विदेशमा कोरोनाबाट १९२ नेपालीको ज्यान गयो, ३२ हजार २ सय ५३ संक्रमणमुक्त

डिसी नेपाल
७ भदौ २०७७ १२:५५

काठमाडौं । कोरोनाको संक्रमणबाट विदेशमा थप एक नेपालीको ज्यान गएको छ । यो साता लग्जेम्बर्गमा थप १ जना नेपालीको कोरोनाका कारण ज्यान गएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा १९२ जना नेपालीहरुको निधन भएको छ ।

उनका अनुसार यो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायतका देशमा कोरोना संक्रमणमा सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भइसकेको उनले बताए । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजग रहन आग्रह समेत संयोजक सापकोटाले गरेका छन् ।

कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।

हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको सापकोटाले जानकारीले दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *