नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली : प्रचार नखोज्ने व्यक्ति

डिसी नेपाल
२८ माघ २०७६ २२:३८

काठमाडौं । प्यूठानको झिम्रुक गाउँपालिका –१ का नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सरल र प्रचार नचाहने व्यक्तिको रुपमा चिनिन्छन्।

आफ्नो काममा दत्तचित्त भएर लाग्ने तर कतै प्रचारमा नदेखिए कै कारण उनको शालिनता प्रष्ट हुन्छ । अहिलेसम्म आर्थिक विवादमा समेत तानिएका छैनन् । उनीसंग काम गरेका प्रहरी अधिकृतहरु पनि ज्ञवालीलाई सरल र सहयोगी व्यक्तिका रुपमा चिनेको बताउछन् ।

प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सिधैँ आईजीमा फड्को मारेका ज्ञवाली आईजीमा नियुक्त हुँदा कुनै राजनीतिक चलखेल भएन, न त उनलाई कसैले अयोग्य र कार्यसम्पादन मूल्याङ्कनमा कम अङ्क ल्याएका व्यक्ति भनेर नै भने । प्यूठानको तत्कालीन बादिकोट गाविसमा विसं २०२२ मा जन्मेका उनीको बारेमा धेरैलाई जानकारी कम छ । पछि उनको परिवार दाङमा बसाइँसरेको थियो । उनले विसं २०४७ असारमा प्रहरी निरीक्षकको रुपमा सेवा शुरु गरेका थिए ।

ज्ञवालीले जिल्लाको ओकरकोटस्थित माविमा एसएलसी गरेपछि त्रिचन्द्र कलेजबाट आईएससी गरेका थिए । त्यसपछि कीर्तिपुर क्याम्पसबाट उच्च शिक्षा हासिल गरे। मन्त्रिपरिषद्ले आईजीमा नियुक्त गर्दा सामाजिक सञ्जालमा उनको प्रशंसा मात्रै देखिनुले पनि उनको व्यक्तित्व झल्किने बताइएको छ ।

विगतमा प्रहरी महानिरीक्षक नियुक्तिको विषय अदालतमा पुगेको थियो । कनिष्ठलाई नियुक्ति गरिएको भन्दै कतिपय प्रहरी अधिकृतले राजीनामा दिएको उदाहरण छ । तर, यसपटक निर्विकल्प रुपमा उनको नाम गएको एक प्रहरी अधिकृतले बताए । चार वर्षअघि जयबहादुर चन्द आईजी हुँदा प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल अदालत पुगेका थिए । उपेन्द्रकान्त अर्याल आईजी हुँदा पनि प्रहरीमा विवाद बल्झिएको थियो । वर्तमान आईजी सर्वेन्द्र खनाल डिआईजीबाट बढुवा हुँदा तत्कालीन डिआईजी रमेश खरेलले राजीनामा दिए ।

नवनियुक्त आईजी ज्ञवाली विसं २०५८ मा डीएसपीमा थिए । विसं २०६६ मा एसपी, २०७३ मा एसएसपी भएका उनी २०७५ असोजमा डीआईजीमा बढुवा भए । उनका भाई श्यामलाल ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा एसएसपीको रुपमा कार्यरत छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगञ्ज तालिम केन्द्रसहित दाङ, बारा, झापा, रुपन्देही, रुकुमलगायत ठाउँमा काम गरेको अनुभव उनीसँग छ । उन विसं २०४६ माघमा वर्तमान प्रहरी महानिरक्षिक खनालसँगै परीक्षा दिँदा वैकल्पिकमा नाम निकालेका थिए ।

त्यसकारण पाँच महिना ढिला गरी विसं २०४७ असारमा उनी प्रहरी सेवामा लागेका थिए । अहिले प्रहरी महानिरीक्षक खनालसहित तीन एआईजीले अवकास पाएपछि उनी सिधैँ डिआईजीबाट बढुवा भएर आईजी बनेका हुन्।

शान्ति सुरक्षा र कानून कार्यान्वयन पहिलो काम

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कानून कार्यान्वयमा दत्तचित्त भएर प्रहरी सङ्गठनलाई अगाडि बढाउने बताएका छन् ।

कार्यभार सम्हालेपछि भावी कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिँदै ज्ञवालीले गृह मन्त्रालयले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा नै आफ्नो जोड रहने बताए । उनले समाजमा शान्ति कायम गर्नु प्राथमिकताको विषय हुने बताए । “नेपाल प्रहरीले गर्ने भनेको, गृह मन्त्रालयको नीति तथा कार्यक्रम लागू गर्ने हो, त्यसमा कुनै कसर बाँकी रहने छैन”, ज्ञवालीले भने ।

समाजमा शान्ति सुरक्षा प्रदान गरी नागरिकको सुरक्षामा प्रहरी सङ्गठन हरतहरले लाग्दै आएको र आगामी दिनमा लाग्ने बताउँदै उनले आफू आईजी नियुक्त हुनुलाई नियमित प्रक्रियाको रुपमा लिएको प्रतिक्रिया दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *