स्वदेश फिर्ती : मंगलबार १५ सय १९ नेपाली स्वदेश फर्किए, ११ मृतक नेपालीकाे शव पनि ल्याइयो

डिसी नेपाल
१६ असार २०७७ १९:२१

काठमाडौँ । मंगलबार विभिन्न देशबाट ‘उद्धार’ उडानमार्फत १ हजार ५ सय १९ जना नेपाली स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कुवेतबाट नेपाल एअरलाइन्सको उडानमार्फत १४९ जना, यूएईको दुबईबाट नेपाल एयलाइन्सको उडानमार्फत एक बच्चासहित २६२ जना, नेपाल एयरलाइन्सकै उडानमार्फत मलेसियाको क्वलालम्पुरबाट १४६ जना, कतारको दोहाबाट २६२ जना, हिमालय एयरलाइन्सको उडानमार्फत साउदीको दमामबाट १५३ जना, कतार एयरवेजको उडानमार्फत दोहा हुँदै विभिन्न देशबाट २२५ र कुवेतबाट जजिरा एयरमार्फत आममाफी पाएका ३२२ जना नेपाली मंगलबार काठमाडौँ आइपुगेका हुन् ।

त्यस्तै मंगलबार वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले लकडाउनकै समयमा कतार र यूएईमा ज्यान गुमाएका ११ मृतक नेपालीको शव पनि ल्याइएकाे छ । नेपाल एयरलाइन्सले कतारबाट १०  शव र यूएईबाट १ नेपालीको शव ल्याएको हो ।

विमानस्थल कायार्लयका अनुसार मंगलबार कतार एयरवेजको उडानमाफर्त ९ बच्चासहित २४६ यात्रु दोहा हुँदै विभिन्न देशका लागि बाहिरिएका छन् ।

सरकारले कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विभिन्न मुलुकमा रहेका नेपाली कामदार स्वदेश फर्किने क्रम जारी छ। बुधबार पनि विभिन्न देशबाट अलपत्र नेपाली फर्कदैँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *