दुबई एयरपोर्टमा अलपत्र नेपालीले संरक्षण पाए तर पर्सीसम्म उद्धार नभए दैनिक जरिवाना थपिने

बिनेश खनाल
४ भदौ २०७७ १४:२६

काठमाडौँ । यूएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका ८ जना नेपाली युवाले संरक्षण पाएका छन् । स्वदेश फर्किन विमानस्थलमा पुगेका उनीहरु नेपाल सरकारले अकस्मात चार्टर्ड उडान रद्द गरेपछि अलपत्र परेका थिए। उनीहरुलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएईले संरक्षण दिएको हो ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपालमा कोरोनाको संक्रमण बढिरहेको र विदेशबाट फर्किनेहरुका लागि आवश्यक क्वारेन्टिनको व्यवस्था भइनसकेको भन्दै सरकारलाई उडानहरु रद्द गर्न सिफारिस गरेको थियो । अन्तिम समयमा उडान रद्द भएपछि चितवनका बासुदेब चौलागाईँ, उदयपुरका नरमान राई, बाराका गणेश ढुंगाना, रुपन्देहीका उमाकान्त पाण्डे, कञ्चनपुरका लक्ष्मण चौधरी, रोल्पाका विशाल घर्तीमगर र बाँकेका शशी रोका विमानस्थलमा अलपत्र परेका थिए ।

कम्पनीबाट फाइनल आउट भएर विमानस्थल पुगेका उनीहरुको फर्केर जाने ठाउँ थिएन । उनीहरु सबैजना आबुधाबीमा रहेको एडभान्स सिल्भर स्टार कम्पनीमा काम गर्थे । विगत ६ महिनादेखि कम्पनीको काम ठप्प भएपछि रोजगारविहीन भएका उनीहरुसँग पैसा समेत थिएन ।

उनीहरु ८ जनासहित २६२ नेपाली ल्याउन दुबईको अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको नेपाल एयरलाइन्सकाे जहाज रित्तै काठमाडौं फर्केको थियो । जहाजले यात्रु नबोकी रित्तै फर्किने भएपछि आफ्नो बस्ने ठाउँ भएकाहरु भने विमानस्थलबाट फर्केका थिए । फर्किने विकल्प नभएका ८ जना भने विमानस्थलमै बसेका थिए ।

जहाजले आफूहरुलाई नलगी रित्तै उडेपछि उनीहरुले आफ्नो समस्या नेपाल एयरलाइन्सका प्रतिनिधिहरु समक्ष राखेका थिए । तर, एयरलाइन्सका प्रतिनिधिहरुले यसमा एयरलाइन्स जिम्मेवार नहुने जवाफ दिए । सरकारको कारणले गर्दा उडान रद्द भएकोले एयरलाइन्सको अन्तर्राष्ट्रिय मापदण्ड त्यसमा लागू नहुने एयरलाइन्स प्रतिनिधिको जवाफ थियो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुनै पनि उडान रद्द भएमा अर्काे उडान नहुन्जेल यात्रुको खाने बस्ने जिम्मेवारी सम्बन्धित एयरलाइन्स कम्पनीको नै हुने गर्छ ।

खाने बस्ने टुंगो नभएर विमानस्थलमै अलपत्र परेका उनीहरुलाई त्यहाँबाट आफूहरुले उद्धार गरेको एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले डिसी नेपाललाई जानकारी दिए । उनका अनुसार उनीहरुलाई अहिले बर–दुबईमा राखिएको छ ।

उनीहरु सबैको भिसा सकिइसकेको छ । काम ठप्प भएपछि कम्पनीले भिसा नवीकरण गरेको थिएन । यसअघि कम्पनीले सबैजनाको ६ महिना ओभर स्टे भएको फाइन तिरिदिएको थियो । त्यो अवधिमा पनि उनीहरु स्वदेश फर्किन सकेनन् । फेरि कम्पनीले २ पटकसम्म सय/सय दिराम तिरेर दुई हप्ताको फाइन भरेको थियो । अब उनीहरु २२ अगष्टसम्म फर्किसके भने थप जरिवाना भर्नु पर्दैन । त्यसभन्दा बढी बस्नु परेमा दैनिक जरिवानाको रकम बढ्दै जान्छ ।

उपाध्यक्ष शेर्पाका अनुसार २३ अगष्टमै उनीहरुको प्रत्तिव्यक्ति २८७ दिराम ओभरस्टे फाइन लाग्छ । त्यसपछि प्रतिदिन प्रतिव्यक्ति ३५ दिरामका दरलले जरिवानाको रकम बढ्दै जान्छ । उनीहरुलाई चाँडोभन्दा चाँडो उद्धार गर्नुको विकल्प नभएको शेर्पाको भनाइ छ । समयमै नेपाल फर्काउन नसके समस्या जटिल बन्ने उनले बताए । उडान सुरु भएपछि उनीहरुले अर्को टिकट भने काट्नु पर्दैन । रद्द भएको उडानकै टिकटले उनीहरु नेपाल फर्किन पाउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *