भारतको कर नीतिले जुट उद्योग संकटमा, सरकारसँग कूटनीतिक पहलको माग(भिडियोसहित)
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको कर नीतिले नेपालको जुट उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले नेपाली जुट उद्योगको संरक्षणका लागि भारतसँग तत्काल कूटनीतिक तथा वाणिज्यिक पहल गर्न सरकारसँग माग गरेकी हुन् ।
उनले भारतले नेपाली जुटजन्य उत्पादनमा बढाएको ‘एन्टी डम्पिङ ड्युटी’ तथा जारी ‘काउन्टरभेलिङ ड्युटी इन्भेस्टिगेसन’का कारण स्वदेशी जुट उद्योग प्रत्यक्ष प्रभावित भइरहेको बताइन् । यस्ता नीतिका कारण उद्योगहरू संकटमा पर्दा हजारौँ मजदुरको रोजगारी जोखिममा पर्ने र किसानले उत्पादन गरेको जुटले बजार नपाउने अवस्था आउन सक्ने उनको भनाइ थियो ।
सांसद डाँगीले जुट उद्योगमा देखिएको समस्याले उद्योगी र मजदुर मात्र नभई किसान तथा समग्र कृषि र औद्योगिक क्षेत्रलाई समेत असर पार्ने बताइन् । नेपाली जुटजन्य उत्पादनलाई भारतीय बजारमा सहज प्रवेशको वातावरण बनाउन सरकारले आवश्यक पहल गर्नुपर्ने उनले जोड दिइन् ।
सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अघि बढाएको पहल सकारात्मक भए पनि सञ्चालनमा रहेका उद्योगलाई संरक्षण गर्न नसक्नु चिन्ताजनक भएको डाँगीको भनाइ थियो । उनले बन्द उद्योग खोल्ने नीतिसँगै हाल सञ्चालनमा रहेका उद्योगलाई टिकाइराख्ने दिगो औद्योगिक नीति आवश्यक रहेको बताइन् ।
उनले औद्योगिक व्यवसाय ऐन, २०७६ को मर्मअनुसार जुट उद्योगको पुनरुत्थान प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड दिइन् । साथै, नेपाली जुटजन्य उत्पादनले भारतीय बजारमा सहज पहुँच पाउने गरी भारतसँग कूटनीतिक तथा वाणिज्यिक वार्तालाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग आग्रह गरिन् ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment