साउदीमा २०४ अवैधानिक नेपालीले पाए वहिर्गमन भिसा

डिसी नेपाल
१९ असार २०७७ ०:१९

काठमाडौँ । साउदी अरबमा २०४ अवैधानिक नेपालीले वहिर्गमन भिसा पाएका छन् । वहिर्गमन भिसाको लागि गएकाे पौष, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये २०४ जनाको भिसा प्राप्त भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका  थिए । स्वदेश फर्कन उनीहरूलाई समस्या परेको थियो ।  यस्ता नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने वहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको थियो । अनुरोधपछि साउदी सरकारले वहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।

वहिर्गमन भिसाका लागि विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण दूतावासले केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको थियो । तर, कोरोना संक्रमणका कारण अवरूद्ध थियो । यो प्रकृया क्रमशः शुरु भइरहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यो प्रकृया थालनीपछि साउदी सरकारले थप ६९ जना नेपालीहरुलाई वहिर्गमन भिसा जारी गरेको छ । यसअघि नै १३५ जनाले भिसा प्राप्त गरिसकेका थिए ।

यसरीवहिर्गमन भिसा प्राप्त गरेकाहरु भिसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने दूतावासले बताएको छ । भिसा प्राप्त गरेकाहरूलाई आगामी हफ्ता रियाद तथा दम्मामबाट उडानहरु हुने भएकाले यी उडानबाट स्वदेश फर्कने तयारी गर्नसमेत दूतावासले सुझाएको छ ।

वहिर्गमन भिसाका लागि आवेदन दिन बांकी रहेका साउदी आवासीय अनुमतिपत्र (अकामा) नभएका, हुरूप लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने दूतावासको भनाइ छ । यो विषयमा नेपाली राजदूतावासको फेसबुक पेज नियमित हेर्न समेत दूतावासले अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *