अन्तरिक्षमा अपराध: पहिलो आरोपको अनुसन्धान गर्दै नासा
बीबीसी। अमेरिकी अन्तरिक्ष निकाय नासाले एक महिला अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको ब्याङ्क खाता अनधिकृत रूपमा चलाएकोबारे अनुसन्धान गरिरहेको बताइएको छ।
त्यो आरोप प्रमाणित भएमा एन म्याकक्लेन अन्तरिक्षबाट अपराध गर्ने पहिलो व्यक्ति हुनेछिन्। म्याकक्लेनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको ब्याङ्क खाता हेरेको तर कुनै गलत नगरेको बताएको न्यूयोर्क टाइम्सले लेखेको छ। उनसँग छुट्टिएका पति समर वोर्डेनले फेडेरल ट्रेड कमिशनमा यस सम्बन्धमा उजुरी गरेका छन्।
न्यूयोर्क टाइम्सलाई उनले एक वकिलमार्फत् आफूले परिवारको आर्थिक अवस्था हेरेर वोर्डेनसँग छोरा हुर्काउन यथेष्ठ पैसा रहे-नरहेको विचार गर्न ब्याङ्क खाता हेरेको बताएकी छन्। “उनले कुनैपनि गलत काम गरेकी छैनन्,” उनका वकिलले भनेका छन्। म्याकक्लेनले अनुसन्धानमा सघाइरहेको पनि बताइएको छ।
म्याकक्लेन र वायुसेनामा गुप्तचर रहेका वोर्डेनले सन् २०१४ मा विवाह गरेका थिए र सन् २०१८ मा सम्बन्ध विच्छेद गर्न निवेदन दिएका थिए। नासाका अनुसन्धान अधिकारीहरूले दुवैलाई सम्पर्क गरेको न्यूयोर्क टाइम्सले लेखेको छ।
सेनाको विमानचालक रहेकी म्याकक्लेनलाई सन् २०१३ मा नासाले अन्तरिक्षयात्रीको रूपमा छानेको थियो।उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना बिताएकी थिइन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको स्वामित्व भएका अमेरिका, रुस, युरोप, जापान र क्यानाडा सहमत भएको व्यवस्थामा अन्तरिक्षयात्री र सामानमा राष्ट्रिय कानुन नै लागु हुन्छ। अर्थात जुन देशको अन्तरिक्षयात्रीले अपराध गरेको हो, त्यही देशको कानुन लागु हुन्छ।
अन्तरिक्ष कानुन अनुसार यदि कुनै अन्य देशको नागरिकले अपराध गरेमा पृथ्वीमा सुपुर्दगी गर्न झिकाउन पनि मिल्छ। नासाका अधिकारीहरूले भने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा कुनै अपराध भएको बारे जानकारी नभएको न्यूयोर्क टाइम्सलाई बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment