दुबईमा नेपाली युवाको करेन्ट लागेर मृत्यु

डिसी नेपाल
७ भदौ २०७७ १६:४५

काठमाडौं । रोजगारीका लागि यूएईको दुबई पुगेका एक नेपाली युवाको करेन्ट लागेर मृत्यु भएको छ । दुबईको रशिदियामा रहेको अल वार्का स्टिल तथा आल्मुनियम कम्पनीमा कार्यरत रुपन्देही–११ मझुवाका ३० वर्षीय कृष्णबहादुर खड्काको करेन्ट लागेर ज्यान गएको हो।

रुपन्देहीबाट मृतकका भाइ रुद्रबहादुर खडकाले डिसी नेपाललाई दिएको जानकारी अनुसार कृष्ण्बहादुरको गत ६ अगष्टमा ( साउन २२ गते) कम्पनीमा काम गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो । ‘घटना आजभन्दा १७ दिनअघि बिहीबारका दिन भएको रहेछ । हामीले शुक्रबार मात्रै थाहा पाएका थियौँ । वेल्डिङ्क मेशिनबाट करेन्ट लागेको रहेछ,’ उनले भने । परिवारलाई उनकै दुबईमा बस्ने दिदिले जानकारी गराएकी थिइन् ।

दूतावासलाई प्रहरीले दिएको पोस्टमार्टम रिपोर्टमा पनि कृष्णबहादुरको मृत्यु करेन्ट लागेर नै भएको देखिएको उनले बताए ।

उनका अनुसार कृष्णबहादुर गएको जनवरीमा यूएई गएका थिए । यसअघि उनी मलेसियामा रोजगारी गर्थे । उनी आफ्नै दिदी मञ्जु खड्कासँग भिजिट भिसामा यूएई पुगेका थिए ।

भाइ रद्रबहादुरका अनुसार कृष्णबहादुरकी २ महिनाकी छोरी छन्। उनी छोरी गर्भमा रहेको बेला यूएई गएको उनले बताए । परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकै कारण दाई रोजगारीको लागि यूएई गएको उनको भनाइ छ । ‘दाईको घटना हुने बेला छोरी ५० दिनकी मात्रै पुगेकी थिइन् । छाेरीकाे मुख समेत हेर्न पाउनु भएन। परिवारको खुशीको लागि विदेश जानु भएका उहाँकै दुःखद घटना भएपछि परिवारमा बज्रपात परेको छ । आर्थिक अवस्था अति नै कमजोर छ । काजक्रिया गर्ने समेत घरमा पैसा छैन,’ रुद्रबहादुरले घरको दुःख सुनाए ।

दाई कृष्णबहादुरको शव आजै (आइतबार) काठमाडौं ल्याउन लागिएको उनले बताए । कोरोनाका कारण यूएईमा समस्यामा परेका नेपाली ल्याउन दुबई गएको नेपाल एयरलाइन्सको चार्टर्ड जहाजमा उनको शव ल्याउन लागिएको हो। शव नेपाल पठाउने खर्च कम्पनीले नै व्यवस्था गरिदिएको हो ।

उनको शव काठमाडौं विमानस्थलबाट घरसम्म लैजान प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले गाडीको व्यवस्था गर्ने भएको छ । श्रम स्वीकृति नलिइ भिजिट भिसामा उनी यूएई पुगेकोले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले शव घरसम्म लैजाने व्यवस्था गरेको थिएन।

परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएपछि सहयोगार्थ रुपन्देही तथा पाल्पाली सेवा यूएईको संयोजनमा यूएईमा राहत रकम संकलन समेत गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *