छन्द–साधना पुरस्कार न्यौपानेलाई

डिसी नेपाल
२२ भदौ २०७७ १६:०३

काठमाडौं । ‘छन्द–तरङ्ग’ले २०७६ देखि हरेक वर्ष छन्द कविताका एक विशिष्ट साधकलाई प्रदान गरिँदै आएको ‘छन्दसाधना पुरस्कार–२०७७’ नेपाली छन्दकविताका अथक साधक महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली काव्यको इतिहासमा नै शास्त्रीय छन्दका ५५ हजार श्लोकको बृहत्तर महाकाव्य ‘चन्द्रयुग’को लेखन र प्रकाशनका साथै १० महाकाव्य, १० खण्डकाव्य, सयौँ फुटकर कविताको प्रकाशन र प्राथमिककालदेखि हालसम्मका समग्र छन्दोबद्ध कृतिको अध्ययन र विश्लेषणका साथै नेपाली भाषामा शास्त्रीय छन्दका सयौँ प्रकारको प्रयोग गरी कविता सिर्जना गरेर नेपाली छन्दकविताको इतिहासमा अतुलनीय योगदान दिएबापत न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

रु २५ हजार र प्रमाणपत्र रहेको उक्त पुरस्कार वातावरण सहज हुनासाथ प्रदान गरिने संस्थाका संस्थापक तथा संयोजकद्वय रामप्रसाद ज्ञवाली र देवी नेपालले जानकारी दिए । नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित ज्ञवाली र नेपालको सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेका अवसरमा २०७५ भदौ २२ गतेदेखि शुरु गरिएको ‘छन्द–तरङ्ग’ले आफ्नो दुईवर्षे यात्रा पूरा गरेको छ । हरेक महिनाको तेस्रो शुक्रबार फरक फरक पुस्ताका तीन कविका पाँचपाँच कविता प्रस्तुत गर्दै आएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *