कोरोना विरुद्धको खोप लगाएका नेपाली भन्छ्न्- ‘भ्याक्सिनले शतप्रतिशत परिणाम दिनेमा ढुक्क छु’

बिनेश खनाल
५ असोज २०७७ १५:५०

काठमाडौं। विश्व यतिबेला कोरोनाका कारण त्राही त्राही भएको छ। पछिल्लो तथ्यांक अनुसार विश्वमा ३ करोड १२ लाख ५४ हजार ७ सय ३४ कोरोनाका संक्रमितहरु भेटिएका छन्। यस्तै, ९ लाख ६५ हजार १ सय ९९ जनाले कोरोनाका कारण ज्यान समेत गुमाइ सकेका छन्।

विश्वकै ठूला देशहरु अमेरिका, चीनलगायत विश्वको ठूलो विश्वविद्यालयका रुपमा चिनिने अक्सफोर्ड विश्वविद्यालयसमेत कोरोनाको बारेमा अध्ययन अनुसन्धान तथा खोप निर्माणमा नजुटेका भने होइनन्। विश्वका शक्तिशाली देशहरुको कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रण र खोपको निर्माणका लागि प्रतिस्पर्धा नै चलेको छ।

प्रतिस्पर्धी विश्वकै एउटा राष्ट्र रसियाले भने कोरोनाको खोपको तेस्रो चरणको परीक्षण गरिरहेको छ। तेस्रो चरणको परीक्षणमा ३० हजार जनामा यो खोप लगाइने भएको छ। तेस्रो चरणको खोपको परीक्षण सुरु भएपछि रसियामै रहेका १ जना नेपालीमा पनि उक्त खोपको परीक्षण गरिएको छ।

कोरोनाको खोप पाउने पहिलो नेपाली हुन् ६१ वर्षीय महेशसिंह श्रेष्ठ। उनले गएको शनिबार ‘स्पुतनिक भी’ नामक खोप लगाएका हुन्। नेपालको सल्यान घर भएका श्रेष्ठ विगत ४ दशक (४० वर्ष) देखि रसियामा बस्दै आएका गैरआवासीय नेपाली हुन्। तत्कालीन सोभियत संघको सहयोगमा पढ्नका लागि रुस पुगेका श्रेष्ठले ४ दशक रुसमै बिताएका छन्।

हातमा घडीजस्तो डिभाइस जोडेको छ, त्यही उपकरणले उनीहरुले मेरो स्वास्थ्य अवस्थाका बारेमा बुझ्दछन्। मेरो पल्स रेट, मेरो मुटुको धढ्कन तथा अन्य मलाइ भएका समस्याका बारेमा पनि जान्दछन्। सरकारको ३ तहको स्वास्थ्य विभागसँग म सम्पर्कमा छु। सबैले मलाइ र मैले सबैलाई मेरो बारेमा बताउँदै आएको छु।

मेडिकल क्षेत्रको अध्ययन गरेका उनले नेपाल आएर काम गर्ने लक्ष्य भएपनि सुरक्षित भविष्य नदेखेपछि पुनः रुस नै फर्किनु परेको बाध्यता डिसी नेपालसँग सुनाए। उनले भने, ‘म पढ्न आएको हो। पढेर आफ्नै देशमा फर्केको पनि थिएँ। नेपालमा काम गर्ने वातावरण र सुरक्षित भविष्य नदेखेपछि पुनः म रुस नै फर्किनु परेको हो।’

आफ्नो मेडिकल क्षेत्रको कामबाट रिटायर्ड भएर पेन्सन थाप्दै बसेका श्रेष्ठ हाल मेडिकल सम्बन्धि नै व्यवसाय संचालन गरेर बसेका छन्। २ छोरी र श्रीमतिसहित श्रेष्ठको परिवार मस्कोमा बस्दै आएको छ। ‘जेठी छोरी क्यानडामा बस्छिन्, कान्छी ८ कक्षामा पढ्दै छिन्। म र जहान सबै यतै छौं’, श्रेष्ठले सुनाए।

कुनै पनि खोपको परीक्षण सकेसम्म मान्छेमा गरिँदैन। गरिए पनि धेरैलाई के कसो हो भन्ने डर लागि रहन्छ। तर, आफूले पनि मेडिकल क्षेत्र नै पढेको कारण सबै कुरा थाहा भएकोले भ्याक्सिनको परीक्षण गर्दा कुनै पनि आशंका नलागेको उनले अनुभव सुनाए।

‘मलाइ थाहा छ नि मेडिकलको बारेमा, रुसले कसरी कोरोना भ्याक्सिन बनाउँदै छ भन्ने पनि अपडेट भएकाले म तयार भएको हुँ,’ उनले भने। रुस सरकारले भ्याक्सिन प्रयोगका लागि केही क्याटेगोरी छुट्याएको र आफू ती क्याटेगोरीमा फिट भएका कारण पनि निवेदन दिएको श्रेष्ठले जानकारी दिए। उनले भने, ‘यो खोप प्रयोग गर्नु पूर्व र गरेपछि अल्कोहल सेवन गर्नु हुँदैन। म त नगर्ने मान्छे केही समस्या भएन। धुम्रपान पनि गर्न नहुने भन्छ।’

‘हातमा घडीजस्तो डिभाइस जोडेको छ,’ श्रेष्ठले भने, ‘त्यही उपकरणले उनीहरुले मेरो स्वास्थ्य अवस्थाका बारेमा बुझ्दछन्। मेरो पल्स रेट, मेरो मुटुको धढ्कन तथा अन्य मलाइ भएका समस्याका बारेमा पनि जान्दछन्। सरकारको ३ तहको स्वास्थ्य विभागसँग म सम्पर्कमा छु। सबैले मलाइ र मैले सबैलाई मेरो बारेमा बताउँदै आएको छु।’

डाक्टरहरुले उनलाई तीन महिनासम्म बच्चा जन्माउन नहुने पनि बताएका छन्। खोप परीक्षणकै क्रममा रहेको र त्यसको दीर्घकालीन असर अहिले नै यकिन नभइसकेकोले बच्चा जमाउन नहुने डाक्टरहरुको भनाइ छ । ‘तीन महिनासम्म बच्चा पनि जन्माउन नहुने भनेको छ। यो त मेरो हकमा लागू हुने कुरा पनि भएन।’

आफू स्वयंले स्वास्थ्य क्षेत्रमा काम गरेका कारण परिवारले पनि सपोर्ट गरेको उनले बताए। उनले भने, ‘परिवारले पनि सपोर्ट गरेको छ। उनीहरु सबैलाई जानकारी गराएर, बुझाएर नै मैले प्रयोग गरेको हुँ। यो प्रयोग हानीकारक हुँदैन भन्ने सबैलाई थाहा छ।’

‘मलाइ आखाँको नानी अलि भारी भएजस्तो अनुभव भएको थियो,’ श्रेष्ठले भ्याक्सिन प्रयोग गरेपछिको अनुभव सुनाउँदै भने, ‘त्यो मेरो साइकोलोजिकल कुरा पनि होला। मैले त्यो बाहेकका अरु समस्या केही पनि अनुभव गरेको छैन।’

उनले रसियाले निर्माण गरेको उक्त खोपले शतप्रतिशत सकारातमक परिणाम दिनेमा आफू विश्वस्त रहेको पनि बताए। उनले आफूले प्रयोग गरेको खोप विश्वका २० वटाभन्दा बढी देशले खरिदका लागि अर्डर गरिसकेको बताए। सो खोप नेपालले पनि खरिद गरे राम्रो हुने उनको आशय थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *