रुसको भ्याक्सिनबारे विश्वका वैज्ञानिकहरुको धारणा के छ ? डब्लुएचओले के भन्यो ?

डिसी नेपाल
२८ साउन २०७७ १३:५६

काठमाडौं। रुसले मंगलबार विश्वकै पहिलो कोरोना भ्याक्सिनलाई स्वीकृति दिएको छ । राष्ट्रपति भ्यादिमिर पुटिनले मंगलबार भ्याक्सिनले स्वीकृति पाएको घोषणा गरे । तर, विश्वभरका वैज्ञानिकहरुले भने रुसको यो कदमको आलोचना गरेका छन् । विज्ञहरुले रुसको कदमलाई ‘लापरवाही र मूर्खतापूर्ण’ भएको टिप्पणी गरेका छन् । वैज्ञानिकहरुले यो भ्याक्सिनको राम्रो जाँच नगर्ने हो भने ठूलो जनसंख्यालाई यो भ्याक्सिनले नकारात्मक प्रभाव पार्ने बताएका छन् ।

बेलायती अखबार मेट्रोका अनुसार युनिभर्सिटी कलेज लण्डनका बायोलोजिस्ट प्रोफेसर फ्रांकोइस बेलुक्सले रुसको कदमलाई लापरवाही र मूर्खतापूर्ण भएको टिप्पणी गरे । रुसको भ्याक्सिनले ठूलो जनसंख्यामा नकारात्मक प्रभाव पार्ने र मानिसमा भ्याक्सिनको स्वीकार्यता घट्ने उनले बताए । साउथह्याम्पटन युनिभर्सिटीमा ग्लोबल हेल्थ रिसर्चर मिशेल हेडले रुसी भ्याक्सिन वास्तवमा कस्तो छ भन्ने प्रस्ट नभएको बताउँदै कुनै पनि भ्याक्सिन अभियान सुरु गर्नुभन्दा पहिले पूर्ण जानकारी सार्वजनिक गर्नु जरुरी हुने बताए ।

नटिंघम युनिभर्सिटीका प्रोफेसर र महामारी विशेषज्ञ कीथ निलले केही व्यक्तिमा गरिएको टेस्टले भ्याक्सिन सुरक्षित भएको थाहा भए पनि संक्रमणबाट बचाउँछ कि बचाउँदैन भन्ने निश्चित गर्न ठूलो संख्यामा परीक्षण हुनु जरुरी भएको बताए । लण्डनको इम्पेरियल कलेजका इम्युनोलोजीका प्रोफेसर डेनी एल्टम्यानले भ्याक्सिन सुरक्षित र प्रभावकारी नभए अहिलेको समस्या झनै बढ्ने बताए । वारविक बिजनेस स्कुलका ड्रग रिसर्च स्पेशलिस्ट आइफर अलीले भ्याक्सिन छिटो स्कीकृति दिन यसका साइड इफेक्टलाई बेवास्ता गरिएको बताए ।

रुसले भ्याक्सिनलाई स्वीकृति दिएसँगै विश्व स्वास्थ्य संगठनले रुसको भ्याक्सिनको उत्पादन तत्काल सुरु नगर्न भनेको छ । डब्लुएचओले फेज २ र फेज ३ ट्रायल पूरा हुनुभन्दा पहिले उत्पादन सुरु गर्नु अनुचित हुने बताएको छ । रोयटर्सका अनुसार डब्लुएचकोको क्षेत्रीय शाखा प्यान अमेरिकन हेल्थ अर्गनाइजेशनका असिस्टेन्ट डाइरेक्टर जरबास बारबोसाले डब्लुएचओलाई यो भ्याक्सिनको पर्याप्त जानकारी नपठाइएकोले भ्याक्स्निको मूल्यांकन गर्न नसकिएको बताए । उनले भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको ग्यारेन्टी हुनु जरुरी भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *