विदेशमा मृत्यु विदेशमै अन्त्येष्टि, ९० नेपालीको शवले मातृभूमिको माटो पाएनन्

मदन कोइराला
२८ जेठ २०७७ ११:३२

काठमाडौं। रोजगारीका लागि विदेश गएका ९० नेपालीले अन्तिम समयमा पनि मातृभूमिको माटो पाएनन्। उनीहरुको शवको विदेशमै अन्तिम संस्कार गरिएको छ। वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा पुगेका नेपाली कामदारको विभिन्न कारणले मृत्यु भएकोमा ९० नेपालीको शव स्वदेश नल्याइ उतै व्यवस्थापन गरिएको हो।

यद्यपि यसरी व्यवस्थापन गर्नको लागि मृतकका परिवारले भने सहमति दिएका छन्। कारणवश शव नेपाल ल्याउन नसकिने स्थिति भएमा शवको उतै व्यवस्थापनको लागि परिवारले सहमति दिनुपर्ने प्रावधान छ। वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार यसरी सहमति पाएका शवको उतै अन्त्येष्टि गरिएको छ।

अहिले लकडाउनका कारण विदेशबाट शव नेपाल ल्याउन पनि समस्या भइरहेका कारण शव विदेशमै व्यवस्थापन गरिएको हो। यीमध्ये केही कोरोनाभाइरका कारण मृत्यु हुनेहरु पनि छन्। कोरोनाभाइरसका कारण मृत्यु भएकाको शव त नेपाल ल्याउनै मिल्दैन। अन्तर्राष्ट्रिय मापदण्डअनुसार कोरोनाभाइरसका कारण मृत्यु हुनेको शव निश्चित प्रोटोकल अपनाएर निश्चित समयभित्रै व्यवस्थापन गरिसक्नुपर्ने हुन्छ।

‘लकडाउनका कारण विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन समस्या भइरहेको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले डिसी नेपालसँग भने, ‘लकडाउनका कारण नियमित उडान नहुँदा विदेशबाट शव ल्याउन समस्या भइरहेको हो।’

लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान नभएको र कतिपयको कोरोनाका कारण मृत्यु भएका कारण पनि विभिन्न मुलुकमा मृत्यु भएका ९० नेपालीको शव सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।

वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्यांकअनुसार विदेशमा मृत्यु भएका नेपालीमध्ये २३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । विदेशमा शव अन्त्येष्टि गर्दा परिवारजनको सहमति भने लिने गरिएको छ।

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव ७२ घण्टाभित्र व्यवस्थापन गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। कोरोनाबाट मृत्यु भएकाको शवलाई सम्बन्धित मुलुकले नै व्यवस्थापन गर्ने भएकाले उनीहरुको शव नेपाल ल्याउन सम्भव हुँदैन। ती बाहेक विभिन्न मुलुकमा अझै १५१ नेपालीको शव अलपत्र छन् जसलाई नेपाल ल्याउन समस्या भइरहेको छ। लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान नभएपछि उनीहरुको शव नेपाल ल्याउन समस्या भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।

‘कोरोना संक्रमणबाट मृत्यु भएकाको शवलाई सम्बन्धित मुलुकले नै ७२ घण्टाभित्र व्यवस्थापन गरिसक्नुपर्ने प्रावधान छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘कोरोना संक्रमण र अन्य कारणले मृत्यु भएका ९० नेपालीको शव परिवारको सहमति लिएर सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *