बाढी र डुबानको समस्या समाधान नहुँदा सास्ती

फाइल फाेटाे।


महोत्तरी। असार मसान्तताका गणन्ते खोल्सीको भेलले पुरेको आँगनको गेगर बर्दिवास नगरपालिका–१ का विनोद खड्काले अझै हटाइसकेका छैनन्। साँझपख बादल मडारिएको देख्नासाथ विनोदजस्तै बर्दिवासका बासिन्दा रातभरि अझै जाग्राम बस्दैछन्।

पाखा कन्दरा भत्काउँदै उर्लेर आएको गणन्ते खोल्सीले एक महीना पहिले बर्दिवासचोकमै रहेको विनोदको घरभित्रसम्म गेगर थुप््य्राउँदा करोडौँ मूल्यका मोटर पार्टस्का सामान पुरिएर नोक्सान भएको थियो।

वडा नं १, २ र १४ को पूर्वीसाँध रातु नदी र पश्चिमी साँध भब्सी नदीबीच करीब दुई किलोमिटरको दूरीमा १० भन्दा बढी खोल्सीले आतङ्क मच्चाएर घरघरैजसो गेगर थुपारेको थियो। पहाडी शृङ्खलाबाट झर्ने दाहाल्नी खोल्सी, हवल्दार खोल्सी, गणन्ते खोल्सी, कामी खोल्सी, पानी खोल्सी, साँपमारा खोल्सी, बलुवानी खोल्सी, जोगी खोल्सी, ठूलो बलुवानी खोल्सी र पेरुङ्गे खोल्सीले गत असारमा बर्दिवासका तीन वडाका बस्तीमा आतङ्क मच्चाएका थिए।

बर्दिवासचोक क्षेत्रमा आवादी बढ्दै गएसँगै यहाँका खोल्सीको बहाव क्षेत्र साँघुुरिदै गएपछि बर्खामा यिनको आतङ्क बढ्ने गरेको भू–गर्भ र चुरे पर्वत श्रेणीको प्रकृति बुझेका विज्ञ बताउँछन् । “पहाडबाट झर्ने खोल्सीले बग्ने ठाउँ नपाएपछि बस्ती–बस्तीमा बाढी पसेको हो”, पछिल्ला १५ वर्षदेखि चुरे जलाधार क्षेत्रको संरक्षणमा अभियान नै सञ्चालन गर्दै आएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले भने, “वन क्षेत्रको संरक्षण र खोल्सी व्यवस्थापन नगरी दिनदिनै बढ्दै गएको शहरीकरणले भयावह अवस्था सिर्जना गरेको हो।”

सघन बजार क्षेत्रमा खोल्सी पुरेर सडक बनाउने, घर बनाउने र अन्य संरचना बनाउने होड चलेपछि बर्खे भेलको निकासको ठाउँ नभएर बस्ती असुरक्षित हुँदै गएको यादवको भनाइ छ। जिल्लाको उत्तरी सीमा चुरे पहाडबाट निस्कने रातु, भब्सी, जङ्घा, गणन्ता, ढुङ्ग्रे, ढोलनखोला, मडहा र बाँकेलगायतका नदीमा सयौँ सङ्ख्याका खोल्सी मिसिएका छन्।

जिल्ला भएर बग्ने मुख्य नदी रातुमा मात्रै १३० भन्दा बढी खोल्सी मिसिएका छन्। जसमध्ये १० खोल्सी बर्दिवास मुख्यबजार (वडा नं १, २ र १४) छिचोल्दै रातु र भब्सी नदीमा मिसिन्छन्। मुख्य नदीमा मिसिनुपूर्व बस्ती क्षेत्रमा खोल्सीका बहाव क्षेत्र मासिएको चुरेविज्ञ डा विजयकुमार सिंह बताउँछन्।

“वन क्षेत्रमै पनि खोल्सीबाट हुने कटान रोक्न योजनाबद्ध खोल्सी व्यवस्थापनको आवश्यकता छ”, उनले भने, “बस्ती क्षेत्रमा त यो अपरिहार्य नै छ, खोल्सीको बग्ने ठाउँ थुनेर बनाइएका संरचना बर्खे भेलले बगायो, भत्कायो भनेर बिलौना गर्नुको कुनै अर्थ छैन।”

बाढी र डुबानले बस्ने घर, खाने अन्न र आङ ढाक्ने लुगासमेत नजोगिँदा यहाँका सर्वसाधारण अझै सडक किनार, चउर र फुटपाथका पालमुनि जीवन धान्न विवश देखिन्छन्। तर, यो विपत्तिको मुख्य कारण खोज्न जनताको प्रतिनिधित्व गर्ने स्थानीय तहले कुनै तदारुकता नदेखाएका पीडितको गुनासो छ।

जिल्लाका सबैजसो नदीका मुहान चुरे पहाड शृङ्खलामा छन्। यिनको दिगो व्यवस्थापनको एकीकृत योजना नबनेसम्म बाढीको कटान र डुबान समस्या समाधान नहुने विज्ञहरुको ठहर छ। “खुकुलो माटो भएको चुरे क्षेत्रमा उत्खनन गरिरहने, विकासका नाउँमा ठुल्ठूला यन्त्र लगाएर पहाड भत्काउने काम भइरहेको छ”, डा सिंहले भने, “यी काम जारी राखेर कटान, डुबानबाट बच्ने कुरा बसीबियाँलोका गफमात्र हुन्।”

पूर्वपश्चिम राजमार्गको करीब १८ किलोमीटर जिल्लाको दूरीभित्र स–साना खोल्सी करीब एक हजारको हाराहारीमा छन्। व्यवस्थापन नगरिँदा अभिशाप मानिदै आइएका यी खोल्सीले यसपालि मात्र गत असार अन्तिम सातामा घर लडाएर, उब्जाउ जग्गा कटान गरेर र गेगरले पुरेर अकल्पनीय क्षति भएको छ।

वैकल्पिक व्यवस्था भइनसक्दा घर भत्ेकेका पीडित अझै पालमुनि बस्दै आएका छन्। यसबाहेक भएको मानवीय क्षति र कृषिउपज, अन्य धनमाल एवं संरचनामा बाढीले पु¥याएको क्षतिबारे कारण खोतलेर निदानका उपाय अवलम्बन नगरिए अझै ठुल्ठूला विपत्ति खेप्नुपर्ने विज्ञले सचेत गराएका छन्।

बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरीले बर्खा लागेपछि बिलौनाका गीत गाउने र बर्खा सकिएपछि कानमा तेल हालेर सुत्ने बानीले बाढीको कटान र डुबानको पिरोलो नरोकिएको बताए।

सबै तहका सरकारको सामूहिक प्रयत्नमा नदीजन्य वस्तुको अवैध उत्खनन, चुरे क्षेत्रको दोहन र वन पैदावारको अवैध कटान रोक्नु पहिलो आवश्यकता भएको डा सिंह औँल्याउँछन्। यो पछि खोल्सी र नदी व्यवस्थापनमा गरिने योजनाबद्ध कामले भने सधैँसधैँलाई बाढीको कटान र डुबान समस्याको निदान दिने डा सिंहको भनाइ छ। रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो