कोरोनाको संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु, साढे ३२ हजारभन्दा बढी संक्रमणमुक्त

डिसी नेपाल
१४ भदौ २०७७ १०:४७

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । यो साता बेलायतमा १ जना र यूएईमा २ जना नेपालीको ज्यान गएको एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले डिसी नेपाललाई जानकारी दिए ।

उनका अनुसार शनिवार साँझसम्म विदेशमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या १९५ छ । विदेशका विभिन्न १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका हुन् । बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायतका देशमा रहेका नेपालीहरुको कोरोनाको कारण ज्यान गएको हो ।

संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ )दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको उनले बताए ।

हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको उनले जानकारी दिए। शनिवारसम्म विदेशमा रहेका ३४ हजार ७०१ नेपालीमा कोरोना संक्रमण देखिएको पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३२ हजार ५११ जना संक्रमणमुक्त भएको स्वास्थ्य समितिको तथ्याङकले देखाएको छ ।

संक्रमणको जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सिमित संख्या र सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन् ।

डा. सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गर्नुभएको हो । कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उनले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउन आग्रह गरेका हुन्। आफुलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउनुपर्ने डा सापकोटाको भनाइ छ ।

मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगित सुन्न र योग तथा ध्यान गर्न समेत डा. सापकोटाले अनुरोध गरे । कोभिड–१९ विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना )जनवरी) भित्र सर्वसाधारणको लागि उपलव्ध हुने अपेक्षा गरिएको बताउँदै उनले सचेत र सावधान रही अघि बढ्न आग्रह गरेका छन् । कोरोना भाइरस विरुद्धको खोप जापान, अमेरिका, रुस, बेलायत, चीन, स्वीट्जरल्याण्डलगायतका देशमा तीव्र गतिमा उत्पादन र परिक्षणको प्रक्रिया अघि बढेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *