विपद् जोखिम न्यूनीकरणमा तयार रहन निर्देशन

डिसी नेपाल
२९ असार २०७७ २०:२५

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तयार रहन निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा उनले अबको तीन महिना विपद् प्रतिकार्यमा केन्द्रित हुन विभागीय मन्त्रालयसहित सुरक्षा निकायलाई निर्देशन दिएका हुन्। विपद्को घटना जानकारी पाउने बित्तिकै प्रभावकारी रुपमा उद्धार कार्यमा लाग्न निर्देशन शाहीले दिए। वर्षायामको शुरुआतसँगै बाढी, पहिरो, डुबान, सडक अवरोधलगायतका विपद्का घटना बढ्न थालेका बताउँदै उनले उच्च सतर्कता र प्रतिकार्यको तयारीमा रहनुपर्ने धारणा राखे।

उद्धार कार्यका लागि जनपद प्रहरीको नेतृत्वमा हरेक स्थानीय तहमा उद्धार टोली निर्माण गरी सक्रिय बनाउन, उद्धार कार्यका लागि आवश्यक सामग्रीको व्यवस्था मिलाउन, विपद् प्रभावित समुदायका लागि खाद्यान्न, लत्ताकपडालगायतका बन्दोबस्तीका सामग्री व्यवस्थापन गर्नसमेत बैठकमा मुख्यमन्त्री शाहीले निर्देशन दिए।

मातहत तथा सम्बद्ध निकायलाई उनले भने, “उद्धार तथा उपचारका लागि यातायात पहुँच भएका क्षेत्रमा एम्बुलेन्स र पहुँच नभएका क्षेत्रका लागि हेलिकप्टर तयारी अवस्थामा राख्नुस्, जोखिमयुक्त क्षेत्रको पहिचान गरी त्यस्तो ठाउँमा बसोबास गरिरहेका नागरिकहरुको अस्थायी रुपमा भए पनि बसाइ सार्ने प्रबन्ध मिलाउने कामलाई तदरुकताका साथ अघि बढाउनुस् ।”

उनले पहिराका कारण सडक अवरुद्ध हुन नदिन र सडक अवरोध हटाउन निश्चित दूरीमा पायक पर्ने गरी स्काभेटर तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए। खाद्य सङ्कट हुन नदिन तथा आपत्कालीन अवस्थाका नागरिकलाई खाद्य आपूर्तिका लागि हरेक जिल्लामा खाद्यान्न भण्डार गर्न र विपद् प्रतिकार्यमा प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, दातृ निकायलगायतको एकीकृत प्रयास हुनुपर्ने उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *