खाडी मुलुकमा भएका नेपाली कामदारले दुख नपाउन्

डिसी नेपाल
११ चैत २०७६ ९:३३

काठमाडौं। कोरोना भाइरसले धेरै नेपाली कामदार रहेका मुलुक प्रभावित बन्न थालेपछि खाडी मुलुकमा रहेका नेपाली कामदारको अवस्था बारे सरकारले चासो राखेको छ।

खाडीलगायतका मुलुकमा रहेका नेपाली कामदारको समस्याका विषयमा छलफल गर्न सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रममन्त्री रामेश्वर राय यादवले खाडी मुलुकका राजदूतहरुसँग भिडियो कन्फ्रेन्स कल गरेका थिए।

कन्फ्रेन्समा कतार, कवेत, साउदी अरब र बहराइनका राजदूत सहभागी थिए। राजदूतहरुले नेपाली कामदारको विषयमा चिन्ता रहेको र नेपाली कामदारसमेत चिन्तित रहेको बताएका थिए।

राजदूतहरुले सुरुमा चीनमा र अन्य केही मुलुकमा मात्र कोरोना भाइरस देखिएको अवस्थामा रोजगारदाताले कामदारको जिम्मा नलिने बताएको भएपनि कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि भने रोजगारदाता कम्पनीले नै समर्थन गर्न थालेको जानकारी गराएका थिए।

सुरुमा कोरोना भाइरसको संक्रमण अन्य मुलुकमा देखिँदा रोजगारदाता कम्पनीले जर्बजस्त कामदार फिर्ता गर्ने बताएपनि अहिले आएर रोजगारदाता कम्पनी नै कामदारको पक्षमा उभिएको राजदूतहरुले बिफ्रिङ गरेका थिए।

राजदूतको बिफ्रिङ सुनिसकेपछि मन्त्रीद्वव ज्ञवाली र यादवले खाडी मुलुकमा रहेका नेपाली कामदारलाई आफूहरुको साथमा सरकार छ भन्ने अनुभूति हुने गरी काम गर्न निर्देशन दिएका थिए।

परराष्ट्रमन्त्री ज्ञवालीले पैसाको चिन्ता नदिइकन दूतावासले राम्रो व्यवस्थापन गर्न निर्देशन दिएका थिए। ‘नेपाली कामदारलाई हाम्रो साथमा सरकार छ भन्ने अनुभूति हुने गरी काम गर्नुस्। पैसाको चिन्ता नगर्नुस्, खान बस्न समस्या भयो भने तपाईँहरुले व्यवस्थापन गर्नुस् पैसाको जिम्मा सरकारले लिन्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले राजदूतहरुलाई निर्देशन दिँदै भनेका थिए।

मन्त्री यादवले कामदारले काम छोडेर डेरामा बस्ने अवस्था भएन भने पनि त्यसको जिम्मा दूतावासले लिँदै त्यसको व्यवस्थापन गर्न निर्देशन दिएका थिए। ‘व्यवस्थापनको जिम्मा तपाईँहरुले लिनुस्, पैसाको चिन्ता नगर्नुस् पैसाको जोहो सरकारले गर्छ,’ मन्त्री यादवले भने।

छलफलमा खाडी मुलुकका राजदूतसँगै इजराइल र दक्षिण अफ्रिकाको राजदूतलाई पनि बोलाइएको थियो। तर प्राविधिक कारणवश उनीहरु भने सहभागी हुन सकेनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *