भलिबल खेलाडी प्रतिभालाई उपचारका लागि दुई लाख सहयोग
काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले भलिबल खेलाडी प्रतिभा मालीलाई उपचारका लागि रु दुई लाख सहयोग गरेको छ । लामो समयदेखि चोटील बनेकी मालीलाई सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, पूर्वअध्यक्ष दीपक विष्ट र १३औँ सागकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले सोमबार सहयोग हस्तान्तरण गरेका हुन् ।
नेपाल भलिबल सङ्घले आयोजना गरेको पाँचौँ संस्करणको राष्ट्रिय वाणिज्य बैंक एनभीए कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल्ने क्रममा माली गत वर्ष माघ १० गते घाइते भएकी थिइन्। उनको घुँडामा चोट लागेको थियो । प्रतिभा घुँडाको शल्यक्रियापछि थेरापी गर्दै आएकी छन्। चोटकै कारण उनले प्रतियोगितामा भाग लिन सकेकी छैनन्। आर्थिक अभाव भएपछि सङ्घले आफ्नो खेलाडी अक्षय कोषबाट सो सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए।
यसअघि प्रतिभालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपचारका लागि रु पाँच लाख तथा नेपाल भलिबल सङ्घका पदाधिकारीले रु दुई लाख सहयोग गरेका थिए । प्रतिभाकै उत्कृष्ट खेल प्रदर्शनकै कारण नेपालले बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक तथा गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद ९साग०मा रजत पदक प्राप्त गरेको थियो ।
Facebook Comment