११ वर्षदेखि ३१ देशमा उपचारको खोजी भइरहेको थियो, ट्रम्पले बन्द गरिदिए अनि आयो कोरोना

डिसी नेपाल
२५ चैत २०७६ १२:३४

काठमाडौं। चीनको वुहानबाट कोरोनाभाइरसको प्रकोप सुरु हुनुभन्दा ठिक २ महिनाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले महामारीको चेतावनी दिने र त्यसँग जुध्नको लागि काम गर्ने परियोजना बन्द गरेको थियो । चीन र अन्य देशहरुका वैज्ञानिकहरुलाई यसप्रकारको महामारीको पत्ता लगाउन र त्यससँग लड्नको लागि प्रशिक्षित गर्ने उद्देश्यले सन् २००९ मा अमेरिकाले सुरु गरेको २०० मिलियन डलरको यो कार्यक्रम ट्रम्प प्रशासनले बन्द गरेको थियो ।

लस एन्जल्स टाइम्सका अनुसार यो परियोजना अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टले सन् २००९ मा सुरु गरेको थियो । यो परियोजनाले महामारी फैलाउन सक्ने १२०० भाइरसहरुको पहिचान गरिसकेको थियो जसमध्ये १६० भन्दा बढी नोभेल कोरोनाभाइरसका विभिन्न प्रजाति थिए । ‘प्रेडिक्ट’ नाम दिइएको यो परियोजनाले ६० विदेशी प्रयोगशालाका वैज्ञानिकहरुलाई प्रशिक्षित गर्नको लागि आर्थिक सहयोग गर्थ्यो । परियोजनाले लगानी गरेका प्रयोगशालामध्ये एउटा प्रयोगशाला त्यो पनि हो जसले ‘सार्स सिओभी २’ अर्थात अहिले महामारी फैलाइरहेको कोरोनाभाइरसको पहिचान गरेको थियो ।

अमेरिका सरकारले सेप्टेम्बरमा परियोजनाको लागि लगानी बन्द गरेपछि फिल्डको काम पूरै बन्द भएको र यो कार्यक्रममा काम गरिरहेका संस्थाहरुले वैज्ञानिक र विश्लेषकहरुलाई हटाउन बाध्य हुनु परेको इकोहेल्थ एलाइन्सका अध्यक्ष पिटर डेस्जाकले बताए । इकोहेल्थ एलायन्ले यो कार्यक्रममा मुख्य भूमिका निभाउँदै आएको छ ।

यद्यपि अहिले महामारी विश्वव्यापी रुपमा फैलिइसकेपछि भने युएएडले आकस्मिक रुपमा गत बुधबार यो परियोजनाको अवधि ६ महिनाको लागि थपेको छ र २.२६ मिलियन डलर बजेट दिएको छ । तर, यो कार्यक्रमको नेतृत्व तहले भने यो बजेटले कार्यक्रमको वास्तविक लक्ष्य हासिल गर्नको लागि निकै थोरै मात्र काम गर्न सक्ने बताएका छन् । ‘नाम नै हेर्नुस् । हाम्रो लक्ष्य यो सब हुनुभन्दा पहिल्यै चेतावनी दिने थियो । यो कार्यक्रमको हिस्सा थियो र यो उत्साहजनक थियो । यही त्यो विषय हो जसको बारेमा म चिन्तित छु’ डेस्जाकले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *