एनआरएनएले नेपालमा घुम्ती रगत बस सेवा सञ्चालन गर्दै

डिसी नेपाल
११ भदौ २०७७ १७:५६

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा घुम्ती रगत बस सेवा सञ्चालन गर्ने भएको छ। गैरआवासीय नेपाली संघ रक्तसंचार समितिका संयोजक फणिन्द्र पन्तका अनुसार एनआरएनए आइसीसीले नेपालमा २ वटा घुम्ती रगत बसहरु सञ्चालन गर्न लागेको हो।

उनका अनुसार प्रदेश ३ मा रगतको आवश्यकता अत्यधिक हुने समस्यालाई मध्यनजर गर्दै संघले यो परियोजना ल्याएको हो। ‘एनआरएनए आसीसीले जीवन रक्षाका लागि नेपाललाई उपहार स्वरुप दुई वटा मोबाइल ब्लड बैंक प्रदान गर्ने निर्णय गरेको छ,’ नेदरल्याण्डबाट पन्तले डिसी नेपालसँग भने, ‘ यी मोबाइल ब्लड बैंक कोभिडको उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्रीसहित निर्माण गरिनेछ।’ उनका अनुसार संघले तत्कालै एउटा बस खरिदका लागि सम्झौता समेत गरेको छ।

संघले तत्कालै चितवनमा ब्लड बस सञ्चालनका लागि बस खरिद सम्झौता गएको ३० जुलाइमा गरिएको उनले बताए। जसको मुल्य ५६ लाख नेपाली रुपैयाँ रहेको छ । अर्को बस पनि छिट्टै खरिद गरिने उनको भनाइ छ।

चितवनमा सेवा सञ्चालनको लागि संघले नेपाल रेडक्रस सोसाइटी चितवनसँग सहकार्य गरेको छ। अब मौसम प्रतिकुलताको समयमा पनि रगत संकलन गर्न सकिनेछ। यसले रगतको संकलन तथा भण्डारणमा सहज बनाइ रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन मद्दत गर्ने एनआरएको अपेक्षा छ।

बसको भित्रि बनावट यस्तो हुनेछ

संघका अनुसार आगामी अक्टोबरमा उक्त मोबाइल ब्लड बैंक क्षेत्रीय रक्तसंचार सेवा भरतपुरलाई हस्तानतरण गरिनेछ ।

संघका महासचिव डा हेमराज शर्माका अनुसार यो परियोजनाको जिम्मेवारी सचिव गौरी राज जोशीलाई दिइएको छ। जोशीको संयोजकत्वमा आर्थिक संकलन कार्य भइरहेको शर्माको भनाइ छ।

अहिले नेपालमा रगतको माग बढे पनि आपूर्ति नबढेको संघका रक्तसञ्चार समितिका संयोजक पन्तको भनाइ छ। धेरै गर्मी र धेरै चिसोको बेलामा रक्तदान घट्ने गरेको छ। जसले गर्दा रगत नभइ नहुने थालासेमिया, हेमोफिलिया, किड्नी रोगी, हृदय रोग र रक्तक्यान्सर रोगीका लागि झन समस्या हुनेगर्छ । र,रगत नपाएर काठमाडौँमै रक्तसंचार सेवा लिनु पर्ने बाध्यता छ। यस्तो कठिन अवस्थामा संघले सञ्चालन गर्न लागेको मोबाइल ब्लड बैंक सेवा बिरामीहरुको जीवनरक्षार्थ कोसेढुंगा सावित हुने संयोजक पन्तको विश्वास छ।

संघले यो परियोजना सम्पन्न गर्नको लागि देशविदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्न समेत आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *