इटालीमा एक २८ वर्षीय नेपाली युवकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

डिसी नेपाल
१७ असार २०७७ ९:३५

मिलान । इटालीमा एक नेपाली युवकको नदीमा डुबेर ज्यान गएको छ । इन्द्रावती गाउँपालिका–४ सिन्धुपाल्चोक स्थायी घर भएका २८ वर्षीय किरण खरेलको पाभिया शहरमा रहेको तिसिनो नदीमा डुबेर ज्यान गएको एनआरएनए इटालीले जनाएको छ ।

उनी तिसिनो नदीमा सोमबार दिउँसो १ बजे पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएपछि उनीसँगै गएका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए। उद्धारकर्मी तथा प्रहरीले दिउँसो ३ बजे नदीको किनारमा किरणको शव भेटाएको एनआरएनएनए इटालीका उपाध्यक्ष छबिलाल कंडेलले डिसी नेपाललाई जानकारी दिए।

मृतक खरेल विगत ४ वर्षदेखि इटालीको मिलान शहरमा बस्दै आएका थिए। उनी सोमबार मिलान शहरबाट करिब ४० किमि टाढा पाभिया शहरमा वकिललाई भेट्न गएको बताइएको छ । उनीसँग अन्य तीन जना साथीहरु पनि गएका थिए ।

पाभियाको तिसिनो नदीको किनारमा साथीहरुसँगै बसिरहेको अवस्थामा उनी आफूलाई गर्मी भएको भन्दै नदीमा पौडी खेल्न गएका थिए । जानकारी अनुसार किरणलाई उनका साथीहरुले केहीबेरमा सबै जनासँगै पौडी खेलौँला भन्दै नजान आग्रह गरेका थिए । तर, किरणले आफूलाई अत्याधिक गर्मी भएको बताउँदै साथीहरुलाई एकछिनपछि खेल्न आउनु भनेर एक्लै पानीमा गएका थिए ।

किरण पौडी खेलिरहँदा साथीहरु बाहिर कुराकानी गरेर बसिरहेका थिए । पौडी खेलिरहेका उनी एक्कासी बेपत्ता भएभएपछि साथीहरु अत्तालिएका थिए । लगत्तै उनीहरुले प्रहरी तथा उद्धारकर्मीलाई खवर गरेका थिए ।

अहिले उनको शव पोस्टमार्टमका लागि पाभियास्थित सान मातियो अस्पतालमा राखिएको छ । घटना क्रमको प्रारम्भिक रिपोर्ट अनुसार डुबेर मृत्यु भएको अनुमान गरिएको हो । पोस्टमार्टम रिपोर्ट आएपछि घटानाबारेमा थप जानकारी हुने उपाध्यक्ष कंडेलले बताए । रिपोर्ट आउन तीन दिनको समय लाग्ने अस्पातालले बताएको उनले जानकारी दिए।

मृतक खरेल मिलानमा रहेको स्टारबक्स रिजर्भ कफिशपमा काम गर्थे । घटना बारेमा स्वर्गीय खरेलको नेपालमा रहेको परिवार , स्विजरल्याण्डस्थित नेपाली दूतावास  तथा नेपाली कन्सुलेट रोमलाई जानकारी गराइसकिएको कंडेलको भनाइ छ ।

मृतक किरणको अन्तिम दाहसंस्कार इटालीमा गर्ने वा नेपाल पठाउने भन्ने सन्दर्भमा परिवारको निर्णय अनुसार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *