एसियाली राजमार्गसँग जोडियो नेपाल

डिसी नेपाल
११ असोज २०७७ १२:४४

काठमाडौँ। नेपाली राजमार्ग एसियाली राजमार्गसँग जोडिएका छन्। नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो।

एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा ७९० मिटर लम्बाइको पुल निर्माण भएसँगै नेपाल एसियाली राजमार्गसँग जोडिएको हो।

मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण गरिएको छ। यसअघि सीमापारि पनि ए क्लासको ‘एसियन हाइवे’ निर्माण गरिएको थिएन।

एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो पहुँच जोडिएको हो।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मेची नदीमा पुल निर्माण भई सञ्चालनमा आएसँगै अब नेपालको पहुँच ए क्लासको ‘एसियन हाइवे’ सँग भएको बताए।

नेपालको पूर्व–पश्चिम राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्दछन् । पूर्व–पश्चिम राजमार्ग ‘एसियन हाइवे’ को रुट–२ र अरनिको राजमार्ग रुट–४२ अन्तर्गत पर्दछन्।

एसियन हाइवेको रुट–२ थाइल्यान्डको बैङ्ककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर बनबासा र त्यहाँबाट भारतको दिल्ली हुँदै पाकिस्तानको कराँची पुग्छ।

त्यसैगरी, एसियन हाइवेको रुट–४२ अन्तर्गत भारतको रक्सौल हुँदै नेपालको वीरगञ्ज, नारायणगढ, काठमाडौँ भएर अरनिको राजमार्गको धुलिखेल, बाह्रबिसे, तातोपानी हुँदै चीनको ल्हासासम्म पुग्छ।

रेडियाे नेपाल अनलाइनले लेखेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *