एनआरएनएको निर्णयप्रति कुल आचार्य असन्तुष्ट

बिनेश खनाल
१५ भदौ २०७७ १६:०५

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका सल्लाहाकार तथा निर्वतमान उपाध्यक्ष कुल आर्चायले संघको वर्तमान नेतृत्वले सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाएका छन्। संस्थागत परिवर्तनका लागि महत्वाकांक्षी निर्णय पारित भएको झुटो हल्ला फैलाएर चर्चा बटुल्न खोजेको भन्दै उनले असन्तृष्ट व्यक्त गरेका छन्।

शनिबार सम्पन्न आइसीसीको भर्चुअल बैठकले संघको सांगठनिक पुनर्संरचना तथा विधान संशोधनलगायत दूरगामी महत्व राख्ने प्रस्ताव पारित भएको एनआरएनएले जनाएको थियो। बैठकले निःशुल्क सदस्यता वितरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिषदको निर्वाचन प्रकृया, विद्युतीय मतदान, महाधिवेशन प्रतिनिधि चयनलगायतका क्षेत्रमा हुने पुनर्संरचना सम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको एनआरएनएका अध्यक्ष कुमार पन्त तथा महासचिव डा.हेमराज शर्माले बताएका थिए। यस बारेमा संघको आधिकारिक निर्णय नै प्रवक्ता मार्फत सार्वजानिक गरिएको थियो।

तर, आचार्यले हुँदै नभएको निर्णयसर्वसम्मतले पारित गरिएको भनेर आफू निकटका पत्रकार तथा संचारमाध्यम प्रयोग गरी भम्र फैलाइएको आरोप लगाएका छन्। ‘म अहिले संस्थाको नेतृत्वमा छैन। तर, मेरो एनआरएनएसँग लामो इतिहास जोडिएको छ,’ लण्डनबाट आचार्यले डिसी नेपालसँग फोनमा भने, ‘ संस्थामा नयाँ परिवर्तन ल्याउनुपर्छ भन्नेमा कसैको दुईमत रहने कुरा भएन। तर, निर्णय नै नभएका कुराहरु प्रचारबाजी गरेर वाहवाही कमाउन खोजेको देखियो। जिम्मेवार संस्था यसरी हल्का रुपमा प्रस्तुत हुनु कुनै पनि हिसाबले राम्रो होइन।’

तर अध्यक्ष पन्तले भने एनआरएनएको १७ वर्षे इतिहासमा अहिलेसम्मकै महत्वपूर्ण निर्णय पारित भएको दाबी गरेका छन्। संस्थागत सुधारको विषयको प्रस्ताव सकारात्मक भएकोले अधिकांशले समर्थन जनाएको पन्तको दाबी छ। तर, आचार्यले भने जिम्मेवारी संस्थाको नेतृत्व हाँक्ने व्यक्तिमा परिपक्वाता आवश्यक पर्ने भन्दै अध्यक्ष पन्तको कार्यशैलीमाथि नै प्रश्न उठाएका छन्।

संघले पारित गरेको उक्त प्रस्तावमाथि विशेष अध्ययन गर्न एक समिति बनाइएको छ। समितिले २ हप्ता भित्रमा त्यसको प्रतिवेदन तयार गर्ने बताइएको छ। तर, आचर्यले भने बैठकमा कुनै निर्णय नै नभएका कुराहरु बाहिर आएको बताएका छन्। अधिकाशं सदस्यहरुको सहमति बिना निर्णयहरु पारित हुनै नसक्ने उनको भनाइ छ। उनले छलफलमा उठेका विषयलाई निर्णय भएर पारित भयो भनेर प्रचार गरिएको आरोप लगाएका छन्।

निःशुल्क सदस्यता वितरण, एमआइएस सिस्टम, निर्वाचन प्रक्रियाको संरचना परिवर्तन, संस्थामा आर्थिक सुधारलगायतका विषयमा आफू सकारात्मक रहेको आचार्यले बताए। ‘संस्थागत सुधार हुनुपर्छ भन्नेमा कसैको पनि दुईमत हुन सक्दैन,’ आचार्यले भने, ‘तर हुँदै नभएका विषयलाई निर्णय भयो भनेर प्रचार गर्दा लामो इतिहास बोकेको संस्थामाथि नै प्रश्न चिन्ह खडा हुन्छ।’ सकारात्मक विषयलाई आफूले सधैं समर्थन गर्ने आचार्यको भनाइ थियो।

‘बाहिर आएका सबै विषय निर्णय नै भएको हो भने सकारात्मक हो। संस्थामा सुधार ल्याउन गरिएका निर्णयहरु जायज पनि छन्,’ उनले भने, ‘तर, त्यति ठूला निर्णयहरु गर्दा राष्ट्रिय समन्वय परिषदसँग समन्वय गरिएको देखिँदैन। अधिकाशं साथीहरुलाई निर्णय गरिएको भन्ने जानकारी समेत छैन। कमजोरी पक्षहरु थुप्रै देखिन्छन्।’

निर्णय नै नभएका विषयलाई बाहिर प्रचारबाजी गरेपछि अहिले अधिकाशं सदस्यहरु असन्तुष्ट रहेको उनले बताए। केही दिन अघि अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज शर्माले ७४ औँ बैठकका निर्णय भन्दै संचार माध्यमलाई दिएका प्रतिक्रियाप्रति असन्तुष्टि जनाउँदै ६६ जनाले अध्यक्ष समक्ष हस्ताक्षर बुझाएका छन्। यसरी असन्तुष्टी जनाउनेहरुमा उपाध्यक्ष मन केसी, महिला उपाध्यक्ष रविना थापा, महिला संयोजक भोमादेवी लिम्बू, युवा संयोजक हिमाल गुरुङलगायत क्षेत्रीय संयोजकहरुदेखि अन्तर्राष्ट्रिय परिषद सदस्यसम्म छन्।

उनीहरुले संस्थाको पुनर्संरचनाका एजेण्डामा सदस्य तथा पदाधिकारीबाट आएका सुझाव र आह्वानलाई तोडमोड गरी बाहिर ल्याइएको भन्दै असुन्तुष्टी जनाएका थिए। उनीहरुले यथार्थ विपरित बाहिर प्रचारबाजी गरिएको आरोप लगाएका थिए। तर, संस्थाको पुनर्संरचनाका लागि आफूहरु सकारात्मक रहेको उनीहरुको भनाइ थियो।

आउँदो चुनावमा आचार्य पुन: नेतृत्वका लागि भिड्ने !

एनआरएनएको नवौँ विश्व सम्मेलन गत अक्टुबरमा सम्पन्न भएको थियो। कुमार पन्तको नेतृत्वको कार्यकाल एक वर्ष पनि पूरा भएको छैन। नयाँ नेतृत्वले आफ्नो कार्यकालमा धेरै काम गर्ने भनेर कार्ययोजना सार्वजानिक गरेपनि ती पूरा गर्नेतर्फ नेतृत्वले ध्यान नदिएको आरोप लाग्ने गरेको छ।

त्यसमा पनि कोरोना भाइरस महामारीका कारण संघले राम्रोसँग काम गर्न समेत पाएको छैन। गत निर्वाचनमा संघको नेतृत्वका लागि तत्कालीन उपाध्यक्षद्वय पन्त र आचार्य चुनावी मैदानमा उत्रिएका थिए। चुनावी नतिजा पन्तको पोल्टामा परेको थियो। आचार्यलाई पन्तले २ सय भोटले पछि पार्दै अध्यक्षमा विजयी भएका थिए।

अहिले एनआरएनए वृत्तमा आगामी कार्यकालको नेतृत्वलाई लिएर चुनावी गाँइगुँइ शुरु भएको छ। धेरैले आचार्य आगामी कार्यकालको नेतृत्वका लागि चुनावी मैदानमा उत्रिने संकेत गरेका छन्। यसबारेमा डिसी नेपालले आचार्यलाई सोधेको थियो। उनले आफूले अहिले आगामी नेतृत्वका लागि सोचिनसकेको बताए। करिव डेढ वर्षपछि हुने निर्वाचनमा अहिले नै नेतृत्वका विषयमा चर्चा गर्नु स्वभाविक नहुने उनको भनाइ छ।

आचार्यले अहिलेको परिस्थिति ‘बाँचौं र बचाउँ, महामारीबाट जोगिउँ’ भन्ने रहेकोले सबै एकजुट हुनुको विकल्प नरहेको बताए। गैरआवासीय नेपाली संघ सिंगो रुपमा कोरोना विरुद्ध लड्न अहोरात्र खटिरहेकोमा उनले धन्यावाद व्यक्त गरे।

उनले अहिले नै चुनावी विषय बाहिर आउँदा कोभिड विरुद्धको अभियान नै प्रभावित हुने बताए। ‘अहिले कोरोना महामारीले विश्व आक्रान्त छ। हामी सबै मिलेर कोरोना विरुद्ध लड्नुको विकल्प छैन्,’ उनले भने, ‘अहिले आगामी कार्यकालको चुनावको विषयलाई लिएर कुरा गर्नु स्वभाविक हुँदैन। बस्ने, उठ्ने तपशीलका कुरा हुन्।’ उनले करोना संक्रमणको यो घडीमा एक आपसमा सहयोगको हात बढाउन आह्वान समेत गरे।

आचार्यले अहिले आफू सक्रिय कार्यकारी भूमिकामा नभएपनि गैरआवासीय नेपालीका मुद्दामा आफ्नो सक्रियता नघटेका बताए। ‘मेरो संघमा लामो इतिहास छ। म कहीँ हराएको छैन। गैरआवासीय नेपालीहरूका मुद्दालाई सशक्त रुपमा गति दिन सधैँ मेरो साथ र समर्थन रहने छ। समय र परिस्थितिले मागेको खण्डमा नेतृत्वको जिम्मेवारी सम्हाल्न फेरि आउन सकिन्छ। तर, अहिले नै यी सब विषयमा अल्झिनु उपयुक्त हुँदैन।’

उनले अहिलेको नेतृत्वमा पनि सक्षम व्यक्ति भएको हुँदा धेरै परिवर्तनको अपेक्षा गरेको बताए। उनले भने, ‘ मैले चुनाव हारेको भनौँ या हराइएको भनाैँ, कार्यकारी भूमिकामा छैन। चुनावमा पराजय भएपछि पनि पन्तजीलाई बधाइ दिएरसँगै नाचगान गरेर त्यहाँबाट बाहिरिएको हुँ। अहिलेको नेतृत्वमा पनि समक्ष व्यक्तिहरु हुनुहुन्छ।’ अन्य मुलुकका गैरआवायीय नागरिकले उठाएका परिपक्व मुद्दालाई सम्बन्धित मुलुकको सरकारले सुन्ने र बुझ्ने प्रयास गर्ने परम्परा रहेको तर नेपालमा गैरआवासीय नेपाली संघले उठाउने मुद्दा परिपक्व नहुँदा एनआरएनएप्रति सरकार र नागरिकले विश्वास गरिहाल्ने अवस्था नरहेको जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *