लिबियामा १६ जना विद्रोही लडाकू मारिए
त्रिपोली। संयुक्तराष्ट्रबाट मान्यताप्राप्त सरकारी फौजको कारबाहीमा दक्षिणी त्रिपोलीमा कम्तीमा १६ जना विद्रोही लडाकू मारिएका छन्। हफ्तार समूहमा आबद्ध ती लडाकूहरुले आफूलाई मुलुकको वैधानिक सेना मान्ने गरेका छन्। सरकारी सेनाले एक विज्ञप्ति प्रकाशन गरी सरकारी सेनाले अल–यारमुक क्षेत्रलाई नियन्त्रणमा लिनुका साथै विद्रोहीका हातहतियार र सवारी साधन कब्जामा लिएको जनाइएको छ।
यसैबीच, विद्रोही सेनाले हवाई आक्रमण गरी दक्षिणी त्रिपोलीमा सरकारी सेनाका हातहतियार भण्डारमा ठूलो क्षति पुर्याएको दाबी गरेको छ। लिबियाको पूर्वी क्षेत्रमा नियन्त्रण कायम गरेर बसेका विद्रोही सेनाले गत अप्रिलदेखि राजधानी त्रिपोली र आसपास सरकारी सेना विरुद्ध भिषण युद्ध गरिरहेको छ।
विद्रोही जनरल खलिफा हफ्तार समूहले संयुक्तराष्ट्र संघद्वारा मान्यताप्राप्त सरकार विस्थापित गर्ने मुख्य उद्देश्यका साथ राजधानी त्रिपोली सहित देशका विभिन्न भागमा आक्रमण जारी राखेको छ। लिबिया हाल पूर्वी र पश्चिमी सरकारका रुपमा विभाजित भएको छ। सन् २०११ मा तत्कालीन लिबियाली नेता मोउमार गद्दाफीको शासन ढलेसँगै राजनीतिक द्वन्द्वमा फसेको छ।(रासस-सिन्ह्वा)
No ads found for this position

डिसी नेपाल
Facebook Comment