उडनुअघि यूएईका विमानस्थलमा नि:शुल्क गरिँदै आएको आरडीटी परिक्षण अबदेखि नहुने

डिसी नेपाल
१५ असार २०७७ १५:५१

काठमाडौँ । स्वदेश फर्कने नेपालीहरुका लागि यूएईको विमानस्थल निशुल्क रुपमा हुँदै आएको कोरोना परिक्षण (आरडीटी) अबदेखि नहुने भएको छ ।

आबुधावीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै विगतमा उडान हुनुअघि विमानस्थलमा गरिँदै आएको कोरोना परिक्षण (आरडीटी) आगामी दिनहरुमा नहुने यूएई सरकारले जानकारी दिएको बताएको छ ।

नेपाल सरकारको नियमअनुसार स्वदेश फर्किने यात्रुहरुले बढीमा ७ दिन अगाडि परीक्षण भएको कोभिड संक्रमण मुक्त प्रमाण (पिसिआर वा आरडिटि टेस्ट नेगेटिभ) साथमा राख्नुपर्छ । पिसाआर टेस्ट गर्दा कोभिड–१९ को संक्रमण नभएको रिपोर्ट आएका यात्रुहरु नेपाल आइसकेपछि सिधै होम क्वारेन्टाइनमा जानसक्ने दूतावासले जानकारी गराएको छ ।

यूएईमा प्रायजसो क्लिनिकहरुले ३७० दिराममा पिसिआर टेस्ट गरिरहेको एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले बताए ।

सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि अहिलेसम्म यूएईबाट १८ सय ८९ जना नेपाली स्वदेश फर्किसकेको छन् ।
दूतावासका अनुसार समस्यामा परेका नेपालीको ‘उद्धार’ उडान अन्तर्गत जुन १९ देखि २७ तारिख शनिबारसम्म विभिन्न एअरलाइन्सका ११ वटा चार्टर्ड जहाजमार्फत उनीहरु स्वदेश फर्किएका हुन ।

कोरोनाका कारण समस्या परेको भन्दै यूएईबाट थप १५ हजार ३ सय ५ जना नेपालले स्वदेश फर्कनको लागि आबुधावीमा रहेको दूतावासमा आवेदन दिएका छन् । समस्यामा परेका नेपाली फर्काउन थप उडानको क्रम जारी रहेको दूतावासले जनाएको छ ।

यूएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुबई र एयर अरबियाले काठमाडौँ उडानका लागि अनुमति पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *