‘घर भित्र भाइरस हुलेर ढोका बन्द गरियो’

खेमराज थापा
२४ असोज २०७७ १८:२२

काठमाडौं। देशभर नयाँ संक्रमितको संख्या सार्वजनिक गरिँदा असोज लागेपछि राजधानी काठमाडौं उपत्यकामा संक्रमितको संख्या पचासप्रतिशतको हाराहारीमा हुन्छ। शनिबार देशभर ५ हजार ८ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकाका तीन जिल्लामा २५ सय संक्रमित थिए। अहिले देशभर ३० हजार सक्रिय संक्रमित हुँदा आधाभन्दा धेरै उपत्यकामा छन्। स्वास्थ्य मन्त्रलायका अनुसार शनिबार सबैभन्दा धेरै सक्रिय संक्रमित हुने जिल्लामा उपत्यकाका तीन जिल्ला, सुनसरी, मोरंग, रुपन्देही र सुर्खेत छन्।

यसरी काठमाडौंमा विस्फोटक रुपमा कोरोना संक्रमण कसरी फैलियो? प्रश्न उठेको छ। तथ्य हेर्दा मुख्य दुईवटा कारण देखिन्छन् उपत्यकामा कोरोना भाइरस समूदाय स्तरमा फैलिनुमा। पहिलो कारण सरकारको रणनीति र दोस्रो हामी जनताको बानी।

सरकारको रणनीति कसरी यसको कारक हो भन्ने बुझ्न अलि अगाडि जानुपर्छ। नेपालमा दोस्रो कोरोना संक्रमित देखिएसँगै चैत ११ देखि सुरु भएको लकडाउन १२० दिनपछि साउन ६ गते हटाउने निर्णय भएको थियो। साउन ६ गते नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ रहेको थियो। सो अवधिमा जम्मा ४० जनाको मृत्यु भएको थियो। तर, लकडाउन अन्त्ये भएको घोषणा भएसँगै फेरि संक्रमण ह्वात्तै बढ्न थालेपछि भदौ ३ गतेबाट काठमाडौं उपत्यकामा र त्यसअघि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरियो। यो निषेधाज्ञा नै काठमाडौंमा अहिले विस्फोटक रुपमा कोरोना बढ्नुको एक कारण मान्छन् सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन। उनले डिसीनेपालसँग भने, कोरोनाभाइरसलाई घर भित्र हुलेर ढोका बन्द गरियो। त्यसैको यो प्रभाव हो।

उनले आफ्नो दावीलाई तर्क दिन काठमाडौंमा लकडाउन अन्त्य भएपछि क्वारेन्टिन बस्ने व्यवस्था नगरिएको र देशभित्र ओहोरदोहोर निकै बढेकाले त्यसैबेला कोरोना समूदाय स्तरमा फैलिएको बताउँछन्। उनले भने जस्तै तथ्यांकले कोरोना भाइरस समूदायमा फैलिएको प्रष्ट देखाउँछ। यद्यपी हालसम्म सरकारले समूदायमा फैलिएको घोषणा भने गरेको छैन। शनिबार १९ हजारको पीसीआर परीक्षण गर्दा ५ हजारमा कोरोना पोजिटिभ देखियो। यो संक्रमण दर २५ प्रतिशतभन्दा माथि देखियो। नेपालमा हालसम्म ११ लाख ६४ हजार ५५७ जनाको पीसीआर गर्दा १ लाख ५ हजारभन्दा धेरै संक्रमित भएका छन्।

लकडाउनको अवधिमा पनि लकडाउनको कडाईँका साथ पालना नभएको र लकडाउन अन्त्यपछि मानिसहरु घरबाहिर अनियन्त्रित रुपमा बाहिर निस्कँदा कोरोना फैलिएको डा पुनको भनाई छ। उनले त्यो बेला उपत्यकामा क्वारेन्टिनलाई कडाई गरेको भए अहिले अवस्था टार्न सकिने विश्वास गरे। उनले भने, लकडाउन अवसर हो। अवसरको उपयोग भएन। यो अवसरको उपयोग नहुँदाको परिणाम देखिएको छ। अरु देशको उदाहरण हेरेर यहाँ त्यस्तै गर्नुपर्छ भन्ने हुँदैन। आफ्नै मौलिक मोडालिटी बनाउनुपर्ने देखिन्छ।

दोस्रो कारक हामी आफै हौं। चैतमा शुरु भएको लकडाउन सकेसम्म मानिसहरुले पहुँचका आधारमा उल्लंघन गरे। माक्स, स्यानिटाइजर र सामाजिक दूरीको पालना गरिएन। डा. पुन भन्छन्, पहुँचका आधारमा लकडाउन उल्लंघन गरियो। ढाँटियो। आखिर हामीले कसलाई ढाँटेका रैछौं, आफैलाई? उनले भने जस्तै हाम्रो बानी पनि कोरोना भाइरस नियन्त्रणका लागि सहयोगी नभएर फैलाउन सहयोगी बन्दा काठमाडौंलगायत देशभर कोरोना संक्रमण विस्फोटक रुपमा फैलिएको छ।

अझ आउँदैछ झन संकट

कोरोना भाइरस संक्रमणको गति तिब्ररुपमा फैलिएका बेला नेपालमा दुईवटा संकटले दस्तक दिनै लागेका छन्। चाडबाड र चिसो मौसम। नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन अब केही दिनमात्र बाँकी छ। सरकारले हरेक दिन यो पटक दशैं जो जहाँ छौं, त्यतिबाट मनाउँ भनेर अपील गरिरहेको छ। तर,पनि मानिसहरु यो बेला घर फर्किनेक्रम निकै बढ्ने देखिन्छ। जसका कारण यसले कोरोना भाइरसलाई फैलाउन मद्दत नै गर्नेछ। अहिले नै २५ प्रतिशतसम्म पुगेको संक्रमण दर चाडपर्वपछि झन बढ्न सक्ने अनुमान गरिएको छ। यतिमात्र होइन विरामीको संख्या बढेसँगै अस्पतालका बेडहरु पनि भरिएका छन। अब बिरामीलाई भर्ना गर्न बेड नै नहुने संकटग्रस्त अवस्था आउने जोखिम बढेको छ।

अर्को संकट चिसो मौसम। असोजसँगै नेपालमा तापक्रम घट्दै जान्छ। अब कार्तिक नै आउँदैछ। कार्तिकपछि आगामी फागुनसम्म नेपालमा चिसो मौसम रहन्छ। विश्वभरका विज्ञहरुले कोरोना भाइरसको इन्फेक्शन चिसो दिनमा झन घातक हुने चेतावनी दिइरहेका छन्। यद्यपी कोरोना भाइरसको एक वर्षको चरण भने पूरा भइसकेको छैन। तर भाइरसको नेचरअनुसार चिसो दिनमा यो झनै घातक हुने डा. पुनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *