एउटा जर्नेलको नजरमा कोरोना माहामारीमा नेपालका चार खेलाडी

डिसी नेपाल
१६ चैत २०७६ ७:४१

काठमाडौँ। आज मुलुक लकडाउनमा छ। विश्वव्यापी महामारी फैलाउने कोरोना भाइरसलाई फैलिन नदिन लकडाउन अभ्यास प्रयोगमा ल्याइएको हो। विश्व स्वास्थ्य संगठनले जोखिम सचेतना सावधानी र निर्देशनमा विश्वका १८२ देशमा यो लकडाउन जारी छ।

३४ वर्ष सैनिक सेवा पूरा गरी अवकास प्राप्त पंक्तिकारले लकडाउन प्रथम पटक सुनेको, देखेको र भोगेको हो। तर, यस्तो महामारीको लकडाउनमात्र हामीले नभोगेको हो, विभिन्न कालखण्डमा मुलुक ठप्प पारेको र कफ्र्यु लगाएको त हामीले देखे भोगेकै हो।

त्यो शक्त प्रदर्शन र बल प्रयोगको अप्रिय अभ्यास थियो। जनतासँगको मुठभेड र द्वन्द्व थियो। तर यो लकडाउन शक्ति प्रदर्शन, बल प्रयोग र द्वन्द्व होइन। यो जनता स्वयं ज्ञानी, विवेकी, सज्जन र संयमित भएर घरभित्र बन्द भई बसेको अवस्था हो।

सरकार कर्मचारी, उद्यमी, व्यापारी, सुरक्षाकर्मी, शिक्षक , विद्यार्थी, स्वास्थ्यकर्मी, सबैले अति आवश्यक बाहेकका गतिबिधि बन्द गरेर कोरोना भाइरसबाट बँच्न एक्कलै घरमा बस्न लकडाउनले निर्देशन गरेको हो।

पहिलो दिन रमाइलोमा बित्यो। पर्ख र हेर गरे जनताले तर लकडाउनको अपव्याख्या र दुरुपयोग भएको गुनासो सञ्चारमाध्यमले उजागर गरे।

दोस्रो दिन सरकार अनुदार हुन बाध्य भयो। अटेरीलाई ठीक पार्न झन् धेरै सुरक्षाकर्मी सडकमा उतारियो। व्याकफोर्समा सेना पनि सडकमा उत्रियो । धरपकड बढ्यो । कडाई गरियो।

तुलनात्मकरुपमा लकडाउनलाई प्रभावकारी बनाउने पहल र प्रयास केही हदसम्म सफल भयो । फलस्वरुप तेस्रो र चौँथो दिन र त्यसयता सडकमा तैनाथ सुरक्षाकर्मीहरुले लकडाउन सफल बनाउन थाले।

आफू मुठ्ठीभरका बिचौलिया र दलालहरुको चँगुलमा फस्ने र तत्काल चाहिने स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने कुरामा पनि व्यापारिक फाइदा हेर्नेहरुबाट घेरिने अवस्थामा सरकार छ। ठेकेदारहरुलाई मास्क र पिपिई बनाउन अडर दिने। पेलेर सबैकुरा ठीक हुन्छ भन्ठान्ने समस्या पनि सरकारमा देखिएको छ।

लकडाउन जनतालाई पच्न शुरु गर्यो। यो जरुरी पनि थियो। जापान, ताइवान, सिँगापुरले कडा कदम अपनाएर सुरक्षित रहेको नजिर छ।

जनताको मनोविज्ञान

जनता यो रोगको महामारीबाट बच्न चाहान्छन्। सँगसँगै आफ्नो काम, जागिर र व्यपार व्यवसायमा हानी नहोस् भन्ने पनि चाहन्छन्। केही कुरा नगुमाई यो महामारी पराजित होस् भन्ने चाहान्छन् र यसलाई परास्त गर्नका लागि राज्यले कुनै नियम नलादोस्, आफ्नो स्वतन्त्रता पनि यथावत रहोस् भन्ने जनताको मनोविज्ञान देखिन्छ।

अर्थात् कोरोनाले हाम्रो स्वतन्त्रताको हक खुम्च्याउन र खोस्न पाउँदैन। जनताले जे गरेपनि हुन्छ, हुनुपर्दछ । राज्यले लगाएको लकडाउन जनताले नटेरे पनि हुन्छ तर केही भइहाले जनताको आवश्यकता राज्यले पूरा गरिदिनु पर्दछ भन्ने जवर्जस्त मनोविज्ञान नेपाली जनतामा देखिएको छ। धरपकड नहोस्, भइहाले त्यो ज्यादती हो भन्ने मानसिकता जनतामा देखिन्छ यतिबेला।

सुरक्षकर्मीको मनोविज्ञान

यो संकटबाट राज्यलाई छिटो पार लाउन पाए हुने थियो । हाम्रा घर परिवार हेर्न र जान पाइने थियो। जनता संयमित र अनुसाशित भएर घरभित्र बसे हुने थियो। हामीलाई दुख नदिए हुने थियो । हामीलाई प्रोटेक्सनका सामग्री (माक्स जस्मा पञ्जा) भए हुने थियो ।

स्वास्थ्यकर्मीको मनोविज्ञान

यो महामारीको अचुक अस्त्र अनुशासन पालना हो सचेतना र सावधानी हो। आम जनसमुदाय सारा सचेत, सावधान र संयम हुन्। रोगलाई शहर, बजार, गाउँ टोलमा छिर्न नदिउँ।

राज्यको तयारी राम्रो विश्वसनीय र भरपर्दो होस्। स्वास्थ्यकर्मीहरुको सुरक्षामा सरकार संवेदनशील होस्। र, जनतालाई जसरी हुन्छ अनुशासित राखोस्।

सरकारको मनोविज्ञान

महामारी हामीले ल्याएको हो र? भन्ने मनोविज्ञानले सरकार ग्रस्त देखिन्छ। विरामी आएपछि जे सुकैको होस् त्यो महामारीकै किन नहोस् स्वास्थ्यकर्मीले उपचार गर्नु पर्छ भन्ने धारणामा सरकार देखिन्छ ।

स्वास्थ्यकर्मीहरुलाई बिना तयारी, विना तालिम, विना समन्वय र विना सुरक्षा नै किन नहोस् कोरोनाको उपचारको काममा उतार्ने, यो काममा आफ्नो सुरक्षाको कुरा उठाएर नआउनेमाथि अनुशासनको डन्डा लगाउने। सुरक्षाकर्मीहरुलाई बल प्रयोगमा उतार्ने। जनतालाई फोस्रो र झुटो आश्वासन दिने।

आफू मुठ्ठीभरका बिचौलिया र दलालहरुको चँगुलमा फस्ने र तत्काल चाहिने स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने कुरामा पनि व्यापारिक फाइदा हेर्नेहरुबाट घेरिने अवस्थामा सरकार छ। ठेकेदारहरुलाई मास्क र पिपिई बनाउन अडर दिने। पेलेर सबैकुरा ठीक हुन्छ भन्ठान्ने समस्या पनि सरकारमा देखिएको छ।

अहिलेको महामारीको चतुर्भुजीय खेलाडी यिनै चार हुन्। यी चार बीचको मनोविज्ञानिक युद्ध जारी छ। सञ्चारमाध्यम रमिते भएको छ । कहिले लडाउने, कहिले जुधाउने, कहिले अम्पायर। कसलाई हराउने र कसलाई जिताउने। यो संचारग्राममा अन्त्यमा राज्य निर्वस्त्र हुने छ र राज्य हार्ने छ भन्ने कुरामा सबैको हेक्का हुन जरुरी छ।

डरलाग्दो पक्ष

सबैभन्दा सर्वशक्तिमान सम्पन्न, स्रोत साधनयुक्त, नैतिकवान र बुद्धिमान सरकार हुनुपर्ने हो। तर भएको छ ठिक उल्टो। जनतालाई रत्तिभर भरोसा र विश्वास छैन। स्वास्थ्यकर्मीहरु आजित छन् ।

सबैको होसला र मनोबल गिरेको छ। राज्यको गफ, उदासिनता र शून्य तयारी देखेर सबै त्रसित र भयवित छन्। अझ व्यापारी, तस्कर, कालोबजारीको छत्रछाया र राज्य देखेर सबै आक्रोसित पनि छन् । यो ग्राउण्ड रियालिटी र रवैया देखेर अन्तराष्ट्रिय संघ संस्था, दातृ निकाय, सबै निस्मयकारी र रनभुल्लमा परको छन्।

यो राज्य तल पर्ने, हार्ने र हटाउने भावी लक्षण र अशुभ संकेत हो । यहि धमिलो पानीमा पादरी, भिक्षु, मस्जिद गुरु, योगी, बाबा, ज्योतिष, दलाल, तस्करले चौका दाउ हान्ने र राज्यमाथि बलात्कार गर्ने अवस्था आउनु हुन्न ।

सरकार त्यो फोहोरी खेल र षड्यन्त्रमा रमाउँदा र मुकदर्शक हुँदा हामी चिप्लिएर भीरबाट खस्ने हो । अहिलेको परिदृश्य यस्तै देखिएको छ । समय छंदै होस् गर्नु र चाटुकार, आसेपासे व्यापारीबाट मुक्त भई सरकारले इमान्दारिता देखाउन चुक्दै जाने हो भने बर्वादी टाढा छैन ।

इगोको कुस्ती

सबैले आफूलाई जान्ने र सुन्ने ठुलो शक्तिशाली, बहादुरी र बुद्धमान ठान्ने गुह्य स्वभाव यस्तै गाह्रो साह्रो र संकटको समयमा उजागर हुन्छ ।

जात्रा, चाडवाड, भट्टी भोजमा टम्म मिलेर बस्ने हामी नेपाली संकटको समयमा एउटै छातामुनि टम्म मिलेर साझा समस्या परास्त गर्न लाग्नुको सट्टा को ठुलो, को सानो, को जान्ने, नजान्ने, कसको गल्ती कमजोरी धेरै, को जिम्मेवार र गैह्र जिम्मेवारी भन्दै दोषारोपण, खुट्टा तानातान, वाक् युद्धमा उत्रिनु लज्जाको विषय हो तर कसैले लाज मानेको देखिएको छैन ।

सरकारी अस्पतालले निजीलाई गाली, यो फार्मेसीले उ फार्मेसीलाई दोष, जनताले सुरक्षा निकायलाई, सुरक्षा निकायले राजनीतिज्ञलाई, प्रतिपक्षले सरकारलाई र सरकारले स्वास्थ्यकर्मीलाई झापट हानाहान होइन मित लगाएर काम गर्नुपर्ने बेलामा इगो जागेर, बहुलाएर सबैबीच प्रत्यक्ष परोक्ष, युद्ध जारी छ ।

अझ बजेट माग गर्ने, स्रोत साधन बाँड्ने र तक्मा विभुषण बाँड्ने बेलामा यो इगो निर्वस्त्र भई खुलमखुल्ला भनाभन, पोल खेलाखोल र खुट्टा तानातानमा छताछुल्ल भई उत्रने निश्चित छ । परिचालन, संचालन, अनुगमन, नियन्त्रण गर्ने सरकार मुकदर्शक र कामकाजी हुन नसक्दा इगो बढ्ने गर्दछ । राज्य कमजोर भएको प्रमाण हो यो ।

समाधानको उपाय

सरकार चनाखो, जिम्मेवार, संवेदनशील र जवाफदेही हुनुको विकल्प छैन । घरबाट झन् सक्रिय भई इन्टेलिजेन्स संकलन र विश्लेषण गरेर भावी परिस्थितको मुल्याङ्कन गर्नुपर्दछ । आफ्नै बगलमा ३ महिना पुरानो समस्या र त्यसको भावीरुपको पूर्वानुमान गर्न नसक्दा यहाँ लाजको पसारो भएको हो ।

सरकारी निकायहरुमा भित्रभित्रै भुसको आगोजस्तो आक्रोश फैलिएको छ । यसको विस्फोट भयो भने सरकारले सम्हान्न नसक्ने स्थिति आउन सक्छ ।

फ्रान्टलाइनमा भिड्ने स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्न जाबो पिपिई मास्क, पञ्जा, स्यानिटाइजर हामीसँग पर्याप्त भण्डारण भइसक्नुपर्ने थियो । सबैलाई छ भन्ने भान परेको थियो । किनभने सरकार हामी तयार छौँ प्रतिकारको लागि र निर्धक्क हुनु भनेर गला फुलाएर भाषण गरिरहेको थियो ।

तसर्थ ग्लोबल स्ट्यान्डर्सको मेडिकल किट्स अहिलेको न्युनतम आवश्यकता हो । त्यो अविलम्ब आपूर्ति गर्न सरकारले एक मिनेट बिलम्ब गर्नु हुँदैन ।

दोश्रो घेराका संरक्षकहरु, उद्धारकर्मीहरु, ह्याण्डलर्सहरुलाई आवश्यक मेडिकल सामाग्री र स्रोत–साधन उपलब्ध गराउनु सरकारको अर्को दायित्व हो ।

भान्जा, भतिज, जुवाईँलाई पिपिई उत्पादन गर्न बचन दिएर सरकारले ठूलो भूल गरेकोे छ । स्वास्थ्य सरोकारको विषयसँग खेलवाड गर्नु पटक्ककै हुँदैन । त्यो भोलि राज्य हार्ने अप्रिय ख्याल ठट्टामा परिणत हुन पनि सक्दछ ।

सरकार चनाखो, जिम्मेवार, संवेदनशील र जवाफदेही हुनुको विकल्प छैन । घरबाट झन् सक्रिय भई इन्टेलिजेन्स संकलन र विश्लेषण गरेर भावी परिस्थितको मुल्याङ्कन गर्नुपर्दछ । आफ्नै बगलमा ३ महिना पुरानो समस्या र त्यसको भावीरुपको पूर्वानुमान गर्न नसक्दा यहाँ लाजको पसारो भएको हो ।

सरकारले सुरक्षा निकायहरुको हौसला र मनोवल गिराउने काम पटक्कै गर्नु हुँदैन । अहिले यो अदृश्य दुश्मनको सबैभन्दा खतराजन्य टार्गेट व्यारेकहरु हुन् । कोरोना भाइरसका लागि व्यारेकहरु आफैँ शक्तिशाली बम हुन् ।

यो भाइरसले प्रतिपाद गरेको र खोजिरहेको पनि त्यही हो । सबैभन्दा उच्च जोखिम, तनाव र खतरा अहिले ती संगठन प्रमुखहरुलाई छ ।

हरेक व्यारेकमा धेरै फौज लामबद्ध सुताउनु, खुवाउनु, शौच गराउनु र भावी संकटको लागि बलियो, बाङ्गो, निरोगी बनाएर राख्नु अवस्य पनि कठिन काम हो ।

अझ घरपरिवारबाट अलग गरेर राख्नु, बिना माक्स एवं खानपिन सडकमा उतार्नु र तिनैलाई गाली गर्न हामी सबैको ठूलो भूल हो । त्यो राष्ट्रिय पूंजीको हामीले उचित स्याहार सुसार, रेखदेख र उच्च हौसला बनाएर राख्न जोगाउन र परिचालन गर्नुपर्दछ ।

अर्को जोखिमपूर्ण र खतरायुक्त ठाउँ अस्पाल नै हुन् । स्वास्थ्यकर्मीहरुलाई उचित मेडिकल किट्स र सुरक्षा एवं खूशीको सुनिश्चितता गरेर ती ठाउँहरुलाई सुरक्षित राख्नुपर्दछ । जतिसुकै लगानी र खर्च गरेर भएपनि आपूर्तिको भरपर्दो व्याकअप योजना हुनुपर्दछ ।

भण्डारण वितरण र आपूर्तिमा पहिलाजस्तै अब हामी चुक्नु हुँदैन । सरकारले व्यापारी र तस्करहरुको चंगुलबाट फुत्केर सुशासन मार्फत योगदान, त्याग र तप्परता हुनुपर्दछ ।

जनताहरु आफैँ डाक्टर हुन् यो अदृश्य दुश्मनको । हामी हरेकले संयमित भएर यो दुश्मनलाई अलग र निर्मूल गर्नुपर्दछ । सञ्चारकर्मीहरुले फुटाउने र भय त्रास बढाउने हैन कि मिलाउने र सबैको हौसला बढाउने पहल गर्नुपर्दछ । नेपाली जनता संसारको मन जित्ने दिलदार र हुनहार छन् ।

स्वास्थ्यकर्मीहरुको क्षमता र विश्वसनीयता उस्तै अपार छ । सबैले इगो फ्याँकेर सु–सम्पर्क, सु–सम्बन्ध र समन्वीकृत ढँगबाट काम गर्दा यो संकटको घडीमा छिटो पार पाउन सकिन्छ । यो सबै समन्यवय र संचालन तथा नियन्त्रण गर्न सक्रियता एवं सु–शासनको प्रत्याभूित यसबेला सरकारले दिनुपर्दछ । यसो भयो भने मात्र देश र जनताको इज्जत र विजय हुन्छ




प्रतिक्रिया

2 thoughts on “एउटा जर्नेलको नजरमा कोरोना माहामारीमा नेपालका चार खेलाडी

  1. Very logical, every body should read and understand the graveness of this article appreciate and congratulations.

  2. आम जनता र सरकारको आँखामा त अबस्य यो लेख पर्छ तर बिडम्बना राज्य संचालकका आँखामा भने नपर्न सक्छ, किनभने उनीहरुमा राज्य र जनता प्रति उत्तरदायी रहने आँखा खुली सकेको छैन !… अति उच्च विश्लेषण ! तिम्रो लेखको गहनताको तारिफ नगर्ने को रहला र ?
    A big salute sir.

Leave a Reply

Your email address will not be published. Required fields are marked *