कुलले मागे एनआरएनएको विशेष अधिवेशन

डिसी नेपाल
२४ पुष २०७६ ३:०१

लण्डन। गैर आवासीय नेपाली संघका  निवर्तमान उपाध्यक्ष, कुल आचार्यले जति सक्दो चाडो संघको विशेष अधिवेशन बोलाउन माग गरेका छन्।

मंगलबार अपरान्ह लन्डनमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै आचार्यले गत अक्टोबरमा काठमाडौँमा सम्पन्न संघको नवौं विश्व सम्मेलनमा आर्थिक र संगठनिक  प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण भएको बताए।

‘यसले हाम्रो संस्थाको गरिमामाथि नकारात्मक असर पर्नुका साथै विभिन्न अनियमितताका समाचारहरु बाहिर आइरहेका छन्। सन् २०१८ मा आयोजित विश्व ज्ञान सम्मेलनमा काटिएको टिकट तथा होटेल बुकिङ्गको हिसाब सार्वजनिक गरिएको छैन। त्यस्तै म उपाध्यक्ष हुँदा संस्थामा २, २ जना  सीइओ राख्दा संस्थाले धन्न सक्दैन भनेर मैले उठाएको विषय अहिले पनि रेकर्डमै छन्। त्यस्तै सभा, सम्मेलनहरुको आयोजनामा पनि पारदर्शिता कायम गरिएको छैन,’ आचार्यले भने।

‘संस्थालाई सिन्डिकेट बनाउने प्रयास विरुद्ध नै मेरो उम्मेदवारी थियो। आगामी दिनमा पनि मेरो खबरदारी जारी रहने छ,’ उनले भने।

काठमाडौंमा सम्पन्न चुनावमा सानो अन्तरले पराजित घोषणा गरिएका आचार्यले चुनावमा  निर्वाचन समिति तथा सचिवालयले निस्पक्ष भूमिका निर्वाह गरेको, तर संस्थाको भविष्य र हितलाई ध्यानमा राख्दै आफुले निर्वाचनको परिणाम स्वीकार गरेको पनि बताए।

आचार्यले हालै आइसीसीको १० घण्टा लामो बैठक बसेको भनी प्रचार गरियो। तर सो बैठकले गरेको मनोनयन  एकपक्षीय र पूर्वाग्रहपूर्ण भएको भनि धेरै साथीहरुको गुनासो आएको पनि बताए।

‘क्षेत्रीय संयोजक (आरसी)हरुले गरेको सिफारिसलाई बेवास्ता गरी आफ्ना नजिकका मानिसहरुलाई मनोनयन गर्ने काम संस्थाको हितमा छैन। यस्तो कामले संस्थालाई अरु कम्जोर बनाउने निश्चित छ,’ उनले भने।

‘गत विश्व सम्मेलनमा संसार भरिबाट आउनु भएका एनआरएन साथीहरुले मलाई विश्वास गरेर इतिहासकै राम्रो मत पनि दिनु भयो। संस्थापन पक्षले सयौं फर्जी मतदाताहरु खडा गरी गराएको एकपक्षीय निर्वाचनको नतिजालाई संस्थाको बृहत्तर हितलाई हृदयंगम गर्दै मैले स्वीकार गरें। तर लाखौं एनआरएनहरुको श्रम र पसिनाले यो स्थानमा आइपुगेको यो संस्थाको साख जोगाउन हामी सबैले खबरदारी गर्नु आवश्यक छ। यसबारे म वर्तमान नेतृत्वलाई फेरी पनि सजग बनाउन चाहन्छु,’  उनले भने।

“अहिले संसार भरि बसोबास गरिरहनु भएका गैर आवासीय नेपालीहरुको पहिलो चासो भनेको नेपालमा रहेको आफ्नो सम्पत्ति कसरी सुरक्षित रहन्छ र सर्वसुलभ ढंगले गैर आवासीय नेपाली नागरिकता कसरी पाउन सकिन्छ भन्ने नै हो।  तर संसद अधिवेशन शुरु भै सकेको यस्तो महत्वपूर्ण समयमा एनआरएनएको नेतृत्व मौन रहनु खेदजनक छ। म नयाँ नेतृत्वलाई सकभर चाँडो यस विषयमा सक्रियता देखाई सकारात्मक परिणाम ल्याउने तर्फ सम्पूर्ण उर्जा लगाउन आग्रह गर्दछु,’ उनले भने।

‘तपाई को आगामी योजना के छ भन्ने एक प्रश्नको जवाफमा आचार्यले आफु संघको एक इमान्दार सिपाही भएको र संघको हितमा काम गरिरहने विश्वास पनि दिलाए। आवश्यक परेको खण्डमा साथीहरुको चाहनाअनुसार म जहिले पनि तत्पर छु,’ उनले भने।

उनले  नयां वर्ष २०२० को  अवसरमा संसारभरि रहेका गैर आवासीय नेपालीहरुलाई  सुख, शान्ति र उत्तरोत्तर प्रगतिको शुभ कामना दिँदै आफुलाई गरेको सहयोगका लागि आभार पनि व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *