निको भइसकेका ४ डाक्टर दोस्रोपटक कोरोना संक्रमित, दोस्रो संक्रमण पहिलोभन्दा गम्भीर

डिसी नेपाल
८ असोज २०७७ १३:२१

काठमाडौं। कोरोनाभाइरस संक्रमित भएर एकपटक निको भइसकेका बिरामी फेरि दोस्रो पटक संक्रमित भएका घटनाहरु दोहोरिन थालेका छन् । पहिलो पटक आधिकारिक रुपमा दोस्रो संक्रमणको पुष्टि हङकङमा भएको थियो । पछिल्लो पटक मुम्बइका ४ जना डाक्टरहरुमा पनि निको भइसकेपछि दोस्रो संक्रमणको पुष्टि भएको हो । यससम्बन्धि रिपोर्ट मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित गरिएको छ ।

जर्नलमा प्रकाशित रिपोर्टका आधारमा टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार यी चारै जना डाक्टरमा दोस्रो पटकको संक्रमण पहिलो पटकको संक्रमणभन्दा गम्भीर पाइएको छ र चारैजनामा पहिलेभन्दा गम्भीर लक्षण देखिएका छन् । रिपोर्टअनुसार चारजना पुनः संक्रमित बिरामीहरुमध्ये ३ जना बाम्बे म्युनिसिपल कर्पोरेसनले संचालन गर्ने नायर अस्पतालका हुन् भने अर्का उक जना हिन्दूजा अस्पतालका हुन् ।

यो अध्ययन दुई अस्पतालको साथमा इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजी (आइजीआइबी) र इन्टरनेशनल सेन्टर फर जेनेटिक इन्जिनियरिङ एण्ड बायोटेक्नोलोजी (आइसीजीइबी) दिल्लीले संयुक्त रुपमा गरेका हुन् । अध्ययनमा चारैजनाको जीनोममा ३९ म्युटेशन अर्थात भाइरसले आफ्नो स्वरुप परिवर्तन गरेको पाइएको छ ।

नायर अस्पतालकी डाक्टर जयन्ती शास्त्री र आइसीजीइबीकी डा. सुजाता सुनिलका अनुसार चारैजना डाक्टरहरु दोस्रो पटक संक्रमित भएका हुन् । उनीहरुका अनुसार चारै जनामा पहिलो पटकको तुलनामा दोस्रो पटक धेरै गम्भीर लक्षण देखिएका छन् र उनहिरुको स्थिति पनि धेरै नाजुक देखिएको थियो । फ्रन्टलाइन हेल्थकेयर वर्करहरु लगातार भाइरसको सम्पर्कमा रहने र उनीहरुलाई संक्रमणको खतरा पनि बढी हुने जोखिम हुन्छ ।

डा. सुनिलका अनुसार आरटी पीसीआर परीक्षणबाट दोस्रो पटकको संक्रमण पुष्टि गर्न सकिँदैन । भाइरल आइसोलेट्सको पूरै जीनोम सिक्वेन्सिङपछि मात्रै दोस्रो पटकको संक्रमण पत्तँ लगाउन सकिन्छ । कोभिड १९ को संक्रमण पहिलो पटक बिना लक्षण वा कम लक्षणसहितको हुन्छ तर दोस्रो पटक स्थिति धेरै गम्भीर हुन्छ । यी डाक्टरहरुलाई पनि गम्भीर स्थितिकै कारण दोस्रो पटक अस्पतालमा भर्ना गरिएको थियो ।

यद्यपि दोस्रो पटक संक्रमित भएका डाक्टरहरुलाई ‘लोअर रेस्पिरेटरी ट्रेक्ट’मा साससम्बन्धी समस्या भने भएन । शोधकर्ताहरुले उनीहरुको उमेर कम भएका कारण पनि यस्तो भएको हुन सक्ने अनुमान गरेका छन् । यसै महिनाको सुरुवातमा हङकङमा पहिलो पटक दोस्रो संक्रमणको पुष्टि भएको थियो । त्यसपछि अन्यत्र पनि रि–इन्फेक्सनका घटनाहरु देखिन थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *