक्त महासचिव अर्यालले उज्यालो नेपाल पार्टीमा विभिन्न क्षेत्रका विज्ञसँगै अनुभवी र खारिएका युवाहरू जोडिएकाले देश विकासका लागि पार्टी उत्तम विकल्प बन्न सक्ने दाबी गरेका छन् । उनले युवा नेतृत्व, सुशासन र प्रणालीगत सुधारका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने पार्टीको राजनीतिक दृष्टिकोणप्रति आफू प्रतिबद्ध रहेको बताएका छन् ।

को हुन् दिवाकर अर्याल?

धादिङको ज्वालामुखी गाउँपालिका–४, ढोलामा जन्मिएका दिवाकर अर्याल लामो समयदेखि युवा नेतृत्व विकास, सामाजिक अभियान र सार्वजनिक बहसका क्षेत्रमा सक्रिय व्यक्ति हुन् । औपचारिक राजनीतिमा प्रवेश गर्नुअघि उनी नेपालमा युवा अभियानलाई संस्थागत गर्ने र युवालाई नीति निर्माणको प्रक्रियामा सहभागी गराउने काममा सक्रिय थिए ।

प्लस–टु अध्ययनकै क्रममा युवाहरूलाई संगठित गर्ने उद्देश्यले ‘यूथ पार्लियामेन्ट’को अवधारणा अघि सारेका अर्यालले २०६८ सालको अन्त्यतिर साथीहरूसँग मिलेर यूथ पार्लियामेन्ट नेपाल दर्ता गरेका थिए । त्यसपछि उनले युवालाई सार्वजनिक बहस, नीति निर्माण र लोकतान्त्रिक अभ्यासमा सहभागी गराउने उद्देश्यले ‘मिनी संसद्’को अवधारणालाई अघि बढाएका थिए ।

पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि अर्यालको नेतृत्वमा ३०१ सदस्यीय ‘नमुना युवा संविधानसभा’ गठन गरिएको थियो । उक्त युवा संविधानसभामा विभिन्न विषयमा छलफल गरी संविधानको नमुना तयार गरिएको थियो । तयार पारिएको नमुना संविधान तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई समेत बुझाइएको थियो ।

नेपालदेखि अन्तर्राष्ट्रियस्तरसम्म युवा अभियान विस्तार

नेपालमा युवा अभियानलाई संस्थागत गर्दै आएका अर्यालले पछि आफ्नो अभियानलाई अन्तर्राष्ट्रियस्तरमा समेत विस्तार गरेका थिए । उनकै नेतृत्वमा ग्लोबल यूथ पार्लियामेन्ट स्थापना भएको हो ।

सन् २०२४ मा प्रकाशित विवरणअनुसार त्यसबेला ग्लोबल यूथ पार्लियामेन्टमा ८६ देशका २१ सयभन्दा बढी युवा आबद्ध थिए । संस्थाका विभिन्न कार्यक्रममार्फत ८० भन्दा बढी देशका एक हजारभन्दा बढी युवाले नेपाल भ्रमणसमेत गरिसकेका थिए ।

ग्लोबल यूथ पार्लियामेन्टले युवा नेतृत्व विकाससँगै कला तथा संस्कृतिको आदानप्रदान र पर्यटन प्रवद्र्धनलाई समेत आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ । नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, इटाली, जर्मनी, अस्ट्रेलिया, केन्या, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, ताइवान र इजिप्टलगायत देशमा संस्थाका विभिन्न कार्यक्रम सञ्चालन भएका छन् ।

सरकारी सम्मानदेखि राष्ट्रिय युवा सांसदसम्म

युवा क्षेत्रमा पुर्‍याएको योगदानका लागि अर्याललाई नेपाल सरकारले समेत सम्मान गरेको छ । उनलाई समाजसेवा रत्न–२०७९ बाट विभूषित गरिएको थियो । त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयले २०८० सालमा युवा सशक्तीकरण तथा नेतृत्व विकास क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनलाई राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको थियो ।

पछिल्लो समय पनि अर्याल युवा राजनीतिक चेतना र नेतृत्व विकाससँग सम्बन्धित गतिविधिमा सक्रिय रहँदै आएका थिए । २०८२ साल साउनमा देशका १६५ निर्वाचन क्षेत्रबाट छनोट भएका राष्ट्रिय युवा सांसदलाई शपथ गराउने कार्यक्रममा उनले ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्षका रूपमा भूमिका निर्वाह गरेका थिए । राष्ट्रिय युवा सांसद छनोटका लागि सात हजारभन्दा बढी आवेदन परेको थियो ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका अर्यालले युवा अभियानसँगै प्रविधि र सामाजिक उद्यमको क्षेत्रमा समेत काम गरेका छन् । उनले सूचना प्रविधिसम्बन्धी कम्पनी सञ्चालन गर्नुका साथै रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याएको उनको विगतको प्रोफाइलमा उल्लेख छ ।

अब राजनीतिक भूमिकामा अर्यालको परीक्षा

युवा नेतृत्व विकास र सामाजिक अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका अर्याल अब उज्यालो नेपाल पार्टीको महासचिवका रूपमा औपचारिक दलगत राजनीतिमा प्रवेश गरेका छन् । यससँगै उनको भूमिका सामाजिक अभियानको दायराबाट पार्टी संगठन, नीति निर्माण र निर्वाचन राजनीतितर्फ विस्तार भएको छ ।

उज्यालो नेपाल पार्टीले सुशासन, प्रणालीगत सुधार, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र नागरिक केन्द्रित सेवा प्रवाहलाई आफ्नो राजनीतिक एजेन्डाका रूपमा अघि सार्दै आएको छ । पार्टीले युवालाई नीति निर्माणदेखि कार्यान्वयनसम्म अग्रपंक्तिमा ल्याउने तथा योग्यता, इमानदारी र जनविश्वासलाई नेतृत्वको आधार बनाउने बताउँदै आएको छ ।

यस्तो राजनीतिक पृष्ठभूमिमा अर्यालको महासचिव नियुक्तिलाई पार्टीमा युवा पुस्ताको भूमिकालाई थप संस्थागत गर्ने प्रयासका रूपमा हेरिएको छ । युवा नेतृत्व, सुशासन र प्रणालीगत सुधारका विषयमा लामो समयदेखि काम गरेका अर्यालले आफ्ना अनुभव र एजेन्डालाई पार्टी संगठन, नीति निर्माण तथा निर्वाचन राजनीतिमा कसरी रूपान्तरण गर्छन् भन्ने विषय उनको नयाँ जिम्मेवारीको मुख्य परीक्षा बन्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *