दक्षिण कोरियामा सम्भावित नेपाली जसबहादुर पुनको शव सनाखत नहुँदा अस्पतालमा अलपत्र

डिसी नेपाल
८ भदौ २०७७ १२:२२

काठमाडौँ । दक्षिण कोरियामा जसबहादुर पुन नाम गरेका एक सम्भावित नेपालीको शव सनाखत हुन नसक्दा अस्पतालमै अलपत्र परेको छ । सनाखत हुन नसकेर अस्पतालमै शव बेवारिसे अवस्थामा परेपछि नामको आधारमा उनी नेपाली हुनसक्ने अनुमानमा एनआरएनए दक्षिण कोरियाले मृतकको शवको फोटो सार्वजानिक गरेको छ ।

एनआरएनए दक्षिण कोरियाका अनुसार कोरियाको थेजनस्थित चुङनाम नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको थियो । अस्पतालको रेकर्डमा उनको नाम जस बहादुर पुन रहेको बताइएको छ ।

तर, राहदानीलगायत कुनैपनि कागजात प्राप्त नहुँदा उनी नेपाली नै भएको वा नेपाली मूलका अन्य देशका नागरिक भएको भन्ने विषयमा यकिन हुन नसकेको संघले जनाएको छ । शवको पहिचान नभएपछि एनआरएनएले फोटो सार्वजनिक गरेको छ । शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको एनआरएनएले जनाएको छ ।

‘नेपालस्थित घर ठेगाना र आफन्तहरु तथा परिवारसँग सम्पर्क हुन नसकेको कारण निजको शव अस्पतालमै वेवारिसे भएको हुँदा निजको सनाखत गर्ने उद्देश्यका साथ नेपाली राजदूतवास सौलका श्रम काउन्सिलरको अनुरोधमा यो सूचना सार्बजनिक गरिएको हो,’ एनआरएनएले तस्वीर सहित सार्वजनिक गरेको सूचनामा लेखिएको छ ।

तस्वीरमा रहेका व्यक्तिको सम्बन्धमा कुनै जानकारी भए एनआरएनए कोरिया वा नेपाली राजदूतवास सौलमा खबर गर्न समेत संघले सबैसँग आग्रह गरेको छ । संघले बेवारिसे शवलाई आफन्तसम्म पुर्याउनको लागि बाध्यतावश स्वीकृति बिना फोटो सार्बजनिक गर्नु परेकोमा दुःख व्यक्त गर्दे माफी समेत मागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *