विधानसम्मत नचले कुनै पनि निर्णय नमान्ने जानकीको चेतावनी

डिसी नेपाल
२८ पुष २०७६ ८:२०

लण्डन । गैर आवासीय नेपाली संघकी पूर्व सचिव जानकी गुरुङ्गले संघको निर्वाचन समितिउपर गरिएका सबै उजुरीहरुको छानविनको माग गरेकी छन् । उनले संस्थालाई विधानसम्मत नचलाए यसका कुनै पनि निर्णय मान्य नहुने चेतावनी पनि दिएकी छन् ।

तीन महिनाअघि काठमाडौंमा सम्पन्न गैरअवासीय नेपाली संघको निर्वाचनका बेला मतदाता नामावलीलगायत विविध विषयमा उजुरी परेको थियो । गुरुङ्गले जनवरी १२ मा एक विज्ञप्ति जारी गर्दै विधानविपरीत भएका गम्भीर त्रुटिहरु सच्च्याइने आशा गरेको भए पनि संघको नेतृत्वले हालसम्म नसच्याएको आरोप लगाएकी छन् ।

महासचिव पदमा उमेद्द्वारी दिएर पराजित भएकी उनले विज्ञप्तिमा ,‘यतिका समय बितिसके पछि पनि नेतृत्वमा रहनेहरुबाट संस्थाको वैधानिक पाटाहरु, महाधिबेशनका मूलभूत थाँती राखिएका पक्षहरुको सम्बोधन र परिपूर्तितर्फ गैरजिम्मेवार रहेको’ उल्लेख गरेकी छन् ।

साथै उनले निर्वाचन समिति उपर गरिएका सबै उजुरीहरुको छानबिन र निर्णय सार्वजनिक गर्न, महासचिव र कोषाध्यक्षको साधारणसभाबाट अनुमोदित नभएको प्रतिवेदनलाई त्यसबेला पछि विशेष समिति बनाई पारित गर्ने भनिएकोमा, विशेष समिति हैन अव विशेष साधारण सभा बोलाई छलफल गर्न पनि माग गरेकी छन् । उनले संरचनागतरूपमा गर्दै आएका काम र प्रगतिको निरन्तरता दिन र अनावश्यक रूपमा हरेक क्षेत्रमा फेरबदल रोक्न पनि माग गरेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *