गोरासँग थारुकी छोरीको ३० वर्षअघिको प्रेम

चूडामणि भट्टराई
२० भदौ २०७७ ९:२२

बासिंगटन डिसी,अमेरिका। एउटा जोडी भेटिए अमेरिकाको मेरिल्याण्डमा। नेपालको झापा जिल्लास्थित सुरmंगा गाउँकी थारुकी छोरीसँग विवाह गरेर अमेरिकामा खेतीपातीमा रमेका र जमेका।

३० वर्षअघिको थारुकी छोरी र गोराका बीचको प्रेम र त्यसपछिको जीवनबारे कुराकानीका लागि तयार हुँदै गर्दा आफूले लगाएको टीसर्टले जेवको अनुहारमा लागेको माटो मिसिएको पसिना पुछिदिँदै थिइन् प्रेमकुमारी।

जेव ट्याक्टर चलाइरहेका थिए, बारीमा लगाएको तरकारी बालीको छेऊ छाउ र बीचवीचमा पनि झारहरु उम्रेपछि उनी त्यो झारलाई ट्याक्टरले माड्दै थिए। एक छेऊमा बसेर प्रेमकुमारी आफ्ना अमेरिकी पतिलाई बाटो देखाउँदै भन्दैथिइन्, कम टु दिस् साइट प्लिज। उनले जताजता बोलाउँथिन् जेव त्यतै त्यतै पुगेर ट्याक्टर कुदाइ दिन्थे। र, जिस्कँदै पनि थिए, तिमी जताजता भन्छ्यौं म त्यति ट्याक्टर दौडाइदिन्छु।

नेपालीहरुको टोली गाडी रोकेर उनीहरुले गरेको काम हेर्दै थियो, पतिलाई एकछिन रोकेर उनले बोलाइन् भाइ वहिनीहरु यतै आउनुस् है बारीतिरै। तरकारी किन्न आउनुभएको होला, के के लानु हुन्छ कुन्नि? फर्सी लाने कि फर्सीका मुन्टा, डल्ले खुर्सानी, जिरे खुर्सानी, नेपाली लौका पनि छ है। यतिन्जेलमा जोत्दै गरेको ट्याक्टर थन्क्याएर जेव पनि त्यहाँ आइपुगेका थिए।

प्रेमकुमारीले नेपाली ग्रहकको इच्छाअनुसार, फटाफट फर्सीका मुन्टा, फर्सीका गट्टा, लौका, टमाटर, बेथुको साग, खोर्सानी र भन्टा भारी पुग्ने गरी टिपिदिइन् र फटाफट हिसाव पनि गरिदिइन्। झापाको सुरुङ्गा बजारभन्दा केही परको गाउँकी प्रेमकुमारी चौधरी यतिबेला अमेरिकाको मेरिल्याण्ड राज्यको गाउँमा आफ्ना अमेरिकी पतिसंग मिलेर तरकारी खेती गरिरहेकी छिन्।

तरकारी खरिद बिक्रीको काम भइसकेपछि उनीहरुले आफ्नो विगत सम्झन तयार भए किनकि आधा शताब्दी उमेर नाघिसकेका उनीहरुको बीचको अप्रत्यासित भेट, विवाह र लामो सुमधुर बैवाहिक सम्बन्धको कथा निकै रोचक हुने नै भयो, उनीहरु दुवैलाई आफ्नो युवा विगतको मिठास सम्झने एउटा राम्रो अवसर पनि।

प्रेमको कथा अघि व्यबसायको कथा

‘म किसान कि छोरी नेपालमा पनि खेतीपाती नै गरेकी। उहाँ पनि किसानकै छोरा। उहाँको बुवाले पनि अमेरिकामा खेतीपाती नै गर्नु भएको रहेछ।’ प्रेमकुमारीले आफ्नो प्रेमको कथाभन्दा पहिला व्यबसायको कथा सुनाइन्। अमेरिकामा केही पैसा कमाइसकेपछि आफ्नै गाउँमा सेलमा आएको घरजग्गा किनेका रहेछन् उनीहरुले। सोअनुसार नै १० एकड भूमि र एउटा घर किनेपछि उनीहरुले खेतीपाती गर्ने आफ्नो रहरलाई अझ राम्रोसँग पूरा गरेका रहेछन्।

सबै जमीनमा आफैं खेती गर्न सक्दैनन् उनीहरु। जेव विजनेस कन्सल्ट्याण्टको रुपमा बाल्टिमोर शहरमा काम गर्छन् र बाँकी समय खेती किसानी गर्छन्। प्रेमकुमारीको पूरै समय खेती किसानीमा जान्छ। लटरम्मै नेपाली टमाटर फलाएकी छन्, अकवरे खोर्सानी र जिरे खोर्सानी उत्तिकै फलेको छ।

आफ्नो ससुराली गाउँका मानिस पनि मरेको उनले थाहा पाएका छन्। द्वन्द्वको चित्रण गर्दै आफ्नै श्रीमति झापालीलाई उनले व्यंग्य गर्दै भने, यी झापालीहरु सबै टाउको कट्वा। यो सुनेर प्रेमकुमारी दिल खोलेर हाँसिदिइन् उनका सामुन्ने। त्यसपछि दुवै हाँसो हाहाहाहा।

नेपाली फर्सीका कलिला गट्टा मन पराउनेहरु उनलाई फोन गर्दै टिपेर राखिदिनु है दिदी म लिन आउँछु भन्छन् उनलाई चिनेजानेका नेपालीहरुले। ‘हामी रमाएका छौं, खुसी छौं,’ उनले बाख्रा, कुखुरा र गोरुहरु पनि पाल्ने गरेको बताइन्। अमेरिकाले आफ्ना किसानहरुलाई कर धेरै तिर्नु नपर्ने गरिदिएको बताउँछिन् उनी। सम्पत्ति कर कम तिर्नुपर्ने रहेछ किसानलाई।

नेपालकै तरकारी मिठो

तीस बर्षजति भइसक्यो अमेरिका आएको तै पनि प्रेमकुमारीलाई नेपालकै तरकारी मिठो लाग्छ त्यसैले उनी नेपालबाटै ल्याएका तरकारीका विउबाट फलाउँछिन्। प्रेमकुमारीले नेपाली विऊहरु नेपालबाटै ल्याएर लगाएको कुरा नढाँटी बताउँदै थिइन्, जेव उताबाट मुखले इशारा गर्दै थिए.स्यूस्यूस्यू गर्दै, उनले संकेत गरेपछि प्रेमकुमारीले बुझिन् विऊ ल्याएको कुरा नभन्नु भनेको हो भन्ने तर प्रेमकुमारी रोकिइनन्।

उनले फर्सी, लौकाको विउ आफूले गत डिसेम्बरमा नेपालबाट फर्किँदा ल्याएको र त्यही लगाएको बताइन्। यसबीचमा जेवले भने नभन्नु इललिगल छ भनेपछि प्रेमकुमारी मज्जाले हाँसिन् र भनिन् यी विउहरु नेपालबाटै ल्याएकी हुँ।

किन नेपालको विउ ल्याउनु परेको भन्ने प्रश्नको उत्तरमा उनले सरल जवाफ दिइन् स्वादमा धेरै फरक छ, नेपाली तरकारी ज्यादै मिठो हुन्छ। नेपालको सब्जी तेजिलो, यहाँको हाइव्रिड भएर होला त्यति तेजिलो हुँदैन।

उनको खेतीमा नेपाली समुदायका मानिसहरु निकै नै पुग्न थालेका छन् तरकारी किन्नका लागि। थाहा पाउनेहरु पुग्छन् र तरकारी किनेर फर्किन्छन्, उनी सबैलाई आफ्नै माइतीजस्तो व्यवहार गर्छिन्, मिठो गाउले बोली उनको फेरिएको छैन।

स्थानीय अमेरिकीहरुले किन्न चाहे उनले आफ्नो घर अगाडि एउटा घुम्ती पसल राखेकी छिन्। जे फलेको तरकारी उनी त्यही राखिदिन्छिन्। त्यहाँ सामान रुङ्न मानिस बसरहनु पर्दैन। सामान र मूल्य लेखेर राखिदिएको हुन्छ सोहीअनुसार, मानिसहरुले रकम त्यहा“ राखिदिएको खुत्रुकेमा खसाइदिन्छन् र समान लिएर जान्छन्।
सुरुँगा बजारमा घुम्तीमा व्यापार गर्नेहरुलाई उनी सम्झिन्छिन कहिले काहीँ आफ्नो अमेरिकाको घुम्ती हेरेर। तर कत्रो फरक, त्यहा“ रातो दिन कुर्नुपर्छ घुम्तीमा बसेर यहाँ सामान राखिदियो, किन्न मन हुनेले तोकिएको पैसा राखिदिन्छन् सामान लैजान्छन्।

रोएर बसेका ती दिन
‘म अमेरिकी नागरिक जेवसँग विवाह गरेर सात समुद्रपारि आएको भए पनि म निकै खुसी छु’, उनले नधकाई मनको पोको फुकाइन्, ‘भाषाका कारण एक वर्षचाहिँ मलाइ गाह्रो भयो , म दिनदिनै रुन्थें। तर अहिले धेरै खुसी छु।’

जवानीको त्यो समयमा प्रेमकुमारीलाई भेट्दाको सम्झना गर्दै उनले भने, ‘यिनी जहिले हिँड्दा पनि शिर ठडो पारेर हिड्थिन्। म गरीब छु भनेर कमजोर महसुस गरेको मैले पाइनँ। उसको आत्मा नै मेरो भ्याल्यू हो भन्ने लाग्थ्यो। उनी मसँग पैसा छैन तर म सानो मान्छे होइन भन्ने सोच्थिन्। मान्छे मान्छे नै हो।’

उनले भाषाका लागि कम्युनिटी कलेज धाइन् एक वर्षसम्म र बेस्सरी पढिन् अंग्रेजी। भाष नहुँदा डाइभिङ गर्न पनि उनी सक्दिन थिइन् त्यो बेला, त्यसैले उनका ससुराले दिनदिनै उनलाई कम्युनिटी कलेज पुर्याउने र लिन जाने गरेर उनलाई पढाइछाडे अंग्रेजी। अहिले उनी अंग्रेजी निकै सजिलो गरी बोल्छिन् र व्यवहार गर्न अव उनलाई कुनै कठिन छैन।

राजनीतिको कुरा हुनासाथ जेव उठेर हिँडे

उनले नेपाली राजनीतिबारे आफूलाई चासो लागेको बताउन शुरु गरेपछि उनका पति भने अव साँच्चिकै उठेर हिडे ‘एस्क्युज मी’ भन्दै। पति उठेर हिडेपछि सायद् उनले संकेत बुझिन् होला कि राजनीतिको कुरा जेवलाई त्यति चासोको कुरा होइन। तर उनले मुस्कुराउँदै भनिन्, ‘नेपाल सफल हुँदै जाओस्।

उनले माइती देशको भलाइ चाहिन्। भारतसँगको सीमा विवादमा नेपालले जितोस् भन्ने चाहेकी छिन् उनले भनिन्, ‘म नेपालप्रति गर्व गर्छु।’ अमेरिकामा बसेका नेपाली समुदायहरु आपसमा मिलेर बसुन् भन्ने चाहाना रहेको पनि उनले बताइन्।

ऋणले अंकुराएको प्रेम

‘म नेपालको झापामा पीसकोर स्वयं सेवक थिए। अनि म सघन बैंकिङ कार्यक्रमका लागि स्वयं सेवकको रुपमा काम गर्थें। त्यो कृषि विकासजस्तो कार्यक्रम हो तर अलि बेग्लै पनि थियो । गरीबहरुका लागि लोन दिने, अनसिक्योर्ड लोन, माइक्रो ल्याण्डिंगजस्तो हो।

यही सन्दर्भमा झापाको सुरुङ्गा बस्दा प्रेमकुमारीलाई मैंले भेटें।’ एउटा प्रेमकुमारीको कांधमा थियो उनको । कुरा शुरु भएपछि उनी ३० बर्षभन्दा अघिको नेपाल र त्यसमा पनि झापाको सुरुंगाको थारु गाउँ पुगे। फ्यासब्याक कथामा उनी यस्तरी डुब्दै थिए,मानौं त्यो कुनै सिनेमाको कथा हो।

‘म धेरै मान्छेहरुसँग उनीहरुको कृषि विकासका लागि कुरा गर्थें, यही क्रममा प्रेमकुमारीले पनि चासो राखिन्। मसँग भेट्दा उनले भनिन्, ‘मेरो परिवार पनि ऋण लिन्छ होला।’ मैंले उनलाई सल्लाह दिएँ र सहयोग गरें ऋण लिनको लागि।’ प्रेमकुमारी जवान त थिइन् नै गाउँबाट सुरुंगा बजार आएर हाटका दिन चिउरा व्यापार गर्थिन्।

तर, परिवारलाई पैसाको खाँचो थियो। जेव भन्दै गए, ‘उनको चिउरा व्यापार थियो त्यतिबेला। उनको परिवारले २ हजार रुपैयाँ ऋण पायो त्यो बेला, कुरा त्यस्तै सन् १९९० तिरको हो। नेपालमा प्रजातन्त्र आएको थियो भर्खर भर्खर।’ जेवमार्फत लिएको ऋणले दुवै जनालाई समय समयमा भेट्ने मौका दिएको रहेछ।
‘हामी हरेक हप्ता भेट्न थाल्यौं। उनी बैंकमा आउँथिन्, म उनको घरमा जान्थें।’

कुरा चल्दै जाँदा ऋणको प्रसंगमा कति पैसाको थियो जसले प्रेमको अवसर जुरायो भन्ने चाहिँ उनले बिर्सिएछन्। त्यतिबेला प्रेमकुमारीको परिवारलाई कृषि ऋण कति दिए भन्न सकेनन्, बीचमा प्रेमकुमारीले २ हजार रुपैयाँ भनेपछि उनले ‘मात्रै?’ भन्ने प्रश्न गरेका थिए। प्रेमकुमारीको परिवारले ९ प्रतिशत व्याजमा ऋण पाएको रहेछ। यही ऋण लिने प्रकृयाले प्रेमकुमारी र उनका बीच प्रेम अंकुराउने वातावरण बनाइदिएको थियो।

उनलाई सोधियो, विवाहपछि त्यो ऋणको अवस्था के भयो? व्याज र ऋण दुबै मिनाहा गरिदिनुभयो कि? जवाफमा उनले भने, ‘होइन होइन, त्यो ऋण उनले तिरिसकेपछि मात्र विवाह भएको हो।’  उनले भने, ‘ऋण खानेमान्छे मलाई मन पर्दैन।’ उनीसँगै प्रेमकुमारी पनि हाँसिन्।

प्रेमकुमारीसँग प्रेम भइसकेको थियो। तर, बीचमा उनी अमेरिका फर्किनु पर्यो । अमेरिका आए पनि झापाकी च्युरा व्यापारी निश्छल युवती प्रेमकुमारीलाई उनले बिर्सन सकेनन्, माया मार्न नसकेनन्।

‘म अमेरिका आए“ एक्लै अनि एकबर्षपछि म फरि नेपाल गए“ । त्यसपछि मैंले प्रेमकुमारीसँग विवाह गरें। विवाहपछि फेरि म एक्लै अमेरिका आए“ अनि फेरि फर्केर गएर कागजपत्रहरु मिलाएर उनलाई लिएर अमेरिका आएँ,’ उनले सन् १९९१ को आफ्नो विवाहसँगै नेपालको राजनीतिक अवस्था पनि सम्झिए, ‘राजा छ, प्रधानमन्त्री छ, वा राष्ट्रपति छ, मेरो सासुलाई मैले ऊबेलामा सोधेको थिएँ, प्रजातन्त्र आयो अव कस्तो लाग्छ? सासुले भन्नुभयो, ‘चामल पहिला १० रुपियाँ अहिल १२ रुपियाँ, मलाइ के वास्ता? नयाँ राष्ट्रपति आउँछ र चामल घटेर ९ रुपियाँ हुन्छ भने मलाइ खुसी लाग्छ, १३ रुपियाँ हुन्छ मलाइ दिक्क लाग्छ।’

उनी आफ्नो ससुराली देशका जनताको माया गर्छन्। र, त्यहाँको राजनीतिबारे चासो त राख्छन् तर उनलाई को के हुन्छ भन्नेसँग होइन कि आफ्नो ससुराली देशका जनता सुखी र खुसी हुन् भन्ने चाहन्छन्। भन्छन्, ‘राजनीतिको मतलब छैन, जनताले दुख पाउनु हुँदैन।’

पीसकोर स्वयंसेवकका रुपमा कृषकहरुलाई ऋण सल्लाह दिने काममा खटिँदा चाहेजति नेपालीहरुलाई सहयोग गर्न नपाएको महसुस हुन्छ उनलाई। ‘सुरुंगा बस्दा ६—८ वटा ग्रुपलाई ऋण दिएको, हरेक ग्रुपमा ४—५ जना थिए।’

प्रेमकुमारीसँगको प्रेम गर्दाको रमाइला दिनहरुको सम्झानाका अलावा उनलाई नेपालीहरुसँग त्यो बेलाको कुराकानीको पनि निकै याद आउँछ। सुरुंगाका गाउँलेहरुले उनलाई चिन्थे राम्रोसँग। उनीहरु जर्ज बुस, डोनाल्ड ट्रम्प वा वराक ओवामाका बारेमा सोच्दैनन् र सोध्दैनन् तर जेव काक्रिनको वारेमा सोध्छन्। भन्छन्,‘उनीहरुले बुस, ट्रम्प वा ओवामालाई भेटेको छैन मलाइ त भेटेका छन्, आफ्नो हात मिलाएका छन्। उनीहरुका लागि अमेरिका म थिए त्यो बेला।’

नेपालमा पीसकोरको काम गर्दा आफूलाई ज्यादै खुसी लागेको बताउन भुल्दैनन जेव। ‘कति रमाइलो थ्यो त्यो बेला मलाइ एकदम खुसी लागेको।’ पीसकोरमा नेपाल जानुअघिको कुरा सम्झँदै उनी भन्छन्, ‘मलाइ भाषा सिकाइयो अनि गाउँमा पठाइयो।’

उनी गाउँमा अढाइ वर्ष बसेका रहेछन् र यही अवधिमा प्रेमकुमारीसँग प्रेम गरेर सधैंका लागि नेपालको ज्वाईं भएका रहेछन्। सुरुंगा उनलाई यति प्यारो लाग्छ अहिले पनि। ऊ बेला पनि त्यस्तै हुन्थ्यो, ‘गाउँबाहिर गएर फेरि आफू बसेको सुरुंगा फर्किंदा मलाइ मेरो आफ्नै गाउ फर्किएको जस्तो लाग्थ्यो।’ उनले गर्वका साथ भने, ‘सुरुंगा मेरो ठाउँ हो।’

उनलाई फेरि त्यो सुरुंगा जाउँ जाऊँ लागेको छ, जहाँ उनले प्रेमकुमारी भेटे आफ्नो जीवनकी सहयात्री। जहाँ उनको मया अंकुरायो र फल्यो फुल्यो। उनले भने, ‘कहिले काहीँ हामी कुरा पनि गर्छौं, यहाँ (अमेरिकामा) जाडो हुँदा हामी तराईमा जानुपर्छ किनकि तराई कति न्यानो छ।’ उनलाई सुरुंगाको मौसमले पनि औधी माया लगाएको छ, भन्छन्, ‘त्यहाँको मौसम राम्रो।’

आफ्नो ससुराली देशका जनताहरुको राम्रो भइदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई। नेपालीहरुलाई ‘आउटसाइड इन्कम’ चाहिएको बताउँछन् उनी। ‘सब मान्छे दुवईमा जान्छ, साउदी अरेविया जान्छ, आवुधावी जान्छ, तर किन?’ उनी आफूलाई आफैं प्रश्न गर्छन् र आफैं उत्तर दिँदै भन्छन्, ‘किनभने काम छैन नेपालमा। हलो जोत्नेमात्र काम छ नेपालमा।’

तर, कसले हलो जोत्ने अव? उनी भन्छन्, ‘ट्याक्टर आयो, दश बीस जनाको काम ट्याक्टरले गर्छ।’ ‘अव नेपालीहरुले सोच्नुपर्छ, हामी नेपालमा मात्र होइन हामी पृथ्वीमा केही गर्न सक्छौं भनेर। आइटी, कम्प्युटर। उसको (प्रेमकुमारीतिर देखाउँदै) गाउँमा सानो सानो गाउँमा नेपालमा उसको इन्टरनेट मेरोभन्दा राम्रो छ। इन्टरनेटले कति काम गर्छ’, उनी थप्छन्, ‘इन्टरनेट छ भने पृथ्वीकै काम हुन्छ।’

विवाह गरेर प्रेमकुमारीलाई अमेरिका ल्याएको ३० बर्ष पूरा भइसेको छ। वैवाहिक जीवनका अनेक सुख दुखका घटनाहरु होलान् तर उनी भन्छन्, ‘हाम्रो मन मिल्छ। मेरो श्रीमती एकदम गरीब थियो। माटोको घरमा बस्थ्यो। तर, कहिले पनि उनले म सानो मान्छे भन्ने सोचिनन्।’

जवानीको त्यो समयमा प्रेमकुमारीलाई भेट्दाको सम्झना गर्दै उनले भने, ‘यिनी जहिले हिँड्दा पनि शिर ठडो पारेर हिड्थिन्। म गरीब छु भनेर कमजोर महसुस गरेको मैले पाइन“। उसको आत्मा नै मेरो भ्याल्यू हो भन्ने लाग्थ्यो। उनी मसँग पैसा छैन तर म सानो मान्छे होइन भन्ने सोच्थिन्। मान्छे मान्छे नै हो।’ अमेरिकाको नागरिक भए पनि आफ्नो परिवार पनि त्यस्तो धेरै धनी नभएको उनी बताउँछन्।

‘मेरो परिवार पनि त्यस्तो कहाँको धनी थियो र’, उनी भन्छन्, ‘हाम्रो यो गाउँमा हामी गरीब नै थियौं तर नेपालजस्तो चाहिँ होइन।’ नेपालीको जस्तो नभए पनि अमेरिकाको गरीवी कस्तो हो त? उनले बताउँदै गए, ‘मेरो बुवाका हामी आठजना छोराछोरीहरु थियौं।

हामी आठैजना सानो घरमा बसेका थियौं। तर, मैंले मेरो आमाबाट सिकेको कुरा के भने, पैसाको मतलब छैन मानिसको टाउको माथि हुनुपर्छ।’ टाउको माथिको अर्थ स्वाभीमान हो उनको अर्थमा। उनले स्वाभिमानलाई महत्व दिए र प्रेमकुमारीमा त्यही स्वाभिमानी भावना भएको पाए।

‘मान्छे आँखामा आँखा जुधाएर कुरा गर्नुपर्छ। प्रेमकुमारीलाई भेट्दाखेरि उनले आँखामा हेरेको। मैले सोधें, किन मलाइ आँखामा आँखा जुधाएर हेर्छस्?’ म व्यापार गर्ने मान्छे, तपाईंको सल्लाह चाहिएको त्यही भएर आँखामा हेर्छु भनेर जवाफ दिएकी थिइन उनले।’

उनले नेपाली र अमेरिकनको स्वाभिमान मिल्ने गरेको आफ्नो अनुभूति पनि बताए। नेपालले नयाँ नक्सा बनाएको र भारत र नेपालका बीचमा सीमा विवाद भएको उनले सुनेका छन्। नेपाल भन्छ यो मेरो हो, इण्डिया भन्छ त्यो मेरो हो। कसले जनतालाई सस्तो चामल दिन्छ त्यो मतलबको कुरा हो। उनले प्रेमकुमारीलाई देखाउँदै भने, ‘ऊ पोलिटिकल हो, मलाइ मतलब छैन, जनताले खान पाउन भन्ने लाग्छ।’

नेपालको तागत ‘शान्ति क्षेत्र’
नेपालको तागत के हो? उनी भन्छन्, ‘नेपालको तागत शान्ति क्षेत्र हो, जतिबेला म त्यहाँ थिएँ। भारत र चीन नेपालको आन्तरिक राजनीतिमा आएको प्रसंगमा उनले भने, चीन आउँदा अलि डर लाग्छ तर नेपाल सुखी शान्ति ठाउँ हो।’

उनले माओवादी सशस्त्र द्वन्द्वको समयमा धेरै मानिस मरेकोमा दुख लागेको पनि बताए। आफ्नो ससुराली गाउँका मानिस पनि मरेको उनले थाहा पाएका छन्। द्वन्द्वको चित्रण गर्दै आफ्नै श्रीमति झापालीलाई उनले व्यंग्य गर्दै भने, यी झापालीहरु सबै टाउको कट्वा। यो सुनेर प्रेमकुमारी दिल खोलेर हाँसिदिइन् उनका सामुन्ने। त्यसपछि दुवै हाँसो हाहाहाहा।

यति भनेर उनले कुराकानीमा विश्राम लिए अनि उठ्दै भने, म काम गर्छु अव। प्रेमकुमारी आफूले गरेको कुराकानी पनि उनलाई सुनाउन चाहन्थिन् तर उनी भने ‘भेरी नाइस टु टक टु यु’ भन्दै त्यहाँबाट उठेका थिए तर प्रेमकुमारीले बोलाएपछि उनी फेरि फर्किएर आइ उनकै साथमा बसिदिए।

बाटोको भेट र प्रेम
‘म प्रेमकुमारी चौधरी। ऊ बेलाको कुरा हो। म सुरुंगा बजार गएकी थिएँ, बाटोमा फर्कँदै गर्दा उहाँ एकजनालाई लोन दिँदै हुनुहुदो रहेछ गाउँको एउटा घरमा।’ अव पालो थियो प्रेमकुमारीको। उनी फेरि पुगिन् उही सुरुंगा।

गोरो छाला भएको युवा त्यसबेला प्रेमकुमारीका लागि मात्रै होइन सबै गाउँलेहरुका लागि काक्रिन एउटा अनौठा प्राणी थिए होला सायद। त्यसैले प्रेमकुमारीलाई पनि त्यो गोरो अग्लो युवा के गर्दै छ यहाँ गाउँमा भन्ने चासो स्वाभाविक रुपमा लाग्यो।

उनी भन्छिन्, ‘बाटोबाट यसो हेरें, गोरे पो रेछ त्यो घरमा। अनि म त्यहाँ गएँ।’ गोरे केटोले लोन दिएको कुरा सुनेपछि प्रेमकुमारीलाई पनि के भनौं भन्ने लाग्यो अनि उनले पनि लोन माग्ने विचार गरेर कुराको सुरुवात गरिन्।

‘तपाई लोन दिनु हुँदो रहेछ के म लोन लिन सक्छु, मैले यही भनेर कुरा शुरु गरेको थिएँ।’ जेवले उनलाई लोनको कुराभन्दा पहिले घरको कुरा सोधेका रहेछन्। ‘मेरो घर पर जामुनवारीमा हो भन्दाखेरि उहाँले घर हेर्न जाने कुरा गर्नुभयो म घर हेर्न जानसक्छु भनेर।’ उनी घर पनि हेर्न गएछन् प्रेमकुमारीको तत्कालै।

लोनको रकम हप्ता हप्तामा तिर्नुपर्ने थियो प्रेमकुमारीले। यसकारण उनीहरुको भेट पनि हप्ता हप्तामा हुन थाल्यो। यसरी बाक्लिएको भेटले दुवैमा प्रेम बढ्न थाल्यो। लोन तिरिसकेकी थिए एकदिन उहाँले सोध्नुभयो, ‘तपाईंलाई अमेरिका जान मन लाग्छ?’

शायद् जेवले मन पराइसकेका थिए उनलाई। अमेरिका जाने कुरा प्रेमकुमारीलाई अनौठो नै थियो। मैले भने, ‘म कसरी अमेरिका जानू? म जान सक्दिन, कसरी जानु।’ प्रेमकुमारीको मनमा पनि उनीसँगको भित्रभित्रै अंकुराएको प्रेम छोड्न त मन थिएन नै। सजिलो बनाउँदै जेवले भनेका थिए, जान सक्नुहुन्छ भने म लैजान सक्छु।

पिसकोरको कामको अन्तिम अन्तिम भइसकेको थियो। जेवले गरेको प्रस्ताव अस्वीकार गर्ने अवस्थामा थिइनन् प्रेमकुमारी। जेव फेरि अमेरिका फर्किए। अमेरिका पुगे पनि जेवलाई प्रेमकुमारीको यादले सताइरह्यो। उनले यतैबाट पत्र लेख्दै प्रेमकुमारीलाई पठाउन थाले र मनका भावना पोख्न थाले।  अलिअलि लेख्न जानेको नेपाली भाषा जेवलाई काम लाग्यो। प्रेमकुमारी अंग्रेजी बुझ्दिन थिइन् त्यसैले उनलाई नेपालीमै पत्र लेख्नु पर्ने वाध्यता थियो।

प्रेमपत्रमा रमाएका एक वर्ष
प्रेमपत्रको भाषा अझै पनि प्रेमकुमारीलाई याद छ जेवले लेखेको। ‘मैले यहाँ अमेरिकामा गाडी किने, मैले जागिर पनि पाएँ भनेर लेख्नु भएको रहेछ। तर गाडी भनेको घडी लेखिएको थियो। गाडी किने भनेर लेखको घडी किने भन्ने लेख्नुभयो, म छक्क परे शुरुमा घडी किन्दा पनि किन प्राउड फिल गरेको होला भनेर।

पछि बुझ्दा त गाडी पो किनेको रहेछ। म पनि उताबाट चिठी पठाउँथे। पढ्नु हुन्थ्यो रे अलिअलि।’ उनी हाँसिन, आफूले लेखेको चिठी याद छैन भन्दै। ‘तपाईंलाई थाहा छ?’ उनले जेवलाई सोधिन्। तर, जेवले पनि याद नभएको भन्दै मुख बिगारे।

प्रेमकुमारीले नेपाली भाषा लेख्न जान्नुहुन्छ भनेपछि जेव निकै खुसी भए तर प्रतिक्रिया दिँदै भने, ‘अहिले त बिर्सिसक्यो, लेख्न आउँदैन।’ एक वर्षसम्म पत्राचार हुँदै प्रेम प्रगाढ हुँदै गयो। जेव फर्किएर फेरि नेपाल गए र सिधै प्रेमकुमारीलाई भेट्न सुरुंगा पुगे। जेव र प्रेमकुमारीको प्रेम बुझेपछि प्रेमकुमारीकी आमाले यी दुवैको विवाह गरिदिइन् थारु संस्कृतिअनुसार। २३ वर्षकी प्रेमकुमारी चौधरी पीसकोरको काममा सुरुंगा पुगेका जेवकी श्रीमती बनिन्।

आमा र गाउँलेको पिरलो
गोरासँग विवाह त भयो सुरुंगामै तर प्रेमकुमारीको भविष्य के हुने हो भन्ने चिन्ता आमा, दाइ र गाउलेहरुलाई समेत थियो। गोरेले कहाँ लगिदिने हो? त्यो अम्रिका भनेको कहाँ हो कहाँ, त्यहाँ पुर्याउँछ कि पुर्याउँदैन? आमालाई पिरोलो थियो,’ प्रेमकुमारी भन्छिन्, ‘आमा अलिकति रिसाउनु पनि भएको थियो गोरासँग विवाह गरेकोमा डरका कारणले।

तर मेरो मनमा भने डर थिएन पटक्कै मलाई विश्वास थियो उहाँप्रति। गाउँमा त्यसले कहाँ लगेर बेचिदिन्छ भन्ने कुरा गर्थे, पीर गर्थे किनकि त्यसबेला पनि गाउँका चेलीबेटी बेचिन्छन् झुक्याएर कता लैजानछन् भन्ने कुराले व्यापकता पाएको थियो। तर, मलाइ डर लागेन।’

उनका दाजुले पनि मन पराएका थिएनन् त्यो विवाह। दाजुले पनि नजा भनेर भनेका थिए तर प्रेमकुमारीले आपसी प्रेम सुनिन् अरुका कुरा सुनिन्। यो जोडीका एक छोरा र एक छोरी भएका छन् र उनीहरु दुवै स्थानीय कलेजमा अध्ययन गर्ने भइसकेका छन्। र, अन्त्यमा प्रेमकुमारीले आफ्नी छोरी चिनाइन्। छोरीसँगै अर्का एक युवा पनि बाहिर देखा परे। गोरो अनुहारका उनी आएपछि उनलाई चिनाउँदै प्रेमकुमारीले भनिन् उनी मेरी छोरीका व्योइफ्रेण्ड।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *