कुवेतमा आममाफी पाएका थप १६० नेपाली स्वदेश फर्किए

डिसी नेपाल
१२ असार २०७७ १४:४०

कुवेत । कुवेतमा आममाफी पाएका थप १६० नेपाली स्वदेश फर्किएका छन् । उनीहरु ११ औँ स्वदेश फिर्ती उडानमार्फत शुक्रबार काठमाडौँ फर्किएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोना संक्रमण बढेपछि कुवेतले अवैध रुपमा रहँदै आएका आप्रवासीहरूलाई आममाफी दिई जरिवाना समेत मिनाहा गरिदिएको थियो। यसरी कुवेतमा २ हजार ९ सय ९१ जना नेपालीले आममाफी पाएका थिए ।

आममाफी पाएकाहरुलाई कुवेत सरकारले आफ्नै खर्चमा स्वदेश फर्काइदिने व्यवस्था गरेको छ । दूतावासका अनुसार कुवेत सरकारले आफ्नै खर्चमा जजीरा एयरका उडानमार्फत हालसम्म आममाफी पाएकामध्ये २ हजार २९ जनालाई नेपाल पठाइसकेको छ ।

आममाफी पाएका नेपालीहरु फर्काउन २९ र ३० जुनमा १२ औँ र १३ औँ उडान हुने समेत दूतावासले जनाएको छ । आममाफी पाएकाहरूको लागि अन्य स्वदेश फिर्ती उडानहरू निरन्तर संचालन गर्ने प्रक्रिया पनि अघि बढिरहेकोदूतावासको भनाइ छ ।

आममाफी पाइ स्वदेश फर्कने प्रतिक्षामा विभिन्न क्याम्पमा रहेका नेपालीहरुलाई संयमित भइ शान्तपूर्वक रहन पनि दूतावासले अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *