ट्रकमा ज्यान गुमाउने ३९ जनामध्ये एक युवतीको अन्तिम म्यासेजले विश्व तरंगित

डिसी नेपाल
९ कार्तिक २०७६ १२:३६

एजेन्सी। बेलायतमा एउटा ट्रकभित्र मृत अवस्थामा भेटिएका ३९ जनामध्येकी एक भियतनामी युवतीले मृत्युअघि आफू ट्रकभित्र निसास्सिएको भन्दै आफ्नी आमालाई सन्देश पठाएको पाइएको छ । रिपोर्टका अनुसार उनले सुख खोज्नको लागि आफ्नो विदेश यात्रा दर्दनाक तरिकाले अन्त्य हुन लागेको भन्दै आमासँग माफी मागेकी छिन् । ‘मलाई माफ गरिदिनुस् आमा, मेरो विदेश यात्रा सफल हुन सकेन’ फाम थी ट्रा मीले मंगलबार बेलुका साढे १० बजे पठाएको म्यासेजमा उल्लेख भएको बेलायती मिडिया मिररले लेखेको छ ।

‘आमा म तपाइँ र बाबालाई धेरै माया गर्छु । म मर्दैछु किनकि मैले सास फेर्न सकिरहेकी छैन’ उनले लेखेकी छिन् । सुरुवाती अनुसन्धानमा अत्याधिक चिसो कन्टेनरमा मारिएका ३१ पुरुष र ८ महिला सबै चिनियाँ नागरिक भएको मानिएको थियो तर उनीहरु अन्य देशका समेत भएको खुलेको हो । मीको शोकाकुल परिवारले त्यो अन्तिम म्यासेजपछि मीसँग कुनै सम्पर्क नभएको जनाएको छ ।

समाचार एजेन्सीहरुले मीलगायत अन्य तीनजनाको परिवारबारे जानकारी पाएको उल्लेख गरेका छन् । मीले मानव तस्करहरुलाई बेलायत पुग्न ३० हजार पाउन्ड तिरेको परिवारका सदस्यलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले लेखेका छन् । मीको अन्तिम मेसेज मंगलबार प्राप्त भएको थियो । बेल्जियमबाट प्रस्थान गरेपछि उनले मेसेज पठाएको र त्यसपछि कुनै जानकारी नआएपछि कन्टेनरमा मृत हुनसक्ने परिवारको आशंका छ ।

मीको यात्रा ३ अक्टोबरबाट शुरु भएको थियो । उनी चीन पुगेर त्यहाँबाट यूरोपतर्फ लागेकी थिइन् । २० दिनको यात्रामा उनीहरु बेलायत पुगेपनि अन्तमा ज्यान गुमाउन पुगेका थिए । प्रारम्भिक अनुसन्धानले कन्टेरनमा राखिएका ३९ जनाको मृत्यु ठण्डीले भएको हुनसक्ने बताइएको छ । रेफ्रिजेरेटर भएको कन्टेनरमा तापक्रम माइनस २५ डिग्रीभन्दा कमसम्म हुने व्यवस्था थियो ।

निकै कम तापक्रमका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने द मिररले लेखेको छ । कन्टेनरलाई बेल्जियमबाट बेलायत पुर्याइएको थियो । बेलायतको लन्डन नजिकै चेकजाँचका क्रममा ३९ शव बरामद भयो । जसमध्ये एकजना किशोरसहित ३१ पुरुष र आठजना महिला थिए । सबैजना चिनियाँ नागरिक भएको भनिएपनि अन्य देशका नागरिक समेत भेटिएका छन् ।

घटनामा लरी चालक २५ वर्षीय मो रबिन्सन पक्राउ परेका छन् । उनी उत्तरी आइरल्यान्डका हुन् । रबिन्सनसँगको प्रारम्भिक अनुसन्धानपछि थप दुईजनालाई पक्राउ गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *