जी सेभन सम्मेलनमा चीन–अमेरिका व्यापार युद्धको चिन्ता

डिसी नेपाल
८ भदौ २०७६ २०:३९

पेरिस (बीबीसी) । फ्रान्सेली राष्ट्रपति तथा ब्रिटिश प्रधानमन्त्रीले अमेरिका र चीनबीचको बढ्दो व्यापार युद्ध कम गर्न आह्वान गरेका छन्। जी–सेभनको बैठकमा सहभागी फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँ र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले अमेरिका र चीनबीचको बढ्दो व्यापारिक तनावबारे चिन्ता व्यक्त गरेका छन्।

जी–सेभन समूहमा आबद्ध देशका नेताहरू अहिले वार्षिक शिखर बैठकका लागि दक्षिणपश्चिमी फ्रान्सेली तटीय नगर बियारिजमा भेला भइरहेका छन्। त्यहाँ फ्रान्सले राष्ट्रपति माक्रोँले व्यापार युद्ध सबैका लागि खराब हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले त्यस्तो व्यापारिक तनाव कम गर्न जी–सेभन समूहमा आबद्ध प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले बैठकमा साझा रणनीति बनाउने बताए।

त्यो शिखर बैठकमा सहभागी हुन आएका ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले पनि अमेरिका र चीनबीचको बढ्दो तनाव घटाउन आवश्यक रहेकोमा जोड दिएका छन्। फ्रान्समा शिखर बैठकमा सहभागी हुन जानुअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अर्बौँ डलर बराबरका चिनियाँ सामानमा थप कर लगाउने घोषणा गरेका थिए।

त्यस्तो नीतिका कारण ट्रम्प फेरि यस पटकको जी(सेभन शिखर बैठकमा पनि व्यापार नीति र जलवायु परिवर्तनका मुद्दामा दोस्रो पटक एक्लिन सक्ने सम्भावना छ।

बियारिजमा जी–सेभन बैठक चल्दै गर्दा नजिकैको बेइयोन सहरमा प्रदर्शनकारीहरू र प्रहरीबीच झडपहरू भएका विवरण प्राप्त भएको छ। केही प्रदर्शनकारीहरूले अनुहार छोप्न मुखुन्डो लगाएका थिए। उनीहरूले प्रहरीलाई लक्षित गरी ढुङ्गामुढा गरेपछि प्रहरीले उनीहरूलाई तितरबितर पार्न अश्रुग्यास र पानीका फोहरा प्रयोग गरेको थियो। केही प्रदर्शनकारीहरू पक्राउ परेका छन्। शिखर सम्मेलनस्थलमा कडा सुरक्षा अपनाइएको छ।

त्यसअघि सम्मेलनस्थलदेखि ३० किलोमिटर पर फ्रान्स र स्पेनबीचको सीमा क्षेत्रमा हजारौँ प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए। ती प्रदर्शनहरूमा मुख्यतः विश्वव्यापीकरणविरोधी र जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै आएका अभियानकर्ताहरू सहभागी थिए।

त्यहाँ फ्रान्सका विपक्षी ‘एलो भेस्ट’ अर्थात् पहेँलो जर्सीधारी प्रदर्शनकारीहरू पनि मिसिएका थिए। उनीहरूले विश्वमा बढिरहेको धनी र गरीबबीचको खाडल कम गर्न प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले केही काम नगरेको भन्दै आक्रोश पोखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *