कोरोना भ्याक्सिनको सबै क्लिनिकल ट्रायल सफल, यही हप्ता प्रयोगको अनुमति दिइँदै !

डिसी नेपाल
१८ साउन २०७७ १२:५८

काठमाडौं। रुसको स्वास्थ्य मन्त्रालयले ठूलो परिमाणमा कोरोनाभाइरसविरुद्ध खोप अभियान चलाउने तयारी गरेको छ । रुसले विकास गरेको कोरोनाभाइरस विरुद्धको भ्याक्सिनले सबै क्लिनिकल ट्रायल पूरा गरेपछि शनिबार स्थानीय समाचार एजेन्सीले दिएको जानकारीअनुसार अक्टोबर महिनाको लागि ‘मास भ्याक्सिनेसन’को तयारी गरिएको छ ।

इन्टरफ्याक्स समाचार एजेन्सीलाई उद्धृत गर्दै अर्को समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको रिपोर्टअनुसार रुसको सरकारी स्वामित्वको गेमालेया इन्स्टिच्युटले विकसित गरेको भ्याक्सिनको सबै क्लिनिकल ट्रायल पूरा भइसकेको र यसलाई दर्ता र स्वीकृतिको लागि कागजी काम भइरहेको त्यहाँका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले जनाएका छन् । स्वास्थ्यमन्त्री मुराश्कोका अनुसार सबैभन्दा पहिले डाक्टरहरु र शिक्षकहरुलाई भ्याक्सिन दिइनेछ ।

‘हामीले ठूलो परिमाणको खोप अभियान अक्टोबरको महिनादेखि संचालन गर्ने योजना बनाएका छौं’ मुराश्कोले भने । रोयटर्सलाई एक स्रोतले बताएअनुसार रुसको पहिलो कोभिड १९ भ्याक्निले स्थानीय नियामक निकायको स्वीकृति अगष्टमै पाउनेछ । गेमालेया इन्स्टिच्युटले एडेनोभाइरसमा आधारित भ्याक्सिनमा काम गरिरहेको छ । यद्यपि रुसले जुन तीव्र गतिमा भ्याक्सिन विकास गरेको छ यसमाथि केही पश्चिमा मिडियाले प्रश्न पनि उठाएका छन् । उनीहरुले रुसले विज्ञान र सुरक्षा भन्दा पनि देशको इज्जतलाई प्राथमिकता दिएको उनीहरुको आशंका छ ।

रसियन डाइरेक्ट इन्भेस्ट फण्डका प्रमुख किरिल दिमित्रिभले भ्याक्सिन विकासमा रुसको सफलता भनेको १९५७ मा सोभियत संघले पहिलो स्याटेलाइट स्पुतनिक १ लञ्च गर्नुजस्तै भएको बताएका छन् । अहिले विश्वभर सयभन्दा बढी सम्भावित भ्याक्सिनमा काम भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार तीमध्ये कम्तीमा ४ भ्याक्सिन ट्रायलको तेस्रो र अन्तिम फेजमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *