ओमनबाट काठमाडौँका लागि तेस्रो ‘उद्धार’ उडान तय, १८० नेपालीलाई ल्याइँदै

डिसी नेपाल
१७ असार २०७७ २१:१०

काठमाण्डौँ । । ओमनबाट काठमाडौँका लागि थप उडानको तय भएको छ । मस्कटबाट १० जुलाइमा सलाम एयरले काठमाडौँका लागि उडान भर्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

कोरोना भाइरसको कारण ओमनमा समस्यामा परेका नेपालीहरुलाई फर्काउनका लागि गर्न लागिएकाे  यो तेस्रो चार्टर उडान हो । यसअघि सलाम एयरकै २ वटा उडानमार्फत ३११ नेपाली स्वदेश फर्किसकेका छन् ।

सो चार्टर उडानका लागि सेवा प्रदायक कम्पनी सलाम एयरले ११५ ओमनी रियल (नेपाली करिब ३६ हजार १ सय) भाडा तोकेको छ। जुन नेपाल सरकारले तोकेको भाडादर भन्दा निकै सस्तो हो । सरकारले ओमनबाट फर्किन ६१ हजार रुपैयाँ भाडा दर तोकेको थियो ।

तेस्रो उडानको सूचीमा दूतावासले प्राथामिकताको आधारमा १८० जनाकाे नाम सार्वजानिक गरेको छ । सो उडानमा फर्कने नेपालीले २० केजी बराबरको लगेज र ७ केजीसम्मको ह्याण्ड ब्याग ल्याउन पाउने दूतावासले जनाएको छ ।

नेपाल सरकारको मापदण्ड अनुसार स्वदेश फर्कन चाहने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने भएकाले सूचीमा परेका नेपालीलाई ४ जुलाइमा नै आफूलाई पायक पर्ने ठाउँमा पीसीआर जाँच गराउन दूतावासले अनुरोध गरेको छ।

कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि यात्रुले हवाई टिकटका लागि सलाम एयरको कलसेन्टर २४२७२२२२ मा सम्पर्क गर्नसक्नेछन् । पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आइसकेपछि सिधै होम क्वारेन्टिनमा बस्न पाउने दूतावासले जनाएको छ ।

थप कुनै सहयोग चाहिएमा दूतावासमा ७१५९२४९० मा फोन गर्न सकिने बताइएको छ । चौथो उडानको तयारी पनि भइरहेको जनाउँदौ उडान तालिकाको मितिबारे छिट्टै जानकारी गराइने दूतावासले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *