ओमनमा आवासीय भवन बनाउँदै नेपाल, जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर

डिसी नेपाल
९ भदौ २०७७ १७:३५

काठमाडौं। ओमनमा नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपालले जग्गा लिजमा लिएको छ । मंगलबार नेपाल सरकार र ‌ओमन सरकारबीच जग्गा प्राप्ति सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। ओमनको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौतामा हस्ताक्षर गरिएको ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले डिसी नेपाललाई जानकारी दिइन् ।

नेपाली दूतावास भएका देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम भएको हो।

ओमनको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त सम्झौता अनुरूप ओमनको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको ओमनका लागि नेपाली राजदूत पराजुलीले जानकारी दिइन्। उनले डिसी नेपालसँग भनिन्, ‘२० वर्षपछि आपसी सहमतिमा सम्झौताको अवधि बढाइने छ।’

हस्ताक्षर कार्यक्रमपश्चात् भएको छलफलमा परराष्ट्र सचिब मोहम्मद विन नासिरले नेपाल लगायत सम्पूर्ण मुलुकहरूसँग ओमनले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताए। उनले जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा नेपालसँग हस्ताक्षर भएकोमा बधाई दिँदै आगामी दिनमा समेत यस्तो सहकार्यका लागि ओमन सरकारको तर्फबाट प्रतिबद्धता जनाएका थिए।

सो अवसरमा नेपाल–ओमनबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानु पर्ने धारणा साटासाट गरेका थिए।

राजदूत पराजुलीले भनिन्–‘दूतावासको आफ्नै भवन हुनुले पनि ओमनलगायत समग्र खाडी क्षेत्रमा नेपालको दीर्घकालीन सम्बन्ध राख्न चाहेको सकारात्मक सन्देश जाने देखिन्छ।’ यसले खाडी क्षेत्रमा रहेका करीब १५ लाख नेपालीहरूको सुरक्षा तथा स्थायीत्वमा योगदान दिने समेत राजदूत पराजुलीको विश्वास छ।

यो सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास हुने दिशामा नेपाली दूतावास ओमन अघि बढ्नेछ। त्यसैगरी आफ्नै भवन हुँदा दूतावासको वर्षेनी घर भाडामा हुने खर्चमा व्यापक कटौती भई दिर्घकालिन रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुने राजदूत पराजुलीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *