विश्वकप क्रिकेट लिग दुई र यु–१९ विश्वकप क्षेत्रीय छनौट डिभिजन दुई स्थगित

डिसी नेपाल
८ साउन २०७७ २३:५१

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बिहीबार कोविड १९ माहामारीका कारण यस वर्ष हुने अन्य दुई छनौट क्रिकेट प्रतियोगिताहरु स्थगित गरेको छ ।

आईसीसीले सेप्टेम्बरमा नामिबियामा हुने पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता र तान्जानियामा हुने अण्डर १९ क्रिकेट विश्वकप क्षेत्रीय छनौट डिभिजन दुई स्थगित गरेको हो।

आईसीसीका अनुसार नामिबियामा हुने वर्ल्ड कप लिग–२ प्रतियोगिता विश्वकप २०२३ छनौटको हिस्सा रहेको थियो। प्रतियोगितामा नामिबिया, पापुआन्यूगीनी र अमेरिकाको सहभागिता रहेको छ । अण्डर १९ विश्वकप क्षेत्रीय छनौट डिभिजन दुई तान्जानियामा अगस्त ७ देखि १४ सम्म हुने र प्रतियोगितामा बोत्सवाना, केन्या, मोजाम्बिक, रुवाण्डा, सियरा लियोन र मेजबान देशले सहभागिता जनाउने कार्यक्रम रहेको थियो ।

आईसीसीका अनुसार आईसीसीको पहिलो प्राथमिकता भनेको खेलाडी, प्रशिक्षक, अधिकारी, प्रशंसक र सम्पूर्ण क्रिकेट समुदायको सुरक्षा हो। आईसीसीका प्रतियोगिता प्रमुख क्रिस टेटलेले भने, “वर्तमान समयमा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध लगायतका विश्वव्यापी स्वास्थ्य सरोकारहरू महत्त्वपूर्ण छन् र कोविड १९ को बिषयलाई लिएर हामीले सम्बन्धीत सरकार र जनस्वास्थ्य संस्थाहरूको सल्लाह तथा हामीले आफ्ना सदस्य राष्ट्रहरूको सल्लाहमा दुई अन्य प्रतियोगिताहरु पनि स्थगित गर्ने निर्णय गरेका हौं ।”

आईसीसीका अनुसार डिसेम्बर १ देखि ९ सम्म थाईल्यान्डमा हुने अण्डर १९ विश्वकप क्षेत्रीय क्वालिफायर डिभिजन दुई एशियाको खेलहरूको बारेमा पनि समीक्षा गरिनेछ। कोरेना भाइरस महामारीको कारण आईसीसीले सोमबार अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टि २० विश्वकप स्थगित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *