राजिनामा दिन सबै मन्त्रीलाई राष्ट्रपतिको निर्देशन

डिसी नेपाल
१० कार्तिक २०७६ १९:५८

सान्टियागो । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजिनामा दिन आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई निर्देशन दिएका छन् ।

आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उनले शनिबार आन्दोलनको सम्बोधन स्वरुप मन्त्रीहरुलाई राजिनामा दिन लगाएका छन् ।

“आन्दोलनकारीहरुको माग अनुसार मैले नयाँ मन्त्रिपरिषद् गठन गर्न लागेको छु, त्यसका लागि सबै मन्त्रीलाई राजिनामा दिन निर्देशन दिएको छु,” उनले पत्रकारहरुसँग भनेका छन् ।

राष्ट्रपति कार्यालयमै पत्रकारहरुसँग भएको भेटमा उनले आन्दोलनकारीको आवाज आफूले सुनेको पनि बताए ।

उनले भने, “हामी सबै परिवर्तन हुनुपर्छ, हामी सबै वास्तविकतामा आधारित भएर आपत्कालीन समस्याको समाधान जिम्मेवारीपूर्ण ढङ्गले निकाल्नु पर्दछ ।”

गत शुक्रबार राजधानी सान्टियागोमा दशौं लाख जनाले राष्ट्रपतिको राजिनामाको माग गर्दै सडक प्रदर्शन गरेका थिए ।

उनीहरुले शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउनु पर्ने, आधारभूत अन्य सेवाहरु सस्तो र सर्वसुलभ गराउनु पर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्नेलगायतका माग पनि राखेका छन् ।

अहिले भएको आन्दोलनका क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु सयौँ घाइते भएका छन् ।

आन्दोलन चर्कदै हिंसात्मक हुन थालेपछि राष्ट्रपति सेबास्टियनले सान्टियागो क्षेत्रमा केही दिन अगाडि सङ्कटकालको घोषणा गरेका छन् ।

उनले आफू आन्दोलनकारीहरुको भावनासँग सहमत रहेको र आन्दोलनकारीसँग वार्ता मार्फत् तत्काल समस्याको निकास खोज्न तयार रहेको पनि बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *